टुटफुटको अभिलेखमा मधेसी दल
मधेसी समुदायको मनोविज्ञान के छ भने एकता वा संयुक्त मोर्चाको विकल्प छैन
लोकतन्त्रको सबैभन्दा ठूलो विशेषता स्वतन्त्र रूपमा वादविवाद गर्नु हो। वादविवादको परिष्कृत रूप अन्तरविरोध हो। अर्थात् द्वन्द्व ! यो द्वन्द्व नभएको ठाउँ विश्वमा कतै छैन। विज्ञानले वर्षौं पहिले पत्ता लगाएको अणु र परमाणुभित्र पनि इलेक्ट्रोन (ऋणात्मक) र प्रोटोन (घनात्मक)बीच अन्तरद्वन्द्व चलिरहन्छ। जहाँ न ऋणात्मक न घनात्मक भएको अर्को कण पनि हुन्छ त्यसलाई न्यूट्रोन भनिन्छ। विश्व यही पद्धतिबाट सञ्चालित छ भन्ने कुरा सार्वभौम सत्यलाई स्वीकारेको र आत्मसात गरेको पाइन्छ। तर तिनै परमाणुलाई बारम्बार विभाजन गरेपछि शक्तिको क्षयीकरण प्रक्रियाको प्रारम्भ हुन्छ। जुन कुरा राजनीतिक दलहरूको टुटफूटको इतिहासले पुष्टि गरिसकेको छ।
नेपालमा अहिले अस्तित्ववान् तीनवटा शक्ति प्रष्ट रूपमा दृष्टिगोचर भइरहेका छन्। तिनलाई राष्ट्रिय मान्यता प्राप्त भएको छ। ती तीनवटै शक्ति समकालीन नेपालको वास्तविकता हो। तर उदेकलाग्दो पक्ष के छ भने धेरैले कांग्रेस र कम्युनिष्टको तुलनात्मक अध्ययन गर्दा करिब करिब एकैपटक स्थापना भएको पाइन्छ। तर, अहिलेको अर्को शक्तिको बीजारोपण पनि त्यही बेला भएको थियो। त्यो वैकल्पिक शक्ति थियो– नेपाल तराई कांग्रेस। त्यसकै भ्रूणबाट वर्तमानमा मधेसवादले आकार ग्रहण गरेको हो।
नेपाल तराई कांग्रेस
२००७ सालको जहानियाँ राणाशासनविरुद्ध सशस्त्र संघर्ष वा नेपाली कांग्रेसको भाषामा भन्ने हो भने जनक्रान्तिले जुन प्रजातन्त्रको स्थापना गर्यो। त्यसले प्रत्याभूत गरेको वाक स्वतन्त्रताको अधिकारको फलस्वरूप नै नेपाली कांग्रेस दोस्रो पटक विभाजन भएको हो। तर नेपालका इतिहासकारहरूले जहिले पनि मधेसी विषयलाई न्यूनीकरण गरी इतिहासलाई नै तोडमोड गरेको पाइन्छ। कांग्रेसको विभाजनमा मधेसको प्रश्नले अहं भूमिका निर्वाह गरेको थियो भन्ने उल्लेखसम्म पाइन्न।
कांग्रेसले राणा मन्त्रीमण्डलमा सामेल भइसकेपछि मधेसको सवालले स्थान ग्रहण गर्न थालेको थियो। जसको सुरुआत हालको सिराहा र पहिलेको सप्तरी जिल्लाबाट भएको थियो। सिराहाको बरियारपट्टी गाउँपालिका देउरीपट्टीका कुलानन्द झाको अध्यक्षतामा तराई कांग्रेसको स्थापना कल्याणपुर बजारको महादेव मन्दिरको प्रांगणमा २००८ सालमा भएको थियो। कल्याणपुर बजार अहिले नगरपालिकामा रूपान्तरित भएको छ। यो सिराहा जिल्लाको १७ स्थानीय तहमध्ये एक हो। तर नेपालका लेखकहरूले जहिले पनि अध्यक्षको रूपमा बेदानन्द झाको मात्र चर्चा गरेको पाइन्छ।
नेपालमा अहिले तीनवटा शक्ति प्रष्ट रूपमा दृष्टिगोचर भइरहेका छन्। राष्ट्रिय मान्यता प्राप्त तीनवटै शक्ति समकालीन नेपालको वास्तविकता हो।
२००६ सालका भएको नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टीको लगत्तै नेपाल तराई कांग्रेसले आकार ग्रहण गरेको हो। जो २०१५ सालको आमनिर्वाचनमा एउटा सिट नजिते पनि २१ ठाउँमा उम्मेद्वार खडा गरी ३६ हजार एक सय सात मत ल्याएको थियो। त्यतिबेला वेदानन्द झा तराई कांग्रेसका अध्यक्ष थिए, जो कालान्तरमा तराईमधेस इतिहासको नायकबाट तल झरेको पात्र बने।
२०१७ देखि २०४६ सम्मको गतिविधि
२०१७ सालमा राजा महेन्द्रको ‘कू’पश्चात् वेदानन्द झा राजाद्वारा प्रतिपादित निर्दलीय पञ्चायती व्यवस्थामा प्रवेश गरे। अन्य नेता नेपाली कांग्रेसमा फर्के। फलस्वरूप तराई कांग्रेसको अस्तित्व नै समाप्त भयो। तर जुन उद्देश्यका लागि तराई कांग्रेस गठन भएको थियो, त्यसको वैचारिक धारलाई कुनै न कुनै रूपमा जीवन्तता प्रदान गरेको पाइन्छ। एउटै नामका दुई व्यक्तिले यसप्रकारको गतिविधिलाई सञ्चालन गर्दा कहिलेकाँही भ्रमको सिर्जना भएको पाइन्छ। पूर्वमा रघुनाथ ठाकुर मधेसी तथा मध्यपश्चिममा रघुनाथ रायको नाम इतिहासमा लिपिवद्ध भएको पाइन्छ।
मधेसीले ‘मधेस जनक्रान्तिकारी दल’ गठन गरेका थिए भने रघुनाथ रायले ‘मधेसी मोर्चा’ बनाएका थिए। तर पञ्चायती शासकले नेपाली कांग्रेसका नेता सरोज कोइरालालाई मारेझैं सीमावर्ती भारतीय सहर फारविसगनजमा मधेसी तथा भैरहवाको नजिक नौतुनमामा रायलाई हत्या गरेको थियो। पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूले प्रजातान्त्रिक हकका लागि संघर्ष गरिरहेकालाई षडयन्त्रमूलक ढंगबाट हत्या गर्न थाले। त्यसपछि तराई कांग्रेसको विरासत थाम्न जंगिएका कांग्रेसनेता गजेन्द्रनारायण सिंह पञ्चायत प्रवेश गरे। उनले २०४० सालमा स्थापित नेपाली सद्भावना परिषद्को बागडोर सम्हाले।
तराई कांग्रेसको विरासत बोकेको परिषद्
२०१५ सालमा कांग्रेसले सप्तरीबाट तत्कालीन जिल्ला पार्टी सभापति गजेन्द्रनारायण सिंहलाई टिकट दिएन। सो ठाउँमा डा. नागेश्वरप्रसाद सिंहलाई दिएकोमा उनी सभापति सिंह पार्टीको अप्रिय निर्णयबाट अत्यन्तै असन्तुष्ट थिए। तर राजा महेन्द्रको निरंकुशताविरुद्ध संघर्ष गर्नुपर्नेभन्दा अर्को विकल्प थिएन। त्यसैले उनले प्रवासमा रहेर चारतारे झन्डामुनि संघर्षको बाटो रोजे। जनमत संग्रहपश्चात् पञ्चायती व्यवस्थाले आत्मसात गरेको वालिग मताधिकारले सिंंहलाई आकर्षित गर्यो। उनले राजाको सक्रिय नेतृत्व सञ्चालित व्यवस्थामा अन्य कांग्रेसीझैं २०३८ सालमा अभिन्न अंग बन्ने पुगे।
मधेसी मुद्दालाई सतहमा ल्याउन सिंहले खेलेको एक प्रकारको यो कुटनीतिक अभ्यास थियो। जसमा उनी सफल पनि भए। लगत्तै २०४० सालमा बाबा रामजनम तिवारीको नेतृत्वमा स्थापित नेपाली सद्भावना परिषद्को अधिकारिकता आनै नाममा दर्ज गराए। यसरी पञ्चायतकालमा मधेसी हकहितका कुरा गर्ने नेपाली सदभावना परिषद् २०४७ सालमा नेपाल सद्भावना पार्टीको रूपमा राजनीतिक दल बन्यो।
सद्भावनामा फुट
२०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई समर्थन गरेको परिषद्ले २०४७ वैशाख २ गते जनकपुरमा नेपाल सद्भावना पार्टीको रूप धारण गर्यो। यसको टुटफूटको इतिहास कुनै कम्युनिष्ट पार्टीभन्दा कम छैन। २०७४ वैशाख ११ गते राष्ट्रिय जनता पार्टी गठन हुञ्जेलसम्म सद्भावना पार्टी नेपाली राजनीतिको वास्तबिकता थियो। अढाई दसकको जीवन्तकालमा सामाजिक न्यायको प्रश्नलाई तराई कांग्रेसभन्दा पनि अलि परिष्कृत ढंगबाट उजागर गर्ने साहस गरे। करिब दर्जन पटक यसले टुटफूटको इतिहास व्यहोर्नु परे पनि मूल पहिचान भने गुमाएन। यद्यपि राष्ट्रियताको सन्दर्भमा यसले खेलेको भूमिका सधैं विवादास्पद रह्यो। चाहे त्यो महाकाली सन्धि होस् वा सुस्तामहेशपुर।
संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले जीवनकालमा दुईपटक फुट व्यहोर्नु पर्यो। त्यत्तिकै अवधिमा उनका शिष्यहरूले आठ पटकसम्म नेपाल सद्भावना पार्टीलाई चिराचिरा पारे। यसरी विभाजन गर्दा दर्शन, सिद्धान्त र विचारले कहिल्यै प्रमुखता पाएन। पद, पैसा र प्रतिष्ठा नै विभाजनको मुख्य कारक तत्व बनेको थियो। वर्तमान पुस्ताले सिंहलाई जे जति आदर र सम्मान गर्छन् त्यसको मूलकारण उनको निस्वार्थ संघर्षपूर्ण जीवनगाथा नै हो। तराई कांग्रेसको विरासत बोकेको सद्भावना पार्टी र नेसपाको विरासत बोकेको जनता समाजवादी पार्टी उपेन्द्र र राजेन्द्र पक्षले जति जनतालाई दिएका छन्, त्योभन्दा बढी देश र मधेसले उनीहरूलाई भुक्तानी गरेको यथार्थ पनि हृदयंगम गर्नै पर्छ।
मधेस जनविद्रोह
नेपाली धरतीमा २०६४ सालमा मधेसी जनताद्वारा सम्पादित मधेस जनविद्रोह युगान्तकारी घटना थियो। तत्कालीन मधेसी जनअधिकार फोरम तथा हाल जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सम्पन्न उक्त विद्रोहले निर्देशित गरेको सबैभन्दा अहं प्रश्न मधेसवाद नै हो। विद्रोहभन्दा पहिलेको पाँच दसकमा यो शब्दको प्रयोग भएको थिएन। किनकि कुनै पनि सिद्धान्त र विचारको उत्पादन संघर्षको भठ्ठीबाट हुन्छ भन्ने सार्वभौम सत्यलाई शोषित पीडित नेपाली मधेसी समाजले पुष्टि गरेको थियो। यो कुरा नेपाली शासक वर्गका लागि बाध्यतावश सुपाच्य भए पनि पडोसी मित्रराष्ट्र भारतका लागि हुन सकेन। उसले नब्बेको दसकमा कांग्रेसलाई सन्तुलनमा ल्याउन सद्भावना पार्टीलाई जसरी मलजल गरे, ठीक त्यसरी नै मजफो नेपालको बढ्दो लोकप्रियतामा लगाम लगाउन तमलोपाको सिर्जना गर्यो। यहीबाट मजोफ र तमलोपामा टुटफूटको प्रक्रियाको थालनी भयो। प्रमुख कारण मनोगत भए पनि बाहिरको प्रभावले प्रचूर मलजल गरेको पाइन्छ।
मजफो नेपालमा फुट
मधेस जनविद्रोहको राप र तापमा सिर्जित मधेसी जनअधिकार फोरम नेपालले राजनीतिक रंगमा औपचारिक रूपमा रंगिनुभन्दा पहिले नै भाग्यनाथ गुप्ता र किशोर विश्वासले ठूलो धक्का मार्न प्रयास गरे जो असफल सावित भए। चोइटिएको मधेसी जनअधिकार फोरम, मधेस अद्याबधि भए पनि पहिचानविहीन छन्। तर पहिलो संविधान सभामा चौथो शक्तिको रूपमा उदय भएका फोरमलाई देशी तथा विदेशी शक्तिहरूले यसरी विभाजित गरे कि संविधान सभामा एकताका निर्णायक रहेका उपेन्द्र यादव हेर्दा हेर्दै शक्तिविहीन बने।
फोरम (लोकतान्त्रिक) फोरम (गणतान्त्रिक) जस्ता शब्दावली राखेर विभक्त फोरम मधेसले मागेको अधिकारलाई प्रथम संविधान सभाबाट प्रत्याभूत गराउन सकेनन्। फोरमका विभिन्न घटक तथा तराई मधेस लोकतान्त्रिक पार्टीका पनि विभिन्न चिरा अलग अलग हैसियत बन्यो। दोस्रो संविधान सभामा सहभागी भएपछि स्वाभाविक रूपमा नचिताएको परिणाम व्यहोर्नु पर्यो। जो संघीय शासन प्रणालीको प्रारम्भिक रेखा राम्रोसँग कोर्न सकेनन्। अन्त्यमा अहिले जसपाका उपेन्द्र र राजेन्द्र पक्ष जेसुकै नामले जनतामा जाउन् उनीहरूको हविगत त्यही हुने हो, जो दोस्रो संविधानसभाताका भएको थियो। यो दुवै पक्षलाई हेक्का होस्। त्यसैले मधेसी समुदायको मनोविज्ञान के छ भने एकता वा संयुक्त मोर्चाको विकल्प छैन।
प्रतिक्रिया दिनुहोस !