साहित्य उत्तम मानवको सिर्जना

साहित्य उत्तम मानवको सिर्जना

साहित्यको अतीत हुन्छ, तर साहित्य व्यतीत हुन्न। तीनै युगका कवि सरस्वतीको एउटै वीणामा झंकारिन्छन्– सारस्वत सभा शाश्वत छ। जो दिवंगत भए, तिनीहरू पनि रचनामा जीवित रहन्छन्। 

जो जीवित छन् तिनीहरू पनि रचनाको सहस्र जीवनमा जीवित रहन्छन्। जो कल्पना मात्र थियो, त्यसलाई पनि स्रष्टाहरू जीवन दिन्छन्। जो समाजमा जीवित थिए, तिनलाई पनि आफ्नो कल्पनालोकमा पुनर्जीवन दिन्छन्।

स्रष्टाहरू सिर्जनाको जीवन जिइरहन्छन्, त्यसबाट आफ्ना काव्य र नाटकका पात्रमा जीवन दिइरहन्छन्। अनि साहित्यका चरित्रहरू पनि हाम्रो बीचमा त्यसरी नै चर्चित हुन्छन्। जसरी आजको समाजका मानिसहरू चर्चित हुन्छन्। साहित्य भन्नु उत्तम मानवको सिर्जना हो– जो उत्तम हुन्छ, त्यो सधैं आदर्श हुन्छ।

जेले दिल छुन्छ, त्यही कविता
कविता कविको आफ्नो अभिव्यक्ति हो– ऊ व्यक्तिबाट पार व्यक्तित्वलाई पार गरेपछि मात्र कवि बन्छ। कविता देश र काल हो तर त्यो भूगोल र इतिहास होइन– कविता हो, त्यसैको तरल तपकमा देश, काल त्यसरी डुब्छन्, जसरी लेक र वसन्त गुराँसको सौन्दर्यमा डुब्छन्। 

अरू विश्वलाई हेर्छन् मात्र, कवि त्यसलाई रचना गर्छ, अनि त्यहाँ प्राण प्रस्फुटन हुन्छ– कविले वस्तुनिष्ठतामा पनि वस्तुलाई पार गर्छ, भावनिष्ठतामा भावलाई पार गर्छ। कलाको शतदल नाभिबाटै खिल्छ। ढुंगो टुसाउँदैन उनिउँ फल्दैन– जहाँ जीवन्तता छैन, त्यहाँ मौलिक अभिव्यक्ति पनि हुन्न। जसमा जीवन्तता छ, तिनले अरूका प्रभाव पनि लिन्छन्। अरूमा प्रभाव पनि पार्छन्– मौरीले पुष्पपरागलाई महमा परिवर्तन पनि गर्छ र एक फूलको पुंकेशरलाई अर्कोमा सार्छ पनि। कविले कवि बनेर जे लिन्छ, त्यही कविता बन्छ। लय र शब्द, भाव र चिन्तन पनि कविको प्राणस्पर्श पाएर मात्र कविता बन्छन्।

कवि तिनलाई नयाँनयाँ पाराले प्रयोग गर्छ, जब प्रयोग सफल हुन्छ। अनि ती सम्पूर्ण कविता बन्छन् र कृतार्थ हुन्छन्। कविता के हो ? परिभाषा गर्न सकिन्न। अनादि युगमा पनि कविता कवितै थियो र आज पनि कविता कवितै हो। कवितालाई उसका माध्यमहरूबाट हैन, उसको प्रभावबाट मात्र बुझ्न सकिन्छ। 

जेले दिल छुन्छ, त्यही कविता हो। यो स्पर्श गरिने दिलमा पनि पूर्वसंस्कार र युगधर्मका पत्र हुन्छन्। तिनै पत्रलाई विस्तारै भिजाएर शीतबिन्दुले फूललाई जस्तै कविताले दिललाई परितृप्त पार्छ र त्यसमाथि विजय प्राप्त गर्छ।

कविले कवि बनेर जे लिन्छ, त्यही कविता बन्छ। लय र शब्द, भाव र चिन्तन पनि कविको प्राणस्पर्श पाएर मात्र कविता बन्छन्।

---

अम्बा

- बाल कथा

रामचाको पसलमा अम्बा छन्। सडकनेरको पेटीमा बोरामाथि दुई थुप्रा छन्– एउटामा पैसादाने, अर्कोमा पैसाका दुई दाना। दुई पैसा जाने ठूला ठूला दानाचाहिँ बाकसमाथि सजाएर राखिएका छन्, पातै समेतका झुप्पा पनि थामको कीलीमा झुन्ड्याएका छन्। सरस्वती खेल्दै खेल्दै त्यही आइपुगी। ऊ चार वर्षमा लागेकी छ, बाबु नभएकी टुहुरी, अलि खियौटे छ, तैपनि टाठी छ। उसका चञ्चल आँखामा प्रश्न छ उत्तर छैन– यो पसल किन राखेको, अम्बा किन बेचेको ? थाहा छैन, राख्नका निम्ति राखिएको होला, बेच्नका निम्ति बेचिएको होला, जस्तो ऊ खेल्नैका निम्ति खेल्छे।

रामचाले एउटा आधा बिग्रिएको अम्बा स्याँगीले काट्यो र छोरालाई दियो। उसको तीन वर्षको छोरो पनि अम्बा खान लाग्यो। पहिले त सरस्वतीले खाएको टुलुटुलु हेरिरही तर पछाडि उसले सम्झी– ‘हाम्रो बारीमा पनि एउटा अम्बाको पथरो छ, भरखर यो साल मात्रै फलेको र दाना पनि खूब ठूलाठूला लाएका छन्। सरस्वती बिहान उठ्नासाथ पहिले बारीमा गएर अम्बा हेर्थी, अनि आमाकहाँ आएर ‘अम्बा कसरी बढे, कस्ता बने’ बयान लाउँथी। ऊ भन्थी– कहिले टिप्नी आमा ! आमा भन्थिन्, ‘दसैंमा सबै पाक्छन्, अनि टिप्ने, अनि खाने है बा !’ छोरी ‘हुन्छ !’ भन्थी। त्यो धैर्य, त्यो सन्तोष ? त्यो ज्ञानी बानी देख्ता आमाको आँखामा आँसु भरिन्थ्यो। आमाले कता कति पाकेको एक दुई दाना टिपेर खान दिने गरेकी छन्। रामचाको छोराले अम्बा खाएको देख्तैमा उसलाई पनि खाऊ खाऊँ लाग्यो। दौडेर घरमा गई, ढोका बन्द छ, आमा छैन। यताउता बोलाई, केही पत्तो लाएन। अघिपछि पनि खान मन लाएको बेलामा आमा नभए अम्बाको बोटमुनि गएर बस्थी, अम्बा हेर्दैमा भोक हराउँथ्यो।

आज पनि बोटमुनि गई, अम्बा एउटा पनि छैन। बिहान मात्रै हेरेर गएका अम्बा अहिल्यै छैनन्, सपनाजस्ता लाग्यो। बोट रित्तो छ। मानौं नरमाइलो मान्दै भनिरहेछ, ‘नानी, मेरो अम्बा ख्वै, तिमीले देखिनौ ?’ ऊ फेदमुनि बसेर रुदै रूखमा हेरिरही। उसले हातका औंलामा पुग्ने दसदेखि बढी गन्न जानेकी छैन तैपनि बोटबाट एउटासम्म हराए पनि थाहा पाउन सक्थी, अनि एउटा मात्रै टिपेर यो कुन झुप्पाको हो भने पनि चिन्न सक्थी। उसलाई बोटको नाउँ ‘लाहरे’ भनिदिएको थियो। आफैंले टुप्पाको एउटा झुप्पालाई, ‘लुर्का’ नाउँ राखेकी थिई, अर्कोलाई ‘फुर्का’। लुका र फुर्का कसो कसो भनेर हल्लन्छन्, उसलाई थाहा थियो। अनि उसले झल्ल्याँस्स सम्झी– हाम्रै रुखको अम्बा त होइन ? रामचाले पसलमा राखेको ?

झटपट गएर हेरी– अम्बा आफ्नै बोटका हुन्। उसका लुर्का र फर्का कीलीमा झुन्डेका छन्। लुर्कामा एउटा कागले कोतारेको, अर्को नाइटो भएको अम्बा छ। झुप्पाका पात वैलिएका छन्। मानो अम्बा रुन्चे मुख लाएर भनिरहेछन्, ‘नानी, हामीलाई त रामचाले चुँडेर ल्यायो, अब कसरी फर्किएर बोटमा जाने ?’ सरस्वतीको मनमा लाग्यो– रामचाले माग्या भा पनि त हुन्थ्यो नि, हाम्री आमाले दिइहाल्थिन् ! किन चोरेर ल्याएको होला ? अर्को मनमा लाग्यो ‘हाम्रो अम्बा किन चोरेर ल्याएको, हाम्री आमाले गाली गर्दिनन्। लेऊ हामीलाई खान पर्दैन ?’ तर त्यो टुहुरी बालखीलाई त्यति भन्ने साहस कहाँ ? अनि त्यही पसलको अगिल्तिरको पुलिसपाटीको पेटीमा घाम र छायाँको दोसाँधमा बसेर टुलुटुलु अम्बातिर हेरिरही।

आज कोटाको कपडा लिन जानलाई एक मोहर दाम नपुग्दा छातीमा मुड्कीले हिर्काएर कसरी आमाले अम्बा बेचिन्, अनि दुई झुप्पा भने पनि उसलाई बाँकी राख्न खोज्दा खोज्दै पनि कसरी जो भएको पचास दाना अम्बा सबै दिन प¥यो, यो सरस्वतीलाई थाहा छैन। अनि आज सस्तो अम्बाबाट कसरी एक सुका नाफा झिकेर छोरालाई दुई दिनसम्म मार्सीको भात खुवाउँला भनेर रामचा गौड गरिरहेछ, यो पनि उसलाई थाह छैन। थाहा भएको भए पनि यो सब कुरा भित्र के छिरेको छ। त्यो जान्ने त उसको उमेरै छ, न त बुद्धि नै छ। पेटीमा बसेर अम्बालाई बोलाइरहिछ, ‘आओ बोटमै जाऔं।’ रामचा बारम्बार अम्बालाई हेरेर भनिरहेछ, ‘खबरदार कतै गुडेर जाउला, कतै उडेर जाउला !’

रामचाको मुख कुचुक्क परेको छ, अगिल्तिरका दाँत पनि ओठले छोपिएका छैनन्। आँखा भुइँतिरभन्दा बढी आकाश ती उडिरहेका छन्। ऊ बिनाकारण पनि हाँसिरहन्छ, ओठले दाँत छोप्यो भने लाज मानेजस्तो खल्लो नराम्रो देखिन्छ। ऊ गम्दारी बनेर भुइँतिर घोरिएको दिन, टोलमा केही घटना पर्छ। उसको हँसिलो सरल सदा प्रसन्न बानीसँग गिजिन गाहकी जम्मा भइरहन्छन्। आज पनि गाहकी आउँछन्, कोही कुनै थुप्रोका, कोही कुनै थुप्रोका अम्बा लिन्छन्। रामचासित गिजिन्छन्, ऊ कन्तरमा पैसा हालेर आँखीभौंमा गाँठा पारेर हाँसो रोक्न खोज्छ। हुँदैन, खिखिस हाँसिरहन्छ। रामचाले त्यसरी हाँसेको सरस्वतीलाई बिल्कुलै मन पर्दैन। उसको अगिल्तिर रुवाइका मैला धर्सा बहेका छन्, ऊ शून्य मुखले अम्बातिर हेरिरहिछ– रामचाले हाम्रो अम्बा किन ल्यायो ! यस्तैमा एउटा मानिस आएर लुर्का झुप्पालाई औंल्यायो। तर सौभाग्यले पैसादाने किनेर हिँड्यो। 

सरस्वतीले लामो सास फेरेर चिटचिट पसिना पुछी। रामचाले पैसादानेबाट छानेर एउटा ठूलो दाना अम्बा दुईपैसेमा मिसायो। अनि फूलमार चुरोट सल्काएर खिस्खिस् हाँस्तै सडकमा ओहोरदोहोर गरिरहेका मानिसलाई हेरिरह्यो। सरस्वतीलाई त्यसले हेरेर टोक्छ कि जस्तो लाग्थ्यो। यस्तैमा फेरि अर्को मानिस आएर उसको फुर्का झुप्पा किनेर लगि नै दियो। अम्बा पनि नाइँ नाइँ भनिरहेको थियो। बाटोमा ओहोरी दोहोरी गर्ने मान्छेका हातखुट्टा नाइँ नाइँ भनिरहेका थिए। सरस्वतीको मन नाइँ नाइँ भनिरहेको थियो। रामचाले सुनेन, गाहकीले सुनेन, केही लागेन। सरस्वती जिल्ल परी। हाम्रो लाहुरे बोटको अम्बा पनि रामचाले पैसा लिएर बेचिदियो। उसले त भनिठानेकी थिई– रुखमा फलेका अम्बा पैसा लिएर दिने होइन, त्यो त मन लाएको बेलामा त्यसै टिपेर खाने हो। बेच्ने अम्बा त पृष्टकारी बनाएजस्तो बनाइन्छ, जो जहिले किन्न आए पनि दिइन्छ। बाटामा हिँड्ने मानिसको खलबलको बिचमा बारम्बार उसको मनमा लाग्थ्यो, ‘हाम्रो बोटको अम्बा पनि पैसा लिएर बेच्यो !’

यस्तैमा फेरि एउटा मानिस छोरालाई काँधमा बोकेर आयो। एक पैसाका साना साना दुई दाना अम्बा किन्यो। एउटा छोरालाई खान दियो, अर्को आफ्नो हातमा लिएर देखाउँदै गेडी, गेडी ! भन्यो। अनि दाँत किटेर दाह्रीले गालामा दलिदियो। छोराले पनि अर्को नलिई मानेन। दुवै हातमा अम्बा लिएर दुवै कोपर्न थाल्यो। सरस्वतीका आँखा त्यसै रसाएर पिलपिलाए। त्यहाँबाट एकाएक उठेर आफ्नो बन्द ढोकामा गएर भनी ‘आमा !’ आँखाबाट बरबर आँसु झरिरहे। आज उसलाई आमा निठुरी लाग्यो, ढोका बन्द गरेर कहाँ गएकी हुन् कहाँ ! यहाँ भोक लागिरहेछ, उहाँ पसलमा अम्बा छन्। उसलाई पनि किनेर खाउँजस्तो लाग्यो। आमाको थैलीमा पाँच मोहर दाम देखेकी थिई। ढोकामा धक्का मारी, खुलेन। अनि त्यसैमा पिठिउँले अडेस लाएर बाटातिर हेरिरही। आँखा शून्य थिए, आँसुको धारा गालामा सुकेको थियो, कैलो कपाल निधारमा छरिएको थियो। घुँडासम्म नांगा गोडा इँटमा बिनाबलले उभिएका थिए, उसको चारैतिर अबोला बिलौनाको छायाँ छाएको थियो।

केहीबेरपछि सरस्वती त्यसै तानिएर फेरि उही पसलमा पुगी। रामचा थिएन, उसकी स्वास्नी चर्खा चलाएर बीच बीचमा उँघिरहेकी थिई। छोरो चाहिँ थुप्राबाट अम्बा लिएर आधा खाँदै फाल्दै गरिरहेको थियो। अघिल्तिर पुलिस पाटी छ, चो¥यो भने कानाँ समातेर ठानामा लान्छन् भन्ने थाहा थियो, तैपनि अगाडि बढी। एउटा केटाकेटीको खिलौना लिइदियो भने आफ्नो हकको माल जसरी खोसेर लिन्छ, त्यसरी सरस्वती आफ्नो फुर्का झुप्पा टिपेर हिँडी। हिँड्नासाथ छोरो चिहिरियो, आमा झल्यास्स भई। दौडँदै गएर अम्बा खोसेर ल्याई। गरिब छोराछोरी कस्ता गरिब हुन्छन्, त्यो कुरो शिष्ट भाषामा प्रमाण दिई दिई जनाउन थाली।

आमा बेलुका साँझ साँझ पर्ने बेलामा फर्केर आइन्। यस्तो महँगीमा पनि तीन रुपियाँमा छ गज कपडा पाइयो। दिनभरि लाममा बस्न परे पनि कपडा हात लाग्दा बडो खुसी लाग्यो। उनी कहीं कहीं टेक्तै आएकी थिइन्। ‘यो लुगा थाहा नपाइकन खोकिलाबाट झिक्छु र यी नानीलाई ! भनेर देखाउँछु, अनि त्यो बेला छोरी ठूला ठूला आँखा लाएर तुलबुलाउँदै हेर्ली !’ यही मोहले छोरीलाई थाहै नदिइकन कोटाको कपडा लिन गएकी हुन्। लुगा काखीमा लुकाएर विचार गर्दै आइन् बाह्र हात छ, नानीलाई दौरा सुर्वाल हालीकन मलाई चोलो पनि पुग्ला। मलाई चोलो नपुगे उसलाई भोटो सुर्वालै हालिदिउँ कि ? होइन, दौरा सुर्वाल त हाल्नैपर्छ। छमछम बज्ने कल्लीसमेत लाइदिन पाए कति सुहाउँदो हो ! दसैं आएको छ, रहर गर्ली, दौरा सुर्वालै हालिदिने दमिनीले चोर्छ कि ? आफैं बसेर छेकाएर आफैंले सिलाऊँ कि क्या हो ? राम्रो हुन्न कि ?’ एकाएक उनको ध्यान टुट्यो, ‘तिम्री छोरीले आज अम्बा चोरी।’ पसलबाट रामचाकी स्वास्नी भनिरहेकी थिई, ‘हप्काएर राम्ररी राख, नत्र पछि नराम्रो बानी बस्ला।’ त्यसको उपदेश कत्ति पनि राम्रो लागेन। 

छोरीदेखि रिस उठेर आयो– उसैलाई भन्दा म यति धामाले लुगा लिएर आउने, ऊ चोरेर हिँड्ने। ‘छोरी बालकै छ, उनको गूढ स्नेहलाई बुझ्न सक्तिन, उसलाई अम्बा पनि चाहिन्छ, नाना पनि चाहिन्छ, दुईटाको रहर एउटैमा मेट्न सक्ने सन्तोष उसमा छैन’ भन्ने उनलाई ख्यालै भएन। उनी त छोरीमाथि खनिने सुरले दौडँदै घरमा पुगिन्। आमालाई देख्नासाथ सरस्वतीले रुँदै भनी– आमा ! आमा ! रामचाले आज हाम्रो अम्बा चोरेछ, अब दसैंमा के खाने। यति भनेर ऊ घँुडामा घोप्टिन आई। आमाको आँखाबाट बलिन्द्र धारा आँसु बहे, छोरीलाई काखमा लिइन्। स्नेह, करुणा, क्षोभ र धिक्कारले उनी ढोकामा अडेस लाएर उभिइरहिन्। रिमरिम साँझ पर्दै आयो। सडकको खम्बामा बिजुली बल्यो, उनी झल्याँस्स भइन्। पख वा एकै छिन ! भनेर छोरीलाई त्यहीँ राखेर पसलतिर दौडिन्। पसलमा लुगा मिल्काएर बाँकी रहेका नौ गेडा अम्बा लिएर आइन्। घरभित्र पसेर छोरीलाई काखमा लिएर भनिन्, ‘खाऊ बा, मेरी आमालाई कति भोक लायो होला।’ संयोगवश सरस्वतीको लुर्का झुप्पा पनि आएको थियो, त्यसैको नाइटे गेडो धमाधम खान थाली।

चार वर्ष अगाडि सरस्वतीका बाबुले अम्बाको बोट लाएका थिए। सरस्वतीलाई गर्भमा छोडेर उनी परलोक भए। आज अम्बा पनि फले, छोरी पनि खान सक्ने भई। सरस्वतीकी आमा आकाशतिर हेरेर छोरीको कपाल केलाउँदै रोइरहेकी थिइन्, ‘उनको कमाइ उनकी छोरीलाई खान नदिने म निठुरी !’ सरस्वतीले एउटा अम्बा खाइसकेर लामो सास फेरेर भनी, ‘आमा पनि खाऊ न।’ आमाले रुन्चे स्वरमा भनिन्, ‘तिमी भोलि के... म अहिले खाउँला।’ कागले कोतारेको अम्बा देखाएर सरस्वतीले भनी, ‘यो त कागलाई नै दिने हकि आमा ! खान खोजेको थियो बिचरा !’ आमाले मनमनै भनिन्, ‘हे ईश्वर ! तिमीले फलाएको फल खान हामीलाई चरो बनाएर उडाइदेऊ !’

रचना २००४ साल

---

राष्ट्रकविका रचना-

राष्ट्रकविका रचना
रिस
हेर्दै हाँसो उठ्छ
हाँसू भने कुठ्छ

रिस उफ्र्यो बुर्लुक्क
आँखा गेडी पिलिक्क

बल्ठ्यांग्राको बिर्लिक्क
मुखै काच्च कुच्च

हेर्दै हाँसो उठ्छ
पाखुरा आफ्नै सुर्की

बंगारा आफ्नै मुर्की
कल्लाइ लाउँछ घुर्की

दाँतै ङाच्च ङिच्च
हेर्दै हाँसो उठ्छ

बोली कति चर्को
भाँडा–कुँडा थर्क्यो

ढोडनसो तक्र्यो
गाली पाच्च पिच्च

हेर्दै हाँसो उठ्छ
पसिनाको खलखल

आन्द्रा भुँडी गलबल
आतै जली जल जल।

फिँज गाज्ज गुज्ज
हेर्दै हाँसो उठ्छ।

---

धर्तिमाता
यो धर्तिमा उत्तम राष्ट्र हाम्रो 
छ नाभिमा अम्मृत–तत्व हाम्रो

धर्ती ! थियो शीर–समुद्र भित्र
आनन्दको गद्गद केन्द्रभित्र
ल्याए मनीषी जनले निकाली 
किनारमा जीवनले उज्याली

धर्ती ! तिमी चिन्तनमा थियो रे 
यो राष्ट्र रच्ने मनमा थियौ रे 
पुर्खाहरूका प्रिय पाखुरामा 
उचालियो पर्वत–टाकुरामा

यो मृत्तिकाभिन्न रहस्यभिन्न
छ धर्ति ! तिम्रो मुटु क्या विभिन्न। 
त्यो भिन्न–भिन्न ऋतले भरिन्छ 
र सुस्तरी अम्मृतले भरिन्छ 

बीजैसरी उर्वर शक्ति देऊ
फूलैसरी सुन्दर दीप्ति देऊ
फलेर जाऔं र फुलेर जाऔं
बास्ना–सरी विश्व डुलेर जाऔं

माटीमनी अम्मृत–तत्व यौटै
छातीमनी मानव–चित्त यौटै
यो राष्ट्रलाई यसरी उचालौं
कि, विश्वको उत्सवमा बसालौं

यो धर्तिमा उत्तम राष्ट्र हाम्रो
छ नाभिमा अम्मृत–तत्व हाम्रो
पृथ्वीसूक्त ७ (खण्डकाव्यबाट)

---

दिलै र छोए के हुन्छ कुन्नि
दिलै र छोए के हुन्छ कुन्नि
धूलै र छोऊँ नि फूल भइदिन्छ
फूलै र छोऊँ नि दिल भइदिन्छ
दिलै र छोए के हुन्छ कुन्नि–
मै परेँ अलमल !

घाम र छायाले पलै र पल
बदली रंग नि थलै र थल–
सुन्दर हजार
जुन ठाउँ पुग्छ त्यै रमाइलो
घरबार सानु बसाऊँ किन्तु–
कुन नदी–किनार

सासै र फेर्दा नि रूपै र फेर्ने
रूपै र फेर्दा नि झन् हिस्सी पर्ने–
कैलासकी किन्नरी
जुन दिन देख्यो त्यै दिन राम्री
यो जुनीलाई जुराऊँ किन्तु–
कुन दिनकी किन्नरी
३ आषाढ २०१९
---

दगुर् दगुर् कुहिरा !
दगुर् दगुर् कुहिरा। छिटै छिटो बन्
पीठो चोरी कुहिरा। पीठ पीठो बन्

यता जाँ कि उता जाँ जताततै पुग्
अघिल्तिर उघारे पछिल्तिर लुग्

छुः मन्तरकी बाचा दही अछेता छर्
पीठो फुकी कुहिरा। हीरा हीरी झर्

चोर खोज्ने साधुले हीरा सम्झी सोर
जल्ले छोयो चोरलाई त्यही बन्यो चोर

देखी चोर कि लुकी चोर– सबै चोर चोर
लश्कर छुट्यो चोरको गर्जी घनघोर

डरायौ कि मान्छे हो। यो त हाम्रो खेल
ख्याल गरे रमाइलो, साँचो गरे नेल
---

नानी
आँखाभित्र आमा। को हो सानी सानी
मैयाँ मुले जस्ती मुजरपती ज्यालामा
जन बुले जस्ती अमृतको तालमा

चिम्म गयौं भने झिम्म निभी जानी
आँखाभित्र आमा। को हो सानी सानी
आँखाभित्र मेरो तिमी नै हौ नानी

बिझाउन दिन्न धुलो परे पनि
खसिजान दिन्न आँसु झारे पनि
छुन खोजे छोप्छ झिम्परेली तानी
आँखाभित्र मेरो तिमी नै हौ नानी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.