फेलै पर्दैनन् नारायणीमा बेपत्ता भएका

फेलै पर्दैनन् नारायणीमा बेपत्ता भएका

परासी : नारायणी नदीमा डुंगा पल्टिंदा मंगलबार २ जना बेपत्ता भए। माछा मार्ने क्रममा अनियन्त्रित हुँदा डुंगा नदीमा डुबेको हो। 

५ जना सवारमध्ये ३ जना भने पौडी खेलेर बाँच्न सफल भए। बेपत्ता हुनेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ का ४३ वर्षीय मंगल बिन छन्। उनी डुंगाका साहु समेत हुन्। बेपत्ता हुने अर्का भारत बिहार प्रदेश भैंसालोटनका ३० वर्षीय दशरथ कोइरी हुन्। 

नदीमा डुबेको डुंगा ५ कि.मि. तल फेला परेको थियो। बेपत्ताको अहिलेसम्म अत्तोपत्तो छैन। प्रहरीले खोजी कार्यलाई निरन्तरता दिएको बताएको छ। 

गतवर्ष पनि नारायणी नदीमा डुंगा पल्टिंदा एक जना बेपत्ता भएका थिए। बेपत्ता हुने भारतीय नागरिक हुन्। सुस्तामा भइरहेको निर्माण कामका लागि इँट्टा लिएर जाने क्रममा डुंगा अनियन्त्रित हुँदा नदीमा डुबेको थियो। अन्य व्यक्तिहरु भने पौडेर सकुशल निस्केका थिए। 

त्यस्तै वर्षायाममा नदीको भेलमा बगेर आउने दाउरा समात्न खोज्दा अघिल्लो वर्ष र त्यसअघिको वर्षमा पनि दुई जना बेपत्ता भए। बेपत्ता हुने नर्सही र रामनगरका हुन्। यी सबै घटना सुस्ता गाउँपालिकाको ठाँडीघाट र सुस्ता क्षेत्रको नारायणी नदी क्षेत्रमा भएका हुन्। बेपत्ता भएका कुनै पनि व्यक्ति फेला पर्न सकेका छैनन्। 

बेपत्ता भएकाहरु फेला नपर्नुमा नदीको गहिराई बढी रहेको प्रहरी चौकी रामनगरका प्रहरी सहायक निरीक्षक नारायण लुइँटेलले बताए। ‘नदीमा बालुवा धेरै छ। डुबेपछि बालुवामै गाडीने संभावना बढी हुन्छ। त्यसैले पनि फेला पर्न मुश्किल भएको हो’, लुइँटेलले भने। 
नारायणी नदी भारतको बिहार हुँदै पटनामा गएर मिसिएको छ। बेपत्ता भएकाहरु भारतमा फेला पर्न सक्ने संभावनालाई हेरेर प्रहरीले त्यहाँ पनि समन्वय गर्ने गरेको छ। बेपत्ता भएपछि त्यहाँका प्रहरी चौकीमार्फत भारतीय प्रहरीलाई खबर गरेर खोजी गर्न आग्रह गरिंदै आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए। गहिराई र बालुवा भाँसिएकाले खोजी कार्य पनि कठिन रहेको प्रहरीले जनाएको छ।

नारायणी नदीमा डुंगा पल्टिने र बेपत्ता हुने घटनाहरु अधिकांश डुंगा मार्फत सुस्ता गाउँ आउजाउ गर्दा, निर्माण सामाग्री ओसारपसार गर्दा, माछा मार्दा र भेलको दाउरा संकलन गर्ने क्रममा हुने गरेको सुस्ताका स्थानीयवासी रविन्द्र जयसवालले बताए। नदीमा पुल नहुँदा सुस्तावासीहरुको आउजाउ र सरसामान ओसारपसार गर्ने सवारीको माध्यम डुंगा नै हो। डुंगा पल्टिने घटना बढी हुने गरे पनि धेरै जना भने सकुशल पौडेर बाहिर निस्कने गरेको स्थानीयले बताएका छन्। 

सुस्ता जोड्नका लागि ६ वर्षअघि निर्माण कार्य थालनी गरेको झोलुङ्गे पुल अझै बन्न सकेको छैन। पुल नहुँदा सुस्तावासीहरु वर्षायाममा आफ्नै देशमा आउन भारतीय भूमिको प्रयोग गर्नुपर्छ भने कहिलेकाही भारतीय सुरक्षाकर्मीहरुले अवरोध गर्दा जोखिम मोलेर डुंगा मार्फत आउनु पर्ने बाध्यता छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.