बुद्धको मूर्तिसहित गिरोह पक्राउ
![बुद्धको मूर्तिसहित गिरोह पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Manis-5_20210819083123_q75zCiGTiR.jpg)
गुलरिया : प्रहरीले धातुको बुद्धको मूर्तिसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ७ बजारस्थित एक होटलमा छापा मार्दै मूर्ति किनबेचको आरोपमा पाँचजनालाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा पुरातात्विक सयौं वर्ष पुरानो बहुमुल्य धातुको बुद्धको मूर्ति होटलमा करोडौं रुपैयाँमा किनबेच भइरहेको बारे थाहा पाएपछि स्थानीय विजया गेष्ट हाउसको कोठा नम्बर ३२८ मा खानतलासी गर्दा धातुको बुद्धको मूर्तिसहित मानिसहरु फेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।
मूर्ति किनबेचको आरोपमा बर्दियाको मधुवन नगरपालिका १ बस्ने ३४ वर्षीय उज्ज्वल रोकाय, ९ का ३४ वर्षीय अमृत राई, गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी ४० वर्षीय निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका ९ निवासी ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जिल्ला जाजरकोट वारेकोट गाउँपालिका २ वस्ने २९ वर्षीय मगबहादुर नेपालीलाई नियन्त्रणमा लिएको डीएसपी शाहीले जानकारी दिए ।
बरामद गरिएको मूर्तिको तौल ७ किलो ७०२ ग्राम र उचाइ ९ दशमलव ५ इन्च छ । मूर्तिसहित सबैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मूर्ति कहाँबाट ल्याइएको भन्ने बारेमा अझै खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)