देशकै पुरानो संस्कृत विद्यालयको भोजनलय भवन पुनर्निर्माण
काठमाडौँः नेपालकै पुरानो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानी महोत्तरीको जीर्ण भोजनालय भवन नेपाली सेनाले पूनर्निर्माण गरेको छ ।
एक महिना लगाएर सेनाले सुविधा सम्पन्न भान्छा घरको निर्माण गरेको हो । भान्छा घरको नाम ‘अन्नपूर्ण भोजनालय’ राखिएको छ । ३०३ वर्ष पहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको स्थापना गरिएको थियो । १७७५ सालमा रामलला दास (तस्मैया बाबा)का शीष्य जयकृष्ण दासले संस्कृत पाठशालाको नाममा विद्यालयको स्थापना गरेका हुन्।
जलेश्वरस्थित नेपाली सेनाको रणभीम गण प्रकौलीले भोजनालय भवन बनाएको हो । मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले रिबन काटेर भोजनालयको उद्घाटन गरेका छन् ।
‘देशभरी शिक्षाको ज्योति फैलाएको विद्यालयको विकासमा नेपाली सेनाले गरेको योग्दान सराहनीय छ,’उनले भने,‘शिक्षा मन्त्रालयले विद्यालयको उन्नति, प्रगति र संरक्षणका लागि योजना बनाएर विशेष बजेट विनियोजन गर्न जरुरी छ ।’
५० जना बटुकको खाना पकाउने र खाने क्षमता भएको भोजनालय निर्माणले विद्यालयको उत्थानमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले बताए ।
शिक्षा विभागको तथ्याङ्कमा यो विद्यालयको स्थापना वि.सं. १८६८ मा भएको उल्लेख छ। १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो। १९१० सालमा जंगबहादुर राणाले दरबार हाईस्कुल खोलेका थिए।
२०७८ साउन ९ गते अन्नपूर्ण पोस्ट्ले देशकै पहिलो विद्यालय बारे विशेष खोजी समाचार प्रकाशन गरेको थियो । नेपालको ६ प्रदेश, २७ जिल्लाका १ सय ५० विद्यार्थी गुरुकुलमा पढ्छन्। मटिहानी बाहिरका ६० जना छन्। उनीहरू स्कुलकै होस्टलमा बस्ने गरेका छन् ।