झापामा दक्षिणपूर्वी एसियाकै नमुना क्यान्सर हस्पिटल

झापामा दक्षिणपूर्वी एसियाकै नमुना क्यान्सर हस्पिटल

झापा : झापाको बिर्तामोडमा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालले भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण र दक्ष जनशक्ति व्यवस्थापनमा आफूलाई पूर्णता दिँदै लगेको छ। स्थापना भएको डेढ वर्षको अवधिमा अस्पतालले क्यान्सरसँग सम्बन्धित सबै प्रकारका उपकरण र विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चित गरेको हो। 

भौतिक पूर्वाधार, दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक उपकरणको उपलब्धताले पूर्वाञ्चल क्यान्सर हस्पिटल अब दक्षिण पूर्वी एसियाकै नमुना भएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए। ‘क्यान्सर रोगको उपचारका लागि सबै हिसाबले एउटा भरपर्दो स्वास्थ्य प्रतिष्ठानका रुपमा पूर्वाञ्चल क्यान्सर हस्पिटल उभिएको छ’, कार्यकारी निर्देशक प्रसाईले भने।

क्यान्सर हस्पिटलमा डा. वीरेन्द्र यादव नेतृत्वमा डा. प्रियङ्का कटुवालसहितको नौ सदस्यीय विशेषज्ञ टोली कार्यरत छ। तीन सदस्यीय टोली भर्खरै थपिएको हो। अब भरतपुर क्यान्सर अस्पतालमा १२ वर्षदेखि सर्जनका रुपमा कार्यरत डा. मुक्ति देवकोटा र क्यान्सर रोगकै नाक, कान र घाँटीका सर्जन डा बजरंग साह पूर्वाञ्चल क्यान्सर अस्पतालमा जोडिएका छन्।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा सबै प्रकारको क्यान्सरको सर्जरी सम्भव भएको डा. देवकोटाले बताए। चाहिएको बेला सहयोग माग्न सक्ने गरी बीएण्डसी टिचिङ हस्पिटलको ७० चिकित्सकीय टोली ब्याकअपमा छ। दक्ष जनशक्ति र आधुनिक उपकरणको सहायताले अस्पतालको उपचार सेवा भरपर्दो र विश्वसनीय बन्दै गएको क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले बताए।

‘क्यान्सर रोगको जुनसुकै उपचारका लागि हाम्रो विशेषज्ञ टोली तम्तयार छ’, डा. यादवले भने। अस्पतालको तथ्याङ्क अनुसार नेपालमा वर्षेनि थपिने कुल क्यान्सर रोगीमध्ये झण्डै २५ प्रतिशत रोगीले पूर्वाञ्चल क्यान्सर अस्पतालबाट १८ महिनामा उपचार सेवा लिएका छन्।

नेपालमा वर्षेनि ३० देखि ३५ हजार क्यान्सर रोगी थपिन्छन्। तीमध्ये प्रत्येक वर्ष १५ देखि २० हजारको मृत्यु हुँदै आएको तथ्याङ्क छ। क्यान्सर संक्रमित ६० प्रतिशत बिरामीको समयमा उपचार नपाँउदा मृत्यु हुने गरेको देखिएको डा. यादव बताउँछन्। चेतनाको अभावमा धेरै बिरामीले अल्पायुमा ज्यान गुमाइरहेको देखिएको छ। अस्पतालले सबैभन्दा बढी स्तन क्यान्सरका रोगीको शल्यक्रिया गरेको छ।

स्तन क्यान्सरपछि आन्द्रा, नाक, कान, घाँटी र डिम्बाशय क्यान्सरको शल्यक्रिया गरिएको छ। हालसम्म ५६ वटा रेडियो सर्जरी गरिएको बताउँदै डा. यादवले राम्रो उपकरण र दक्ष चिकित्सक भएका कारण काठमाडौंबाट बिरामीहरु आउने गरेको जानकारी दिए। पूर्वोत्तर भारतका बिरामी पनि आइरहेका छन्। 

अस्पतालले केमोथेरापी ४ हजार ३०५, पाठेघरको शल्यक्रिया ७६, स्टेरिओटाक्टिक रेडियोथेरापी २३ वटा गरिएको जनाएको छ। अस्पतालमा ५ हजार ५४३ जना नयाँ विरामी आएका छन् भने २ हजार ४७६ जना विरामी भर्ना भएका छन्। 

१० हजार महिलाको पाठेघर परीक्षण गरिँदै

पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको पाठेघर क्यान्सरको निशुल्क परीक्षण गरिदिने घोषणा गरेको छ। पहिलो चरणमा एकहजार महिलाको परीक्षण गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताए। 

‘पाठेघरको निशुल्क परीक्षणसँगै एक लाख बराबरको उपचार खर्च पनि हस्पिटलले व्यहोर्ने भएको छ’, गिरीले भने, ‘स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि यो आवश्यक देखियो।’ अस्पतालले एक हजार गरिब परिवारको स्वास्थ्य बिमा गराउने योजना पनि अघि सारेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.