प्रदेश २ का निवर्तमान प्रमुखको घोषणा: राज्यको कुनै सुविधा लिन्न
काठमाडौँ: प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख राजेश झा (अहिराज)ले पदमुक्त भएपछि सरकारले दिने कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर भएकोले आफ्नो सुरक्षा भन्दा देशको सुरक्षा प्राथमिकतामा रहेको भन्दै सरकारबाट प्राप्त हुने सुविधा नलिने उनले बताएका छन् । ‘पदमुक्त भएपछि पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गर्दछु ,’ कार्यकाल अवधिभर सहयोग गर्नेहरुलाई अभार व्यक्त गर्दै जारी गरेको पत्रमा भनेका छन्, ‘देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर छ । मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा हुनुपर्छ । त्यसैले सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा समेत गर्दछु ।’
तीन प्रदेश प्रमुख फेरिए
राष्ट्रिपति विद्या देवी भण्डारीले मंगलबार प्रदेश २ का अहिराजलाई प्रदेश प्रमुख पदबाट पदमुक्त गरेकी छन् । साउन ३२ गते प्रदेश प्रमुखबाट झालाई हटाएर प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले महोत्तरीका हरिशंकर मिश्रको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो ।
प्रदेश २ स्थापना भएको साढे तीन वर्षमा तीन जना प्रदेश प्रमुख फेरिएका छन् । मिश्र चौथो प्रमुखको रुपमा सिफारिस भएका हुन् । पहिलो प्रदेश प्रमुखको रुपमा रत्नेश्वरलाल कायस्थ, दोस्रो तिलक परियार र तेस्रो राजेश अहिराज थिए ।
१ सय ८० दिन प्रदेश २ को प्रदेश प्रमुखको पदमा रहेका झाले ‘शिरमा देश, मनमा मधेश’ को नारा दिएर जिम्मेवारी समहालेका थिए । ‘मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँ ,’ निवर्तमान प्रदेश प्रमुख झाले भने ।
निजी सचिवालयको परम्परा तोडियो
प्रदेश प्रमुख पदमा रहँदा उनले निजी सचिवालय राख्ने परम्परारलाई तोडेका थिए । ‘राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ,’ अभार पत्रमा उनले उल्लेख गरेका छन्, ‘निजामतीको विकल्पमा वा निजामतीलाई मानमर्दन गर्ने गरी गठन गरिने निजी सचिवालय सैद्धान्तिक रूपमा राज्यकै दोहन हो ।’
राज्यकै अंग ( निजामती)माथि विश्वास गरेर काम गर्दा पनि अब्बल काम गर्न सकिने कुरा प्रदेश नं. २ का प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारीहरूले सावित गर्न सफल भएकाले उनले बताए ।
‘अतिवादको चपेटामा प्रदेश २’
अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आमनागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो उनले औंल्याएका छन् । ‘सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी छ,’ उनले भनेका छन्, ‘देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको छ ।’ जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी रहेको उनले उल्लेख गरेका छन् । ‘विभेदको विरूद्धमा लडनेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो।’उनले अघि भनेका छन् ।