सभ्यताको तराजुमा सत्यको साबिती
एउटै मान्यतालाई सनातन सत्य मान्नु भनेको प्रगतिमा अवरोध गर्नु हो
स्वनामधन्य गुरुको प्रवचन सुन्न सयौं विद्वान्, व्यापारी, राजनीतिक नेता र भारी तत्वद्रष्टा दार्शनिक सबै उपस्थित थिए। गुरुले दुई घण्टासम्म धर्म, सत्य, सदाचार, जीवनको लक्ष्य र दुःखी मानवको कल्याणबारे धाराप्रवाह भाषण गरे। उनको भाषण सुनेर उपस्थित सबै धन्य भएर फर्के। राति अबेर गुरुलाई सम्बोधन गर्दै उनका मित्रले भने, ‘आज तिमीले सबैको मन जित्यौ तर के तिमीले जे बोल्यौ त्यो सत्य थियो ?’ केही समय शान्त भएर गहन सोचमा डुबेपछि गुरुले भने, ‘वास्तवमा मेरो भाषण एक प्रवञ्चना मात्र हो।’
सत्य के हो ? सायद आजसम्म सोधिएका लाखौं करोडौं प्रश्नमध्ये सबैभन्दा ज्यादा बनावटी र आडम्बरी उत्तर यही प्रश्नमा दिइएको छ। सबैले आआफ्नो संस्कृति, समाज, धर्म र सदाचारले जे सिकाएको हुन्छ, त्यही उत्तर दिने हो। वाक्चातुर्यमा पारंगत व्यक्ति आफ्नो वाक्छल, मिष्टवचन र स्वादिष्ट भावव्यञ्जनाको माध्यमबाट मानिसको मनलाई छल्न र झुक्याउन सफल हुन्छ। चुरो कुरा यत्ति मात्र हो। मनुष्यले आफ्नो हृदयले ठान्ने र सभ्यताले जान्न सिकाएको सत्यमा फरक छ। आत्मकथा लेखेर ख्याति कमाएका महाशयलाई पत्रकारले सोधे, ‘के तपाईंले तपाईंकै बारेमा लेखेका कुरा सत्य हुन् ?’ लेखक असामञ्जसमा परे। उनले चलाखीपूर्ण र रकमी प्रतिप्रश्न गरे, ‘तपाईंलाई कस्तो लाग्छ ?’ वास्तवमा आफ्नो जीवनका घटना, चाहना, वासना र कर्मबारे सर्वांग सत्य बोल्न र लेख्न गाह्रो छ।
मोहनदास करमचन्द गान्धीका पिता सिकिस्त बिरामी थिए। रात्रिको समय, उनी सेवामा थिए। चञ्चल मन भने पत्नीतर्फ आकर्षित भइरहेको थियो। काकाले पालो दिएपछि उनी शयनकक्षमा पसे। श्रीमती गहन निद्रामा थिइन्। स्त्रीप्रसंगको इरादाले उनले पत्नी कस्तुरबालाई जगाए। त्यसै बखतमा बाहिरबाट कसैले सुनायो, बाबुको निधन भइसकेको छ भनेर। त्यस कामुक सन्दर्भमा उनको आलोचना भयो। बीपी कोइरालाले राजा महेन्द्रको सामुन्नेमै ‘सरकार प्रजातन्त्रवादी होइन’ भनेर गरेको सत्यको प्रकाशन महंगो पर्यो। दक्ष प्रजापतिले छोरी सतीका पति महादेवलाई नांगै विचरण गर्दछ, जहाँ मन लाग्यो जान्छ, पहिरन राम्रो छैन, फोहोरी छ जस्ता जुन कुरा भनेका थिए ती वस्तुतः सत्य नै थिए। तर सतीदेवीलाई त्यो सह्य भएन। सम्मान गर्नुपर्ने ज्वाइँलाई सत्य वचनले पनि निन्दा गर्नु हुँदैन भनेर सभ्यताले निर्धारण गरेको नियम बिर्सनु दक्षको गल्ती थियो।
सत्य भनिएको सत्यप्रति सन्देह गर्न नपाउने हो भने न त त्यसको सत्यापन नै हुन्छ न त असत्यको बोध हुन पाउँछ।
भनिन्छ, मनपरी गर्नु हुँदैन। मनपरीको अर्थ हो मन परेको कुरा। मन पर्यो भन्दैमा बोल्नु, आफ्नो बनाउनु, भोग गर्नु र बोल्नु वा लेख्नु हुँदैन। अतः समग्र आचरणलाई सभ्यतामा विसर्जन गर्नु नै समाजले निर्धारण गरेको सत्य हो। वास्तविक सत्य त त्यो हो जो कहिल्यै साकार हुँदैन। केही छ जो गुमेको छ र जसलाई सभ्यताको महाप्रपञ्चले व्यवधान गरेर थुनेको छ। त्यसै हुनाले त जति नै समृद्ध र भौतिक रूपमा सुखी हुँदा पनि मनुष्यको मनमा चयन छैन। सायद यही लाचारीमा मनुष्यभित्रको मणि हराएको छ। चाहेको कुरा बोल्नु हुँदैन, मन परेको कुरा पाउनु हुँदैन, हृदयभित्रको मणि बाहिर झिकेर देखाउनु हुँदैन। एउटा सत्य छ, जसलाई पूर्णता दिन सदाचार र नैतिक नियमले रोक्दछ। त्यसैले त मनुष्यले बोलेर या लेखेर सकेपछि सोच्दछ, के जुन सत्य बोल्नु थियो त्यही बोलियो ? के जुन सत्य लेख्नु थियो त्यही लेखियो ? जति खुल्ला लेखकले पनि सभ्यता, समाज र शासनले तोकेको परिधिभित्र लेख्ने हो। परिधिको पर्खाल भत्काउने धेरै प्रताडित भए र अझै हुँदैछन्। सदाचार, नीतिशास्त्र र कानुनले तोकेको परिधि सत्यको उद्घाटनका लागि अत्यन्तै साँघुरो छ। आचारशास्त्र, धर्म र नैतिकता निषेधका उपज हुन्। त्यही निषेधले मनुष्यले ठहर गरेको सत्यलाई वाधित गरेर राखेको हुन्छ। पूर्वकालमा केही मुनिहरूले मौनव्रत लिनुको कारण त्यही निषेध हो। जब आफूले सत्य ठानेको कुरा उजागर गर्न पाइँदैन भने किन बोल्ने ?
सभ्यताले तोकेको आदर्श र मनुष्यको इच्छाबीचको संग्राम नै मानसिक अशान्तिको मूल कारण हो। यता मन अशान्त छ, भित्र आगो बलिरहेको छ। उता योग भन्छ, ‘चञ्चल चित्तवृत्तिलाई निरोध गर, जैविक इच्छा र कामनाहरू झूटा हुन्, आफ्नो अस्तित्वलाई ईश्वरमा समर्पण गर।’ चित्तको दाम्लोलाई जति कसिलो बनाउन सक्यो त्यति सभ्य। प्रश्नहीन, सन्देहहीन र तर्कहीन रहने शिक्षा नै सभ्यताले प्रदत्त गरेको सबैभन्दा दुर्दान्त उपहार हो। भागवतमा कृष्ण भन्छन्, ‘यही नै सदाचार हो, अर्को उपाय छैन।’
सत्य सदैव सत्य नै हुन्छ, किन्तु प्रायः तिक्त हुने हुँदा सुन्नमा मनोहर लाग्दैन। एउटा व्यक्तिको निजी सत्य र समाजमा प्रकट हुने सत्यमा फरक छ। समूहमा मिसिनासाथ व्यक्तिको अस्तित्व सामाजिक अस्तित्वमा विलीन हुन्छ। स्वयंले मानेको सत्यलाई सामाजिक सदाचार र आदर्शमा समर्पण नै सभ्यताको मर्म हो। मनस्थितिलाई परिस्थिति अनुकूल बनाउनु नै मानवीय कर्तव्य हो। मनुष्यको रुचि र निजले मानेको सत्य समाज, कानुन, संस्कृति र निर्धारित नैतिक नियमभन्दा फरक हुन गयो भने ऊ असत्यको अनुयायी मानिन्छ।
सुकरातको सत्य तत्कालीन समाजले निर्धारण गरेको नियमविरुद्ध थियो। सतीप्रथाको समयमा पतिको मृत शरीरसँग सहगमन नगर्ने नारीहरू खिस्याउने र निच्याउने पात्र बन्दथे। साडी छाडेर कुर्ता सुरुवाल लगाउन सुरु गर्ने महिलालाई छिल्लिएको आरोप लगाइयो। कुर्ता सुरुवाल त्यागेर जिन्स लाउने महिलाको ‘उद्दण्डता’ देखेर समाज क्षुब्ध भएको धेरै वर्ष बितेको छैन। फेरि हाफपाइन्ट लाउने महिलाले निर्लज्जता प्रदर्शन गरेको आरोप खेपे। केही हिम्मती महिलाले सामाजिक प्रताडना सहेर गरेको ‘पहिरन क्रान्ति’को फाइदा आज सबैले उठाइरहेका छन्। अहिले गर्भवती महिलाले गरेको पेटको प्रदर्शन र छोटो या अल्पवस्त्र पहिरनको आलोचना हुने गरेको छ। अश्लीलता सापेक्ष कुरा हो।
कुनै समय थियो, जब जेठाजुलाई छुनुमा परहेज थियो। भान्सामा खाना पकाउने र खुवाउने जवान महिलाले चोलो लगाउन बन्देज थियो। एकसरो धोती मात्र पहिरेर कति लाज छोपियो होला ? त्यो श्लीलता थियो किनकि मानिन्थ्यो। स्वतन्त्र समाजमा कस्तो पहिरन अपनाउने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रताको विषय हो। युवक युवतीमा शरीरमा सुन्दर ठानिएका अंगहरू देखाउन खोज्ने प्रवृत्ति अकस्मात हालै मात्र उदय भएको होइन। हामीले अत्यन्तै मर्यादित मानेको पौराणिक कालमा त्यो प्रवृत्ति मुखर थियो। पुरुषप्रधान समाजको विकाससँगै नारीलाई पुरुषको सम्पत्ति मान्न थालेपछि अन्य सम्पत्ति लुकाएजस्तै नारीलाई पनि लुकाउन थालिएको हो। नारी जातिले कसैको भड्काउको प्रभावमा नभई आफ्नो इच्छाबाट गर्ने क्रियाकलापलाई स्वतन्त्र मानवको गतिविधि मान्नुपर्ने हुन्छ।
यस्ता कुरामा सत्य के हो र नैतिक पक्ष के हो भनेर परिभाषा गर्न अत्यन्तै कठिन छ। आजको परिस्थितिमा मेरा यिनै शब्दहरू नै विवादास्पद मानिन सक्छन्। परिवर्तनप्रति उत्कट समर्थन गर्ने व्यक्तिले पनि सामाजिक परिवर्तन भरसक परिवार र कुटुम्बबाट सुरु नहोस् भन्ने चाहेको देखिन्छ। संस्कृति र रीतिरिवाज यथास्थितिवादी हुने हुँदा पहिलो क्रान्तिकारी बन्ने हिम्मत थोरैमा मात्र हुन्छ। वैज्ञानिक र गणितीय सत्य बाहेकको सत्य सधैं सापेक्ष हुन्छ। मानव कहिल्यै पनि पूर्ण स्वतन्त्र हुन पाउने सम्भावना छैन।
धर्म, संस्कृति, परिवार, कुटुम्ब, समाज र राष्ट्ररूपी सभ्यताका अवयवभन्दा बाहिर मानवजीवन सम्भव छैन। तथापि व्यक्तिको जीवन जति अर्को व्यक्ति, परिवार या राज्यको नियन्त्रणमा हुन्छ, स्वतन्त्रता पनि त्यही मात्रामा कुण्ठित हुन्छ। लाओत्सु भन्ने गर्दथे, यथार्थ र शाश्वत सत्यलाई अभिव्यक्त गर्न सकिने शब्द नै छैन। वास्तवमा सत्य थाहा पाएँ भन्ने व्यक्तिभन्दा सत्यको खोजी गर्दैछु भन्ने व्यक्ति सच्चा हो। एउटा मान्यतालाई सनातन सत्य मान्नु भनेको प्रगतिमा अवरोध गर्नु हो। सत्य भनिएको सत्यप्रति सन्देह गर्न नपाउने हो भने न त त्यसको सत्यापन नै हुन्छ न त असत्यको बोध हुन पाउँछ।
एक जमानामा हिन्दू विधानहरू मनुस्मृतिलाई सत्य मानेर निर्माण गरिन्थे। छुवाछूत र निर्मम विभेदमा आधारित त्यो स्मृति अहिले असत्य साबित भइसकेको छ। ३०० ईस्वीतिरको युरोपमा क्याथोलिक चर्चले शरीर अभिसाप हो र जैविक आनन्द अनिष्ट हो भनेर प्रचार गर्न थाल्यो। तर झन्डै त्यही समयमा पूर्वका ऋषि वात्सायनले प्रेमको गाथा रचेका थिए। अरस्तु आफ्नो समयका अत्यन्तै ठूला विद्वान् थिए। तर उनी समाज चल्न दासप्रथा आवश्यक छ भन्ने विश्वास गर्दथे। जो आज असत्य प्रमाणित भइसक्यो। कहिलेकाहीँ सत्य एउटा सर्वमान्य अनैतिकता बनिदिन्छ। दमन गर्ने र सहने दुबै पक्षले दमनलाई स्वाभाविक मान्नु नै सर्वमान्य अनैतिकता हो। त्यस्तो अवस्थामा सत्यको दमन नैतिक जीवनको सार बनिदिन्छ।
जनजीवन परिचालन गर्न अपनाइने विधिहरू निर्माण हुँदै जाने कुरा हुन्। सामाजिक सत्य शाश्वत नभई निर्मित सत्य हो। जीवनको अस्तित्वको सत्य त अव्यक्त र शब्दातीत छ। व्यक्तिले मानेको निजी सत्यलाई सभ्यता र सदाचारको बन्धनले कसेर राखेको छ। बुद्धका चार आर्यसत्य निर्मित छन्। चञ्चल चित्तलाई दमन गर्दै पञ्चशील र सम्यक अष्टांगिक मार्ग उनले निर्माण गरेका सत्य हुन्। कृष्ण पनि चञ्चल मनलाई अभ्यासको माध्यमबाट दमन गर्ने निर्देशन दिन्छन्। सभ्य हुनु भनेको निर्मित सत्यको पालना गर्नु हो। समयानुकूल नयाँ सत्यको निर्माण नै सभ्यताको अविरल यात्रा हो।
कहिलेकाहीँ अस्थिर मनभित्रको भावना बाहिर पोखिन पुग्छ। केही समययता राजनीतिक नेताहरूले मन खोलेर आरोप प्रत्यारोप गरिरहेका छन्। चञ्चल चित्तलाई नियन्त्रण गर्न सकेको भए अनेकौं कुरा छताछुल्ल हुने थिएनन्। तथापि ती आरोपको खण्डन कतैबाट पनि भएन। साह्रै मन दुःखाए तापनि खण्डनभन्दा प्रत्यारोपको बाटो अपनाउनु सत्यको साबिती हो। सभ्य भएर जिउन बहानाबाजी जान्नुपर्छ। त्यही बहानाबाजी अभ्यासपछि स्वभाव बन्छ। अन्तःकरणले स्वीकार नगरे तापनि सामाजिक जीवनको अविचलित यात्रालाई स्वीकार गर्नु नै सभ्यता हो। सायद त्यसै हुनाले ऋषिमुनिहरूले जीवनलाई एक कारागार र त्यस्तो जीवनबाट छुट्कारा पाउनुलाई मुक्ति भनेका हुन्।