लागूऔषध कारोबार आरोपमा होटल सञ्चालक पक्राउ
राजविराजः होटलको आडमा लागूऔषध कारोबार गरेको आरोपमा सप्तरीमा एक होटल सञ्चालक पक्राउ परेका छन् ।
होटलमै लागूऔषध बिक्री बितरण गर्ने कार्यमा चर्चा कमाएको कञ्चनरूप नगरपालिका–२ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका सञ्चालक ३५ वर्षीय जयराम यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।
होटलबाट ठूलो परिमाणमा प्रयोग भएका खाली बोतल र खोल तथा बिक्री वितरणका लागि राखिएका लागूऔषध बरामद भएको डिएसपी माधवप्रसाद काफ्लेले बताए । डिएसपी काफ्लेका अनुसार होटल खानतलाशी गर्दा ६१० वटा ट्याब्लेट नाइट्रोसन–१० र सो को ४१ वटा खाली खोल, ३१० वटा स्पास्मो प्रोक्सिभन प्लस र सो को २० वटा खाली खोल, एक सय मिलिलिटरको ८ वटा डाइलेक्स डिसी र ५ वटा खाली बोतल, एउटा कोडिवेलको खाली बोतल, २ वटा इस्कुफको बोतल र सिरिञ्ज फेला परेको छ ।
पसलभित्र कालो रंगको प्लास्टिक र खैरो रंगको झोलामा राखिएको अवस्थामा लागु औषधहरु फेला परेपछि यादवलाई पक्राउ गरिएको हो । पक्राउ परेका आरोपितलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।