जथाभावी ‘मारिँदैछन्’ हात्ती

जथाभावी ‘मारिँदैछन्’ हात्ती

चितवन : पछिल्लो २० वर्षमा नेपालमा ६७ वटा हात्ती मरे। यीमध्ये ३३ वटा हात्ती प्रतिशोधका कारण मारिएका छन्। मानव–हात्ती द्वन्द्वका कारण विद्युतीय धरापमा, गोली हानेर हात्ती मारिएका छन्। बासस्थान साँघुरिएपछि मानव बस्ती छिर्ने हात्तीलाई मानिसहरूले आक्रमण गर्छन्। 

त्यस्तै यो अवधिमा ६ वटा चोरी सिकारीबाट मारिएको छ। झपा र उदयपुरमा तस्करले हात्ती मारेर दारा लगेका थिए। यी घटनाले हात्ती संकटमा परेको देखाउँछ। 

प्राकृतिक तथा सांस्कृतिक रूपले महŒव दिइने हात्तीको अस्तित्व संकटमा छ। चोरी सिकारी र मानवसँगको द्वन्द्व प्रमुख कारण हो। बाली र बस्ती जोगाउन हात्तीलाई करेन्टको धराप लगाउने कारण हात्ती मर्ने गर्छन्। बस्ती छिरेका अधिकांश हात्तीको शरीरमा गोली भेटिने गरेको कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए। उनले सचेतनाको अभावमा हात्ती संकटमा परेको बताए। 

‘हात्ती बाहिर निस्क्यो कि गोली खाएको घटना धेरै छन्। मरेको हात्तीको शरीरमा प्रशस्त गोली भेटिएको छ ,’ उनले भने ‘अब कुनै जनावर लोप हुन्छ भने त्यो हात्ती हो।’ अशोककुमारले हात्तीको विषयमा विद्यावारिधी गर्दै छन्। उनले विकास निर्माण, अतिक्रमणले हात्तीको बासस्थान घटेको बताए। 

पछिल्लो ५० वर्षमा हात्तीको वासस्थान ५० प्रतिशतले घटेको छ। हात्तीको तौल ४ देखि ६ टनसम्म हुन्छ। यो शरीर धान्न पनि दैनिक १ सय ५० देखि २ सय किलो खाना आवश्यक हुन्छ। यसका लागि १८ देखि २० घण्टा खाइरहनुपर्छ। चुरेको फेदीमा हिँड्ने क्रममा खाना नपाएपछि बस्ती प्रवेश गर्छ। टुक्राटुक्रा परेको वन क्षेत्रका कारण खाना र पानी खोज्ने बहानामा र अर्को वन जाने क्रममा बीचमा परेको बस्तीमा हात्ती पस्ने गर्छन्। २० वर्षको अन्तरालमा हात्तीको आक्रमणमा परेर २ सय ७४ ले ज्यान गुमाए। 

नेपालमा पालुवाबाहेक २ सय २७ वटा हात्ती छन्। पालुवा २ सय १० छन्। अन्य वन्यजन्तुको तुलनामा हात्तीको संरक्षणका कार्यक्रम सञ्चालन भएको पाइँदैन। बाघ, गैंडालगायतका वन्यजन्तुबारे अध्ययन–अनुसन्धान धेरै हुने गरेको छ। उत्तिकै खतरामा परेको हात्तीकोे संरक्षण गर्न छुट्टै कार्यक्रम छैन। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्तीलाई मात्रै लक्षित कार्यक्रम आवश्यक भएको बताए। 

‘संरक्षण र पर्यापर्यटनको हिसाबले हात्ती नभई नहुने जनावर हो। यसको संरक्षण र व्यवस्थापनमा जति महŒव दिनुपर्ने हो, त्यति नसकेको हो कि भन्ने लागेको छ,’ बरालले भने । 

पश्चिम बंगालदेखि हात्ती चितवन राष्ट्रिय निकुञ्जसम्म आउँछन्। चुरेको झापादेखि हिँडेर हात्ती त्रिवेणीसम्म आइपुग्छन्। झापामा नियमित १२ वटासम्म हात्तीको बसोबास छ। 

विभिन्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष वा मध्यवर्ती क्षेत्रमा गस्ती, अध्ययन, अनुसन्धान तथा पर्यटकलाई घुमाउने काममा यी घरपालुवा हात्तीको प्रयोग हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.