जेठ २ मै फर्कियो एमाले, दसाैँ महाधिवेशन मंसिरमा
काठमाडौं : वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबिना नै एमाले ०७५ जेठ २ को संरचनामा फर्किएको छ।पार्टीको दसौं महाधिवेशन र विधान अधिवेशनको मिति पनि तोकिएको छ।
स्थायी समितिको मंगलबारको बैठकले पार्टीका सबै तहका कमिटीहरू जेठ २ पूर्वको जिम्मेवारीअनुसार क्रियाशील हुने निर्णय गरेको छ।माधव नेपालसँग नयाँ पार्टी गठन प्रक्रियामा नगएका उनी पक्षधर ‘तेस्रो धार’का नेतासहित स्थायी समितिको बैठक बसेको हो।नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)मा नगएका उनीहरूले पूर्ववत् पद र जिम्मेवारी सम्हालेका छन्।
बैठकले असार २७ मा गरिएको १० बुँदे सहमतिलाई अक्षरंशः पालना गर्ने निर्णय गरेको छ। एमाले बिउँतिएपछि उनीहरू पहिलो पटक स्थायी समितिको बैठकमा सहभागी भएका हुन्।उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र पार्टी अनुशासन विभागका अध्यक्ष अमृतकुमार बोहरा बैठकमा सहभागी भए।
आठ महिना पार्टी गतिविधिबाट छुटेका उनीहरू मूलधार फर्केका हुन्। २०७७ पुस ५ मा पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनीहरू पार्टी बाहिर रहेर अन्तरसंघर्ष गरेका थिए।फागुन २३ मा पार्टी बिउँतिए पनि उनीहरू पार्टीका कुनै बैठकमा सहभागी भएनन्।
२०७८ असार २७ मा पार्टी एकताका लागि १० बुँदे सहमति भएपछि त्यसको कार्यान्वयन गरेर पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका थिए।
तर, १० बुँदेप्रति चित्त नबुझाएका नेपाल र खनाल भने पार्टीमा फर्केनन्। प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको पक्षमा रहेर क्रियाशील हुन सबै कमिटी र जनसंगठनका नेता÷कार्यकर्तालाई निर्देशन दिइएको जनाए।बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटीलगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ।
बैठकले जेठ २ गतेसम्मको सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण अगाडि बढाउने निर्णय गरेको छ।
६ सदस्यीय कार्यदल
एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र लेखराज भट्ट कार्यदलमा छन्।कार्यदलले केन्द्रीय समितिमा १० प्रतिशत मनोनयन गर्न, केन्द्रीय विभाग र निकायलाई पूर्णता दिनका लागि गृहकार्य गर्नेछ।पार्टीको एकताको सन्देश दिनका लागि सामूहिक फोटोसेसन पनि गरिएको छ।
महाधिवेशन मंसिरमा
दसौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म गर्ने निर्णय एमालेले गरेको छ।त्यसअघि असोज ४ देखि ६ सम्म विधान महाधिवेशन, भदौ १६ देखि २० सम्म जिल्ला र जनसंगठन भेला, भदौ २५ र २६ स्थायी कमिटी बैठक, भदौ २७ र २८ केन्द्रीय कमिटीको बैठक गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।कात्तिक ६ मा देशभर वडा अधिवेशन, कात्तिक ९ मा स्थानीय तह अधिवेशन गर्ने भएको छ।पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्नका लागि भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गर्ने निर्णय एमालेले गरेको छ।२०७५ जेठ २ अनुसार पार्टी केन्द्रीय कमिटीको बैठक भदौ १० गते काठमाडौंमा आयोजना हुनेछ।माओवादी नफर्केका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा पनि बैठकमा सहभागी भएका थिए।बैठकले नेपाल पक्षमा लागेका नेताहरूलाई पार्टीमा फर्कन आग्रह गरेको छ।मूलघरमा फर्किएमा कारबाही र भेदभाव पनि नगर्ने निर्णय गरिएको छ।
नेपाल पक्ष चन्द्रागिरिमै
प्रस्तावित नेकपा एकीकृत समाजवादीमा समावेश भएका आफ्ना नेतालाई एमालेमा फर्किन नदिन दुई दिनदेखि चन्द्रागिरि हिल्सस्थित रिसोर्टमा राखिएको छ।निर्वाचन आयोगले बुधबार सनाखतका लागि प्रस्तावित एकीकृत समाजवादीको नेता र सांसदलाई बोलाएको छ। चन्द्रगिरिमा नै प्रस्तावित पार्टीको अन्तरिम विधान र घोषणापत्र छलफल गरी अनुमोदन गरिएको छ।