पशुपतिमा देखिए बाल पुरोहित!
काठमाडौं : आइतबार बिहानैदेखि पशुपति मन्दिर भरिभराउ थियो । जनैपूर्णिमाको अवसरमा पशुपति क्षेत्रमा बेग्लै रौनक थियो । एक सय ५० बढी पुरोहितहरुलाई भक्तजनलाई जनै र रक्षा बाँधन भ्याइनभ्याइ थियो ।
पुरोहितहरुको त्यो भीडमा साना दुई बाल पुरोहित पनि थिए । ढाका टोपी, कमिज र पैजामा लगाएका स्कूले बालक थिए, ११ वर्षीय रिजन भट्टराई र १३ वर्षीय अनमोल घिमिरे ।
भक्तजनलाई जनै र रक्षा लगाउन उनीहरु व्यस्त थिए । यी दुवै बालक वैदिक मन्त्रोच्चारण गरेर भक्तजनको हातमा रक्षा बाँधिदिने गरेका थिए । जनै भने उनका हजुर बुवाले लगाउन सहयोग गर्थें। खुशी हुँदै कसैले २० त कसै २ सय रुपैयाँसम्म दक्षिणा दिइरहेका थिए । मन्दिर जाने मुख्य सडकको दक्षिणतिरको पेटीमा बाल पोरोहित जनै, रक्षाबन्धन, टिका, फूल लिएर बसेका थिए । उनीहरु हजुरबुवा लोकनाथा घिमिरेसँगै बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए ।
उनीहरु अनलाइन कक्षा बन्द भएकाले हजुरबुवालाई सघाउन मन्दिर गएका रहेछन्। ‘कोरोनाले गर्दा स्कूल खुलेको छैन । कोठामा बसेर अनलाइन कक्षाबाट पढिरहेका छौं, 'अनमोलले भने,‘आइतबार स्कुल बिदा थियो । हजुरबुवासँग पुरोहितको काम गर्न मन्दिर आएँ ।’
ती साना नानीहरु देखेर पशुपतिनाथ पुगेकाहरु अचम्म पर्दै भन्थे- कसका सन्तान होलान्, कति ज्ञानी । रिजनको घर रामेछाप र अनमोलको घर दोलखा रहेछ। उनीहरु हजुर आमा टोपमाया वाग्लेसँग बसेर काठमाडौंमा पढिरहेका छन् ।
रिजन कक्षा ७ मा पढ्छन् भने कक्षा ४ मा पढ्दै गरेका अनमोल दाजुलाई पछयाइरहेका छन् । बच्चाका हजुरआमाले भनिन्,'पुर्खौली सीप आफ्ना नानीहरुलाई सबैले सिकाउनुपर्छ ।'