चरेससहित भारतीय नागरिक पक्राउ
परासी : १० किलो चरेससहित एक भारतीय नागरिकलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा प्रतापपुर–४ स्थित बर्दघाटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज थाना बर्गदवा, ग्रामपञ्चायत भगतपुरा बस्ने ३७ वर्षीय राजेश यादव छन् । बाटोमा हिँड्दै गरेका यादवमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा चरेस बरामद भएको लामाले जानकारी दिए ।
इँट्टा आकारको २६ वटा प्याकेट बनाएर पत्रिकाले बेरेको अवस्थामा यादवको झोलाबाट चरेस बरामद गरेको लामाले बताए । आफूलाई भारतकै एक व्यक्तिले बर्दघाटे पठाएको र त्यहाँ रहेका एक व्यक्तिले झोला दिएको यादवलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।
आफूलाई झोला दिने ती व्यक्ति कारमा धार्दिङस्थित घर आएको यादवले बताएका छन् । कारको नम्बर भने आफूलाई जानकारी नभएको यादवलाई उद्दृतगर्दै प्रहरीले जनाएको छ । यादवलाई आवश्यक अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।