मधेसी दलको २० वर्षे विगत: किन फुटिरहन्छन् मधेसी नेताहरु ?
काठमाडौँ: मधेसी दलको २० वर्षको विगतलाई नियाल्दा उनीहरूको प्रवृत्ति छेपारो झैँ छिनछिनमै रंग बदलिरहने । गुट र फुट उनीहरुको चरित्र जस्तै बनेको छ ।
पछिल्लो पटक जनता समाजवादी पार्टीको फुट त्यसैको एक उदाहरण बनेको छ । जसपालाई फोरेर महन्थ ठाकुरले बुधबार नयाँ पार्टीको रूपमा जसपा नेपाल (लोकतान्त्रिक) जन्माए ।
शेरबहादुर देउवा सरकारले संसद् छलेर दल विभाजनको अध्यादेश ल्याएपछि नेता ठाकुरले त्यसैको भरपुर फाइदा उठाउँदै नयाँ दल बनाए । उता उपेन्द्र यादव अध्यक्ष रहेको जसपाको भदौ १ र २ गतेको बैठकले सरकारका जाने निर्णय गरिसकेको छ । बैठकले प्रदेशस्तरीय सभा गर्ने निर्णय पनि गरेको छ ।
गत वैशाख ८ मा निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारले दल विभाजनको अध्यादेश ल्याएको थियो । दुई कित्तामा विभक्त रहेको राजपा र समाजवादी पार्टी रातभरमा जनता समाजवादी पार्टी (जसपा)को नाममा एक ढिक्का बन्यो । राजपाका महन्थ ठाकुर पक्षलाई फकाएर सत्तामा लगियो । तर उनी सरकारमा जानु नै जसपामा फुटको बिजारोपणको कारण बन्यो । त्यही फुटको शिलशिलाले बुधबार अन्तिम रुप पाएको छ ।
मधेसीको अधिकार, पहिचान, संघीयता, समानुपातिक प्रतिनिधित्व, नागरिकता लगायत मुद्दा मधेसवादी दलको सदाबहार मुद्दा जस्तै बनिसकेको छ । केही विश्लेषकहरु के पनि भन्छन् भने मधेसी जनतासँग मत बटुल्ने यो एक प्रकारको हतियार नै बनेको छ । मधेसको अधिकारको सवालमा मिल्ने उनीहरू सत्ताको भोकले टुक्राटुक्रामा बाँडिन्छ । यो उनीहरूको साझा चरित्र हो । याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानी महोत्तरीका सहप्रध्यापक ध्रुव राय भन्छन्, ‘मधेसवादी दलमा निश्चित सिद्धान्त छैन त्यसैले उनीहरू जुट्छन्, फुट्छन् ।’
२०६२/६३ मा भएको राजतन्त्रविरुद्धको आन्दोलनमा १९ जना सहिद भए । तर, मधेसको अधिकारवादी आन्दोलनमा १६५ जनाले बलिदानी दिइसकेका छन् । थुप्रै आन्दोलनकारीको शरीरमा अझै गोली छ । आन्दोलनमा मारिएका ३५ जनाको तथ्यांक अझै हराइरहेको छ । नौ वर्षको अन्तरालमा मधेसमा जनअधिकारका लागि मधेस आन्दोलन २०६३, २०६४ र २०७२ भयो । नेताहरू मन्त्री भए तर मधेसको मुद्दा अझै अलपत्र नै रह्यो ।
‘मधेसका अधिकारका लागि सबै मधेसवादी दल गठन गरिन्छ । तर, उनीहरूको नीति ठीक भए पनि नियतिमै खोट देखिन्छ’, राय भन्छन्, ‘मधेस आन्दोलनले मधेसले पहिचान त पायो । तर यो आन्दोनलनका सारथीहरू फुटले बाँकी उपलब्धि हासिल गर्न कठिन भएको छ ।’
मधेसी दलको पहिचान र शक्ति मधेस नै हो । तर, उनीहरू मधेसलाई स्वार्थका लागि ठगिरहेका छन् । २०४६ सालमा नेपाली कांग्रेस त्यागेर गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् खोले । मधेसमा भइरहेको विभेदविरुद्ध मूल पार्टीहरूले काम नगरेको भन्दै उनले कांग्रेस त्यागेका थिए । २०४७ सालमा देशमा बहुदल आयो । परिषद् फेरिए नेपाल सद्भावना पार्टी भयो । त्यसका अध्यक्ष सिंह नै रहे । पहिलो आमनिर्वाचनमै सिंह नेतृत्वको सद्भावना पार्टीले संघीयताको नारा घन्कायो । पछि सद्भावना पनि विभाजनको सिकार भएर टुक्राटुक्रामा विभाजित भयो । मधेस आन्दोलनका जानकार सञ्चारकर्मी मिथिलेश यादवका अनुसार व्यक्तिको स्वार्थपिच्छे टुटफुट हुँदै २०५८–२०७० सम्म उक्त पार्टी नौ टुक्रामा विभाजित भयो ।
सत्तामा नेताहरू पुगेपछि मधेस मुद्दा बिर्सेको अधारशिलामै २०५४ सालमा प्राध्यापन पेशामा आवद्ध उपेन्द्र यादव (जसपा अध्यक्ष)ले मधेसी जनअधिकार फोरम नामको संस्था खोले । जहाँ सबै पक्षमा वुद्धिजीवी थिए । २०६३ माघ १ गते अन्तरिम संविधान जारी भयो । संघीयताजस्ता विषय त्यो संविधानमा समावेश नगरेको भन्दै फोरमका यादवले माइतीघरमा संविधानको प्रतिलिपि जलाए । प्रहरीले उनलाई पक्रियो । रिहाइको मागमा आन्दोलन चर्कियो ।
मधेसी जनअधिकार फोरम, उपेन्द्र यादव र मधेसको पहिचान स्थापित भयो । २०६४ वैशाखमा मधेसी जनअधिकार फोरमले दलका रूपमा निर्वाचन आयोगबाट मान्यता पायो । उता कांग्रेसमा मधेस र मधेसीको प्रतिनिधित्व गर्ने महन्थ ठाकुर पार्टीबाट बाहिरिए । मधेसकै मुद्दा उठाएर उनले २०६४ सालमै तराई मधेस लोकतान्त्रिक पार्टी खोले । हृदयेश त्रिपाठी, महेन्द्रराय यादव, रामचन्द्र राय, वृशेषचन्द्र लाल, रामचन्द्र कुशवाह, अनिश अन्सारीलगायत नेता पार्टीमा आवद्ध हुँदै पहिलो संविधानसभा निर्वाचनमा भाग लिए । यो दलले ११ सिट जित्यो भने फोरमले ५२ सिट पायो ।
संविधानसभाको पहिलो निर्वाचनपछि प्रचण्डको नेतृत्वको बनेको सरकारमा बलियो उपस्थित जनाए । यो समयमै फोरममा विवाद छिर्यो । भाग्यनाथ गुप्ताले २०६४ भदौमा फोरम फुटाएर मधेसी जनअधिकार फोरम, मधेस गठन गरे । त्यसपछि त फोरममा फुटको श्रृंखला चल्यो । अमर यादवले २०६५ चैत्रमा विभाजन गरेर मधेस तराई फोरम गठन गरे । माधव नेपालको सरकारमा जाने विषयमा विवाद भयो । संसदीय दलका नेता विजयकुमार गच्छदारले २८ सभासद्को साथ लिएर २०६६ जेठमा पार्टी फुटाए । उनले अर्का नेता शरतसिंह भण्डारीको साथमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेर राजनीतिक यात्रा सुरु गरे । गच्छदारको पार्टी पनि धेरै समय दुरुस्त रहेन । भण्डारीले २०६९ असारमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गर्दै त्यहाँबाट निस्किए । फोरम लोकतान्त्रिकबाटै चोइटिएर गएका संजयकुमार साहले २०६७ पुसमा मधेस क्रान्ति फोरम गठन गरेका थिए । साह अहिले जेलमा छन् ।
जयप्रकाश गुप्ताले २०६८ जेठ ९ गते फोरमका राजकिशोर यादवसहित १३ सभासद लिएर मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी जन्माए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत गुप्ता सर्वोच्चबाट भ्रष्टाचारी ठहर भएर जेल पुगेपछि कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पार्टी नेतृत्व सम्हाले । फोरम गणतान्त्रिकका नन्दकुमार दत्तले ०६९ पुस ११ गते उही नामको अर्को पार्टी गठन गरेका थिए । फुटको आरोहअवरोह फोरमले मात्रै खेपेन । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले पनि खेप्यो । तमोलोपाका तत्कालीन महामन्त्री महेन्द्रराय यादवले २०६७ पुस १६ मा तमलोपा–नेपाल नयाँ दल गठन गरे ।
राजेन्द्र महतो नेतत्वको सद्भावनाका नेता रामनरेश राय यादवले पार्टी विभाजन गरी २०६८ माघमा ‘राष्ट्रिय सद्भावना पार्टी’ खोल्न पुगे । रामनरेशको राष्ट्रिय सद्भावना पार्टी र तमलोपा विभाजन गरी बनेको महेन्द्रराय यादवको ‘तमलोपा–नेपाल’बीच २०७० भदौ १९ मा एकीकरण भएर तराई मधेस सद्भावना नेपाल बन्यो । त्यो पार्टीको अध्यक्ष बने महेन्द्रराय यादव । ०७४ वैशाखमा ६ वटा मधेसकेन्द्रित दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), शरतसिंह भण्डारीको राष्ट्रिय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण भएर राजपा संसद्को पाँचौं ठूलो दल बन्न पुग्यो ।
सत्ताको भोक चरम सीमामा पुगेपछि दलहरू फुटको संघारमा पुग्ने गरेका छन् । २०७६ वैशाखमा संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी बन्यो । २०७७ वैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी (जसपा) बन्यो । बलियो मधेसी शक्तिको रूपमा जनता समाजवादी पार्टी बनेसँग मधेसमा खुसीको सञ्चार भयो । तर, फेरि जसपा फोरेर महन्थ ठाकुरले २०७८ भदौ २ गते जसपा नेपाल (लोकतान्त्रिक) गठन गरेका छन् ।