म्याग्दीको राहुघाट नदी थुनियो
बेनी : म्याग्दीको राहुघाट नदी थुनिएको छ । रघुगंगा गाउँपालिकाको ६ मा पर्ने रायखोर र मुलपानीको बीचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ ।
रघुगंगा गाउँपालिकाको ६ र ७ नम्बर वडाको गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीय प्रदिप मगरले जानकारी दिए । 'करिब ५०० मिटर लामो र ५० फिट भन्दा बढी गहिरो तलाउ बनेको छ,' उनले भने ‘निरन्तर पहिरो खसिरहेको छ ।'
राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ओभरफ्लो हुन थालेपनि जोखिम कायमै रहेको घटनास्थलमा रहेका मगरले बताए ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए । राहुघाटको तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको बिद्युत गृह, ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन छन् ।
बेनी नगरपालिका-९ र रघुगंगा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरिक्षणका लागि पठाएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको बताए ।