कोरोनाकालमा हिन्दू जीवनशैली

कोरोनाकालमा हिन्दू जीवनशैली

कोभिड १९ भाइरस संक्रमणको महामारीले विश्व अझै आक्रान्त छ। यस्ता रोग रोकथामको औषधि हाम्रो प्राचीन आयुर्वेदका ग्रन्थहरूमा उल्लेख छ। तर त्यस्ता औषधि निश्चित गरेर तिनको नाम एकै ठाउँमा सूचीकृत भएको पाइँदैन। आयुर्वेदका ग्रन्थमा छरिएर रहेका संक्रामक रोग रोकथाम र नियन्त्रण गर्ने खालका थुपै्र वानस्पतिक, खनिज र जैविक औषधि जुन आयुर्वेद ग्रन्थहरूमा उल्लेख छन्। आयुर्वेद विज्ञहरूबाट निश्चितरूपमा त्यस्ता बहुउपयोगी औषधिहरूको अनुसन्धान, पहिचान, परीक्षण र प्रयोगको नतिजापछि त्यस्ता उपयोगी औषधिको सूची तयार गर्नु आवश्यक छ।

इष्टमित्र, साथीसंगी र अतिथिहरू भेट हुँदा हात मिलाउने, चुम्बन गर्ने, छाती मिलाउने पश्चिमा शैली भाइरस संक्रमणका दृष्टिले बढी जोखिमपूर्ण देखियो। त्यसैले अचेल सबैले हिन्दू शिष्टाचार शैलीअनुसार टाढैबाट सबैलाई एकमुष्ट नमस्कार गर्ने शिष्टाचार शैली छ। यसैलाई सर्वोत्तम ठानिएको छ। हिन्दूहरूको स्नान, सन्ध्या तीर्थ व्रत, योग, ध्यान, प्राणायाम परमार्थ चिन्तन, खानपान, सकारात्मक सोच, संयुक्त परिवार, सेवाभाव, सहनशीलता यी सबै हिन्दू जीवनशैलीका नमूना हुन्। जहाँ तनाव कम भई सन्तोष बढी महसुस हुन्छ। संसारमा आनन्द सन्तोष लिनेमा बढी हिन्दू नै भएको पाइन्छ।

हिन्दू जीवनशैली र आयुर्वेद उपचार पद्धति एकअर्कामा अन्योन्याश्रित छन्। आयुर्वेदको ज्ञानबिनाको मानवजीवन कुहिराको कागजस्तै अन्योलपूर्ण र खतरायुक्त मानिन्छ। पहिलेका ऋषिमुनिहरूले आफ्नो आयु बाँच्ने अवधि आफैंले निर्धारण गर्थे। मानव शरीरको आयु बाँच्ने अवधि अधिकतम सय वर्ष बताइएको छ। तर पनि अधिकांश मानिसले सय वर्ष नपुग्दै अकाल मृत्युवरण गरेको पाइन्छ। जीवनप्रति सावधानी, आहारविहारमा सन्तुलन सकारात्मक सोच, तनावमुक्त चिन्तन, आफूले गरेको काममा सन्तोष, बुद्धिमा स्थिरता र संयम अपनाउने मानिस अधिकतम आयु  बाँच्न सक्छ। क्षणिक भोगविलास र मोजमस्तीमा रम्ने मानिस छिट्टै रोगी हुन्छ। हिन्दू ॐकार परिवारको भान्छा (किचन) केवल पेट भर्न पक्वान्न तयार गर्ने ठाउँ मात्र होइन। त्यो भोक र रोगको उपचार केन्द्र एवं औषधि  निर्माण र खाना पनि हो। जहाँ भोकको तृप्ति र रोगको उपचार पनि हुन्छ। 

भान्छामा पाक्ने र जुट्ने खाद्य पेय पदार्थ दाल, भात, तरकारी, नुन, मसला, तेल, ध्यू, दूध, दही, मही, मह तिल, ज्वानो, जीरा, मरिच, जाइफल, बेसार, खुर्सानी, टिमुर, धनियाँ, पुदिना, चम्सुर, पालुंगो, लसुन, मूला, करेला, बरेला, भिन्डी, पर्वल, घिरौंला, चिचिण्डो, फर्सी, इस्कुस गाँजर, गोलभेडा, भन्टा, आलु, बोडी, तामा, टुसा, अदुवा, जिम्बु, आँप, केरा, स्याउ, सुन्तला, मौसम, कागती, लब्सी, काँक्रो, अनार, दाख, काजु, बदाम, ओखर आदि अनगिन्ती खानेकुरा औषधि गुणले युक्त छन्।
यी खाद्य पेयपदार्थ शाकाहारी भोजन उपयोग गर्नेहरूका लागि हो। संसारमा धेरै मानिस मांसाहारी भएको बताइन्छ। हिन्दू ॐकार परिवारमा शाकाहार, मांसाहार दुवै प्रचलनमा पाइन्छ। शाकाहारले शरीर स्वस्थ्य, मन शुद्ध र तनाव मुक्त गराउँछ। बल बुद्धि बढाउँछ। संसारमा सनातन हिन्दू धर्म मात्र त्यस्तो धर्म हो, जसले ‘बान्धवो मानव : सर्वे’ संसारका सम्पूर्ण मानव जातिलाई बन्धुबान्धव मान्दछ। त्यस्तै ‘बसुधैव कुटुम्वकम्’ पृथ्वीमा जन्मेका सबै मानव जातिलाई परिवार ठान्छ। आयुर्वेदमा आहार तीन प्रकारको बताइन्छ। हिताहार, मीताहार, ऋताहार। 
हिताहार खाएर पच्ने, ताकत दिने, मीताहार सन्तुलित भोजन मिठो पाउँदा अपच हुने गरी नखाने र नमीठो जुट्दा भोकै नबस्ने तर ठिक्क खाने, ऋताहार यो ज्यादै सूक्ष्म र महत्वपूर्ण हुन्छ। ऋत भनेको सत्यको कमाइ। आहार शुद्ध भए मात्र मन शुद्ध हुन्छ। शुद्ध खानाले शुद्ध मनमा सकारात्मक भाव संकल्प स्फूरण हुन्छ। त्यस्तो मन भएको मानिसले अर्काको हानी नोक्सानी कुभलो हुने काम गर्दैन। आहार, विहार, शिक्षा, संगत र वातावरणका कारण मानव जीवनमा सकारात्मक र नकारात्मक सोचको विकास हुँदै जाने कुरा स्पष्ट अनुभव गर्न सकिन्छ। सात्विक आहारबाट सद्गुण, सद्गुणबाट सद्व्यवहार, सद्व्यवहारबाट शुभकर्मको शुभारम्भ हुनसक्छ।

तामसी भोजनबाट असहिष्णु स्वभाव, रिस, डाह र घृणाको भावना उत्पन्न हुन्छ। मानिसमा विवेक हराउँदै गएको छ। विवेकबिनाको समाजको विकास हुँदै जाने हो भने भोलिको संसार कस्तो होला ? कल्पना गर्नै सकिन्नँ। शुद्ध र सफा मानिस कसलाई भन्ने ? जो सफा र चोखो मान्छे छ उही। जो आवरणमा मात्र सफा देखिन्छन्, तिनीहरू आचरणमा कहिल्यै सफा हुँदैनन्। साँच्चै समाज सुधारको प्रक्रिया थाल्ने हो भने सर्वप्रथम आहार विहार, शिक्षा, संगत र वातावरण सुधार्नु जरुरी हुन्छ। अहिलेको अवस्थामा यो पुस्ताको गलत आहार, विहार, शिक्षा, संगत र वातावरणका कारण तिनको सोच, दिमाग सबै प्रदूषणले गाँजिसकेको अवस्था छ। तर तिनलाई सानैदेखि पूर्वीय दर्शन र पश्चिमा प्रविधियुक्त उच्च मानवीय मूल्यबोध हुने गरी उचित आहार, विहार, असल शिक्षा, दीक्षा, संगत र वातावरण दिनुपर्ने हुन्छ।

यस्तो पुस्ताले मुलुकको वागडोर समालेपछि मात्र समग्र राष्ट्र र समाजको रूपान्तरण सम्भव हुने देखिन्छ। त्यस्तो अवस्था ल्याउन आजैदेखि इमान्दारपूर्वक दिगो कार्ययोजना बनाएर अघि बढ्नुपर्ने हुन्छ। त्यसको सकारात्मक प्रतिफल प्राप्त गर्न कम्तिमा सय वर्ष लाग्न सक्छ। त्यसका लागि दृढसंकल्प र निरन्तर लागि पर्ने जनशक्ति र साधनस्रोतको जरुरी हुन्छ। यस्तो शुद्ध र पवित्र वातावरण भए मात्र नागरिकले पनि रोगबाट ग्रसित हुनुपर्दैन। यस्तो महामारी आए पनि सामूहिक ढंगले परास्त गर्न सक्षम हुनेछन्।

लेखक विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका कार्यकारी सभापति हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.