आयामिक चाड गाईजात्रा
गाईजात्रा तर्जुमा गरेर एक प्रकारले पूर्खाप्रतिको शान्ति कामना स्मृति गर्नु यसको एउटा आयाम हो ।
गाईजात्रा यस्तै बहुआयामिक चाडपर्वमा पर्छ। लोककल्याणकारी कामको क्षण र मान्यतालाई धर्मसंस्कृति मान्छौं। राज्य भन्नु एक अर्थमा शासन व्यवस्था नै हो। यसमा उल्लेख भएका अनेक आधारभूत तथ्यलाई सही रूपमा लेखाजोखा गर्नुपर्ने हुन्छ। गाईजात्राभित्र ती कुन किसिमले गाँसिएका हुन्छन्, ती केलाउनु उचित भन्ठान्छु। विश्वास र मान्यतालाई केलाउँदा म आफूलाई नियाल्न छाड्न सक्दिनँ। लाग्छ, यहाँले पनि सक्नुहुन्न। आफूलाई नियालेरै पूर्खाले जीवनसंस्कार निर्माण गरेका थिए।
संस्कार भनेकै जीवनसँग गाँसिएको हुन्छ। त्यसैलाई अपनाउँदै आफूले आफूलाई नियाल्नुका प्रस्फुरण ठान्छु। आयामिकता पर्व गाईजात्रा। यसलाई नियाल्न थाल्छु जब अनेक आयाम उठ्न थाल्छ। यसभित्र पूर्खाका धर्म र विश्वासले जरा हालेको छ। धर्म भन्नु मूर्ति पूजामा टुंगिने भावव्यञ्जना मात्र नठहरिएला। धर्म जीवनयापनका नैतिक आचरण र दृढसंकल्पित मन, वचन र बानीव्यहोर मात्रै मान्छु। पूर्खाका विश्वास र मान्यताभित्र मौसमी पर्यावरणको क्षाण अडेको हुन्छ। वर्षायामसित हुने मुख्यबाली धान रोपाइँ सकिएपछि फुर्सदको समयलाई सदुपयोग गर्नु एक धारणा एक विश्वास र एक मान्यता बनेको छ।
जीवन नै आयामिक हो। हरेक जीवनमा तह तह हुन्छ। जीवन जोडिएको गाईजात्राका आयामैपिच्छे अर्थ छन्। त्यसैले यसलाई आयामिक जात्रासमेत भनिन्छ।
यही मौकामा वर्ष दिनभरि दिवंगत आत्माको शान्ति कामना गर्नु सन्ततीको नैतिक धर्म बन्छ। यो गाईजात्रा पर्व तर्जुमा गरेर एक प्रकारले पूर्खाप्रतिको शान्ति कामना स्मृति यसको एक आयाम। यसले प्रत्येक घरदैलोबाट गाईको प्रतीकात्मक संरचना गरेर नगर परिक्रमा गर्न यससित गाँसिएको मेलोमेसो नमानूँ कसरी ? प्रत्येक घरदैलोबाट आआफ्ना घरमा अवसान भएका जनका सम्झनामा गाई वा सोसरह मानिने झाँकी बनाएर नगर परिक्रमा गराउने प्रथा परम्परा र संस्कारले राज्य सञ्चालन प्रक्रिया गर्नैपर्ने मृत्यु गणना यो संस्कृतिले प्रतिबिम्बित पार्ने दोस्रो आयाम हो। यसका लागि वैज्ञानिक गाई बिम्ब बनाउने प्रथा अवलम्बन गरिएका छन्। साना बालबालिका निधन हुँदा डोको बाहिर केटोको निधन भए केटोले लगाउने पहिरन र केटीको निधन भएको भए केटीकै लुगाफाटा डोकोचा (डोकेगाई) बनाइन्छ। युवावस्थामा केटो वा केटी निधन हुँदा बाँसका लामो गाई प्रतीक बनाएर सरोकारी पहिरनले लिंग भेद गराउँछ। यी प्रकरणहरूले सामान्य मध्यम वर्गीय परिवारको संस्कृतिलाई अँगालेको छ।
सम्भ्रान्त अवस्थाका परिवार अर्कै तुजुकमा यो पर्वको झाँकी प्रदर्शन गर्छन्। कसैले कालीमाटीका बसाहा बनाई खटमा सजाएर बाँसुरी बाजासहित प्रदक्षिणा मार्गमा घुमाइन्छ। कसैले केटाकेटीलाई सजधज सिँगारेर बाजागाजासहित आफन्त इष्टमित्रसहित नगरभरि झाँकी घुमाउँछन्। कसैले मृतक आत्माका चिरशान्ति कामनासहित उनकै जीवनगाथा गाउन लगाएर मृत्युगणना कर्ममा सघाउँछन्। कसैले भने गाईको पिठ्यूँमा पितवस्त्र सजाएर नगर घुमाउँछन्। गाईजात्राका यी विविध प्रकरण तत्कालीन राज्यव्यवस्थाका सामयिक सम्पदाका रूपमा हालसम्म रहेका छन्। मृत्युगणना गर्ने अर्को छ्वासल संस्कार पनि रहेको छ। यो एकै सन्दर्भको अर्को प्रकरण अर्थात् आयाम रहेको छ।
आयामिक गाईजात्राको अर्को पाटो हाँस्यव्यंग्य र मनोरञ्जन बनेको छ। खेतीकिसानीको अथक परिश्रमपछिको रमाइलो र रसिलो चहलपहल गाईजात्रे हँसीठट्टा, व्यंग्य विनोद बनेको छ। यो आठ रात नौ दिने चाडपर्व आलोचनात्मक पर्व पनि रहेको छ। प्रेस जगत्को न्वारान नै नभइसकेको मध्यकालीन संस्कृतिले आधुनिक प्रेस, इन्टरनेट सञ्चारमाध्यमलाई झक्झक्याउने आयाम सम्हाल्नसमेत सक्षम बनेको छ यो आयामिक गाईजात्रा चाड। राज्यले यस्ता आयामिक चाडपर्वका संस्कृतिलाई आमनेपाली जनजीवनको परिचय दिने दिलाउने सोच गर्न सके यस समुदायको संस्कृति साझा संस्कृति नेपाली संस्कार बन्न सक्ने थियो। हिजो जनैपूर्णिमा, रक्षा बन्धनको दिन पनि। क्वाँटी खाने दिनका रूपमा पनि लिइन्छ यो दिनलाई। संयोगले यो दिन संस्कृत दिवस पनि परेको छ। भदौ कृष्ण प्रतिपदा पर्छ। जुन दिन गाईजात्रा मनाउने दिन हो। यो गाईजात्राका आयामैपिच्छे अर्थ छन्। यसमा त्रिकोणको आयाम मात्र छैन त्यसैले यसलाई आयामिक जात्रासमेत भनिन्छ।
जीवन नै आयामिक हो। हरेक जीवनमा तह तह हुन्छ। शेक्सपियरले भनेका थिए, अल द लाइफ इज स्टेजेज। उनले जीवनलाई सेभेन स्टेजेज अफ लाइफ भनेका थिए। सुरुमा गर्भमा बस्दाका नौ महिनाको अवस्था, बाल्यकाल, युवा हुँदै वृद्धवृद्धामा पुगेर जीवन टुंगिन्छ। यसरी अनेक आयाममा जीवन परिवर्तन भइरहन्छ। गाईजात्राका आयाम पनि जीवनसँगै जोडिएका छन्। बिहान सबेरै एक प्रकारको गाईजात्रा हुन्छ। १०–११ बजेतिर अर्को खालको हुन्छ। मध्याह्नदेखि अरु थपिएर दिनभर हुन्छ। ३–४ बजेतिर विशेष जात्रा हुन्छ। बालबच्चाको निधन भएको सम्झनामा मृत्युपछिको आत्माले शान्ति पाओस् भन्ने हेतुले बिहानकै समयमा गाईजात्रा गरिन्छ।
कुरा बालबच्चाकै हो, गाईको स्वरूप बनाएर बालबालिकासँग जोडेर डोकोभित्र रहेजस्तो पारेर हिँड्छ। केटा निधन भएको भए त्यस्तै लुगा केटी भए पहिरन ब्लाउन र सारी राखेर डोकोबाहिर अगाडिपट्टि गाईको पेन्टिङ गरेर गाईजात्रा निकालिन्छ। त्यसमा परालको सिङ बनाएर माथि जोड्ने काम हुन्छ। ठूलो मान्छेको निधन भए लोग्ने र स्वास्नी मान्छे छुट्याएर सोही अनुसार बाँस नयाँ काटेर बनाइन्छ। जसमा चारवटा पांग्रा (खर्पनको चक्का) चारतिर राखेर माथि परालले डोरी बनाएर चारवटैलाई बाँधिन्छ। त्यसको आकार टावरजस्तै बन्छ। मान्छेले काँधमा बोकेर लैजाने खालको हुन्छ त्यो। त्यसपछि लिंगअनुसार कपडा बेर्ने काम हुन्छ। जस्तै, महिला भए सारी ब्लाउज रुमाल र पुरुष भए लवेदा सुरुवालले बेर्ने गरिन्छ त्यसमा थानको कपडा ल्याएर बेरिन्छ। कोट, स्कोट आदि पनि त्यसमा बेरिन्छ। टुप्पोमा दुवैको चौरीको पुच्छरमा चमार राखिन्छ।
गाईको स्वरूपको पेन्टिङ अगाडि राखेर नाइके नाइकेनीले पूजा गर्छन्। छोराछोरीको निधन भएको भए बुबाआमा नाइकेनाइकेनी बन्छन् र बुबाआमाको भए छोराछोरी। गाईजात्रामा नगर परिक्रमा गर्नुअघि यो काम हुन्छ। बोक्नेहरूलाई क्वाँटी, तरकारी मासुका परिकार खुवाइन्छ। नगर परिक्रमा सुरु हुन्छ। आआफ्नो प्रदक्षिणा पथअनुसार घुमाइन्छ। बिहान १० बजेतिर ससानो बसाहा बनाएर खटमा राखेर श्रृंगार पटार गरी बाजागाजासहित बजाएर नगरपरिक्रमा गराइन्छ। मादल, खिं, ताल, झ्याली, भूछ्या आदि बाजा बजाइन्छ। ठूल्ठूलो छाता ओढाएर केटी र केटा घाँगरको लुगा र पटुका लगाएर भूइँमा लतार्दै बाजा बजाएर पनि नगरपरिक्रमा गराइन्छ। यसमा आफन्त पनि सँगै जान्छन्। अझ धनी मानिस भए गीत पनि बजाइन्छ। मरेको मान्छेको जीवनको महिमा गाउने प्रचलन छ। परिक्रमा गराइन्छ। साँझ परेपछि घुमाइन्छ, सबैले छेक्छन् र गाउनोस् भनेर सुन्न चाहन्छन्। गाईजात्रा भनेको एक किसिमले सम्झना र श्रद्धाञ्जली हो। टोलका मान्छेले परिक्रमा गर्न आउनेहरूलाई र अन्यलाई पनि क्वाँटी खुवाउने चलन छ।
घिन्ताङघिसी नाच नाच्ने चलन छ। दिउँसोको समयमा सूर मिलाएर ठोक्ने चलन छ। यो दिन रक्सीको अन्ति र बटुको थापेर खुवाएको र खाएको जस्तो गर्छन्। नाचगानको सहर भक्तपुर भनेर जगदीश शमशेर राणाले आफ्नो पुस्तकमा लेखेका छन्। गाईजात्राको सुरुआत प्रताप मल्लले गराएको पाइन्छ। छोराको निधन भएपछि पत्नीलाई बिलौना नगर भनेर भनेको पाइन्छ। राज्यभित्र कत्ति मरेका छन्, काठमाडौं, ललितपुर र भक्तपुर र अन्यत्र पनि निधन भएका छन्। नपत्याएपछि उर्दी गरे, कसकसका सन्तान मरेका छन्, बाजागाजासहित मरणको सिलसिलामा नगर परिक्रमा गर्नू भनेपछि यो सिलसिला सुरु भएको देखिन्छ। त्यो देखाउन हनुमानढोका दरबारमा ल्याउनु भनेपछि त्यहाँ बसेर हेरेपछि रानीले चित्त बुझाएको पाइन्छ।
भक्तपुरमा जगज्योति मल्लले र पाटनमा नरेन्द्रदेवको पालामा उर्दी चलाएर गाईजात्रा चलाएको पाइन्छ। काठमाडौंमा महादेव पार्वती, राधाकृष्णको स्वरूप बनाएर पनि परिक्रमा गराइन्छ। विगतभन्दा अहिले गाईजात्रामा केही फरक छ। उसबेला घिन्ताङघिसीमा मुस्ली बोकेर आउँथे। अहिले गहुंगो हुन्छ ल्याउँदैनन्। अहिले ससाना बाँसका लौरा लिएर नाच्छन्। पहिले क्यामरा थिएन। अहिले क्यामरा लिएर नक्कल गर्छन्। पहिले घिन्ताङघिसी नाच्न आउनेले घाँघरका लुगा लगाउँथे। पहिलेदेखि नै घरमा बनाएको जाँड, रक्सी खाने चलन छ। यसले शक्ति प्रदान गर्छ भन्ने मान्यता छ। काठमाडौं उपत्यकाबाहिर पोखरा, धनकुटा, दैलेख, डोटीको सिलगढी लगायतमा पनि हुन्छ। काठमाडौंबाट जानेले जहाँ गए पनि सोही प्रचलनअनुसार गर्छन्, ललितपुर र भक्तपुरबाट जानेले पनि आआफ्नै पाराले गर्छन्।
लेखक संस्कृतिविद् हुन् ।