मुआब्जा कम तोकेर बर्दिबास रेलवे स्टेसन सार्ने षडयन्त्र

मुआब्जा कम तोकेर बर्दिबास  रेलवे स्टेसन सार्ने षडयन्त्र

काठमाडौं : महोत्तरीको बर्दिबास–१४ का ५६ वर्षीय खेलनाथ लुइँटेल समस्यामा परेका छन् । सरकारले साढे ९ कठ्ठा उनको जग्गा २०७३ पुस २ मा मेची–महाकाली रेलवे लिक र स्टेसन निर्माणका लागि अधिग्रहण गर्‍यो । चलनचल्तीको मूल्यमा मुआब्जा पाइने आशामा उनको ६ वर्ष बित्यो ।

मुआब्जाका लागि उनले महोत्तरीका सीडीओ गुहारे । त, कहिले यातायात्र मन्त्री आउँदा बिन्ती बिसाएँ । बजारभाउअनुसार मुआब्जा दिनुको साटो मुआब्जा निर्धारण समिति संयोजक तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारीको टोलीले बुधबार लुइँटेललाई खिन्न हुने गरी निर्णय सुनाए । 

चलनचल्तीको मूल्यअनुसार उनको जग्गाको मूल्य प्रतिकठ्ठालाई ५० देखि ६० लाख पर्छ । ‘१२ बजे राति बिक्री गर्दा पनि मेरो जग्गा कठ्ठाको ५० लाखमा मज्जाले बिक्छ,’रेल्वे पीडित किसान लुइँटेल भन्छन्, ‘सरकारले कठ्ठाको १६ लाख दिने निर्धारण गरेको छ ।  मुआब्जाबाट आउने रुपैयाँले रेलवेमा गएको जग्गाकै हाराहारीमा अर्को ठाउँमा जोड्न सकिदैन ।’ 

सरकारले किसानको जग्गा ६-७ वर्षसम्म रोक्का गर्‍यो । यसबाहेक अहिले सरकारले उठिबास लगाउने गरी जग्गाको मुआब्जा निर्धारण गर्दा आफूहरूको मन झनै कुढिएको दुःखेसो उनले पोखे । उनले भने,‘किसान मारा निर्णय हामी मान्दैनौं, कौडीको भाउमा जग्गा दिन्नौं।’

हचुवाको भरमा गरिएको मुआब्जा निर्धारणले बर्दिबासका झण्डै २ सय  किसान तनावमा परेका छन् । स्थानीय ६० वर्षीय गोपीकृष्ण भट्टराई पनि पिरोलिएका छन् । उनको ४ लेन बाटो छेउको २८ धुर जग्गा रेलवेमा परेको छ । उनी भन्छन्, ‘कठ्ठाको १ करोड ४० लाखमा बिक्री हुने जग्गाको मूल्य ८० लाख तोकेर हामीमाथि अन्याय भयो ।’ सरकारले उचित मुआब्जा नदिए रेलवे लिक र स्टेसन बन्न नदिने उनले बताए ।

मुआब्जाकै कारण बर्दिबासमा रेलको लिक र स्टेसन ६ वर्षदेखि अलपत्र बनेको छ । बर्दिबासमा किसानको ५७ विघाभन्दा बढी जग्गा रोक्का गरिएको छ । जयनगर-जनकपुर-कुर्था-भंगहासम्म लिक बनिसकेको छ । भंगहा–बर्दिबाससम्मको लिक र स्टेसन नबन्दा नेपालको गौरवको आयोजना ब्रोडगेज रेल सञ्चालनमा ढिलाइ भइरहेको छ । सन् २०१९ भित्र रेल गुडाउने पर्ने भारतसँग सम्झौता छ । 

‘नजिकैको लालबन्दीमा २ श्रेणीमा जग्गालाई वर्गीकरण गरी मुआब्जा दिइयो । बर्दिबासमा ३२ श्रेणीमा विभाजित गरी जग्गाको मुआब्जा निर्धारण गरियो,’रेलवे पीडित किसान डाँकराज पोखरेल भन्छन्, ‘सरकारको यो निर्णयले किसानहरू मारमा परेका छन् । रेलवेमा परेको जतिकै जग्गा अन्य स्थानमा खरिद गर्न सक्ने गरी मुआब्जा सरकारले दिनुपर्छ ।’ 

रेलवे स्टेसनभित्र अधिग्रहणमा परेको जग्गाको ३२ शीर्षकमा विभाजित गरेर कठ्ठाको  ७ लाखदेखि ८० लाखसम्म मुआब्जा निर्धारण गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । सरकारले निर्धारण गरेको मूल्यअनुसार पीडित २ सय किसानलाई मुआब्जा उपलब्ध गराउन कम्तिमा २ अर्ब ३० करोड रुपैयाँको जोहो गर्नुपर्नेछ । 

कठ्ठाको २० लाखदेखि १ करोंड २० लाखसम्म आफुहरूको माग रहेको रेल्वे मुआब्जा पीडित संघर्ष समितिका संयोजक राजु खड्काले बताए । न्युन्तम मुआब्जा निर्धारण गरेर रेल्वे स्टेशन अन्यन्त्र साने षडयन्त्र भइरहेको उनले दावी गरे । सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा बर्दिबासमै रेलवे स्टेशन बनाउने सार्वजनिक गरेको थियो ।

‘मुआब्जा निर्धारण समितिले आफूखुसी निर्धारण गरेको मुआब्जा हामीलाई मान्य छैन,’ खड्काले भने,‘ जग्गाको मूल्य निक्कै कम भयो ।  यसलाई स्वीकार गर्दैनौं ।’ 
शुक्रबार पीडितहरुले पत्रकार सम्मेलन गरेर उचित मुआब्जाको नदिए आन्दोलन चर्काउने बताएका छन् ।जग्गाको उचित मुआब्जा तुरुन्त दिनु पर्ने माग पीडितहरुको छ । स्थानीय रुपमा संघर्षको बाटोसँगै कानुनी उपचार खोज्न आफूहरू तयार रहेको उनले बताए । 

बर्दिबास प्रदेश २ मै तीव्रगतिमा विकास भइरहेको उदाँउदो सहर हो । २०६२–०६३ को मधेश आन्दोलनपछि व्यापारिक केन्द्र तथा शैक्षिक सहरको रुपमा बर्दिबास विकास भएरहेको बर्दिबास वडा नम्बर १ का वडा सदस्य निरज अधिकारीले बताए । त्यसैले यहाँका जग्गाको महंगो हुँदै गएको उनले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.