एउटा यस्तो जुम्ल्याहा
झापा दमककी माया (नाम परिवर्तन) ३२ वर्षको उमेरमा दोस्रो पटक गर्भवती भइन्। उनको गर्भको कुनै योजना त थिएन तर पहिलो सन्तान हुर्किसकेकाले गर्भ रहेकोमा त्यो दम्पत्ति खुसी नै भए। सिटौलाले गर्भ रहेको जस्तो लाग्नेबित्तिकै अर्थात् महिनाबारी रोकिनेबित्तिकै दमककै अस्पतालमा प्रसुति तथा स्त्रीरोग चिकित्सकसँग परीक्षण गराइन्। चिकित्सकले सुझाएका केही परीक्षण पनि गराइन् तर चिकित्सकले प्रेष्क्राइब गरेको ‘फोलिक एसिड’ औषधि चाहिँ सेवन गर्न सकिनन्। उनले चार महिना पुगेपछि मात्र अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) गराइन्।
अल्ट्रासाउण्डमा जुम्ल्याहा बच्चा रहेको, उनीहरूको शालनाल एउटै भएको, पानीको मात्रा बढी (पोलीहाड्रामिनस्) भएको र दोस्रो बच्चामा समस्या (घाँटी र टाउको सुन्निएर तथा पानी भरिएर छुट्याउन नसकिने) रहेको देखायो। उनलाई नियमित परीक्षणको चिकित्सकले त्यो अल्ट्रासाउण्डको रिपोर्टका आधारमा गर्भको निरन्तरता नगर्न सल्लाह दिए। तर गर्भको एउटा बच्चाको बृद्धि सामान्य र ठिक रहेकाले त्यो दम्पत्तिले गर्भलाई निरन्तरता दिने निधो गरे। स्थानीय विज्ञ चिकित्सकले गर्भ निरन्तरता दिने भए धरान वा विराटनगरका विज्ञहरूसँग सल्लाह गर्न र उपयुक्त निर्णय लिन सुझाए।
विराटनगरस्थित शिक्षण अस्पतालमा पाँचौं महिनादेखि सातौं महिना पुगेर आठौं महिनाको सुरुआत सम्ममा मायाले चार पटक परीक्षण गराइन्। उनको परीक्षणका क्रममा गरिएको तीन पटकसम्मको अल्ट्रासाउण्डमा जुम्ल्याहामध्ये एक बच्चाको वृद्धि सन्तोषजनक र अर्को बच्चा मृत भएको देखाएको छ। चिकित्सकहरूले अर्को बच्चा पनि निकै जोखिममा रहेको बताए। विराटनगरको तेस्रो परीक्षणसम्म अर्थात् गर्भको ६ महिनासम्म पनि सो बच्चा सकुशल नै रहेकाले राम्रै जन्मिने भन्ने आशा परिवार र चिकित्सकसमेतको थियो। तर चौथौ परीक्षणमा सबैको आशामा पानी फेरियो। चौथो पटक सो शिक्षण अस्पतालमा गरेको अल्ट्रासाउण्डमा दोस्रो असमान्य र मृत बच्चासँगै पहिलो बच्चाको पनि निधन भएछ। त्यसपछि मृत बच्चाहरू निकाल्नुको कुनै विकल्प थिएन।
शिक्षण अस्पतालले सोका लागि भर्ना पनि गरे। तर आशाको तान्द्रो चुडिएपछि सो अस्पतालमा शल्यक्रिया गर्न दम्पत्ति तयार भएनन्। परिवारले धेरैतिर सरसल्लाह गरेर मोरङ सहकारी अस्पतालमा ल्याए। शल्यक्रिया गर्दा उनको ‘अकार्डियस् माईलिसेफालस्’ अर्थात् उनको गर्भमा एउटा सामान्य बच्चासँगै अर्को टाउको नभएको खुट्टाहरू र जिउ जस्तो मात्र बच्चा रहेको पाएँ। सामान्य जस्तो देखिने बच्चा पनि मृत भइसकेको थियो। अकार्डियस् माईलिसेफालस् एउटा बिरलै हुने जुम्ल्याहाको प्रकार हो। ३५ हजार गर्भहरूमा एक गर्भवतीमा यस्तो समस्या आउने अध्ययनहरूले देखाएको छ। यो किन हुन्छ भन्ने तथ्य अहिलेसम्मको अध्ययनले प्रष्ट बनाउन सकेको छैन। यस्तो अवस्था मोनोकोरियोनिक जुम्ल्याहा अर्थात् एउटै प्लासेन्टा (सालनाल) भएको एउटै निषेचित अण्डबाट भएको जुम्ल्याहाहरूमा मात्र यस्तो हुने देखिन्छ।
यस्तो किसिमको जुम्ल्याहामा एउटा भु्रणको मुटुको विकास हुन सक्दैन र एउटै मुटुले दुवै भु्रणलाई रक्तसञ्चार गराउनुपर्ने हुन्छ। त्यसका लागि दुवै भु्रणको रक्तधमनीहरूको अस्वाभाविक मिलन (सन्ट) स्थापित हुन्छ। तर पनि मुटु नभएको भु्रणमा अक्सिजनको मात्रा नपुगेकाले महत्वपूर्ण अंगहरू (टाउको, मष्तिस्कसमेत) को समेत विकास हुन सक्दैनन्। यस अवस्थामा मुटु नभएको भु्रण (बच्चा) लाई बचाउन सकिँदैन। अर्को मुटु भएको भु्रण चाहिँ कुनै उपचारबिनै पनि केही बाँचेको पाइएको छ। अस्वाभिकरूमिा जोडिएको रक्तधमनी (अम्बेलिकल भेसल) लाई बाध्न सकेको अवस्थामा मुटु भएको भु्रणलाई बचाउन सक्ने सम्भावना ९० प्रतिसत हुन्छन्, यद्दपि यो बाध्न सक्ने प्रबृद्धिको विकास राम्रोसंग भई सकेको चाहि छैन।
अकार्डियस् माईलिसेफालस् जुम्लियाहाको कारणहरू थाहा पाउन सकिएके छैन। तर यो मोनोकोरियोनिक जम्ल्याहा अर्थात एउटै प्लासेन्टा (सालनाल) भएको एउटै निषेचित अण्डबाट भएको जुम्ल्याहाहरूमा मात्र हुने भएकाले जुम्लियाहा गर्भ नरहने हो भने यस्तो अवस्था नआउने निश्चित छ। हुनत जुम्ल्याहा गर्भ रहनुका कारणहरू पनि पूर्णरूपले स्थापित छैनन्। अध्ययनहरूले केही तथ्यहरू प्रकाशमा ल्याएका छन्। जुम्ल्याहा एउटै वंशज र विशेष जातिहरूमा बढी हुने गरेको पाइए पनि यिनीहरूमा केही गर्न सकिँदैन। जुम्ल्याहा गर्भ रहनुको अर्को महत्वपूर्ण कारण ‘गर्भवतीको उमेर’ रहने गरेको अध्ययनहरूले देखाएको छ।
३० वर्ष पार गरिसकेको र पहिले गर्भ रहिसकेका महिलाहरू फेरि गर्भवती हुँदा जुम्ल्याहा गर्भ रहने सम्भावना रहने गरेको पाइएको छ।
अमेरिकन महिलाहरूमा गरिएको एक अध्ययनले ३५ वर्ष पार गरेका महिला गर्भवती हुँदा जुम्ल्याहा, तिम्ल्याहाभन्दा बढी हुने गरेको देखाएको छ। यसबाहेक निःसन्तानका उपचार गराइरहेका महिलाहरूमा पनि जुम्ल्याहा हुने सम्भावना बढी हुन्छन्। स्वास्थ्य वृक्षले मात्र स्वादिष्ट फल दिएजस्तै राम्रो सन्तानका लागि गर्भवतीको स्वास्थ्य राम्रो हुन अति आवश्यक हुन्छ। गर्भवतीहरूको उमेर २० वर्ष पार गरिसकेको तर ३० वर्ष नकाटेको हुनु, स्वस्थ्य शरीर र तनावरहित वातावरणमा गर्भवती हुनुपर्छ। त्यसो हुँदा गर्भको जटिलता कम हुने, आमा र बच्चाको स्वास्थ्य राम्रो हुने र सुत्केरी अवस्थामा आउने जटिलता पनि कम हुन्छ। पाको उमेरमा रहेको गर्भमा त्यसै जटिलता आउने सम्भावना बढी हुन्छ, अझ जुम्ल्याहा भए जटिलताहरू थपिने हुन्छ।
गर्भ रहनेबित्तिकै परीक्षण गराएर मात्रै हुँदैन, चिकित्सकहरूले सुझाएका परीक्षणहरू सबै समयमै गर्ने, पे्रष्काइभ गरिएका औषधिहरू नियमित सेवन गर्ने र नियमित परीक्षण (फलोअप) मा बस्नुपर्छ। यसबाहेक खानेकुरा, व्यायाम आदिमा ध्यान पुर्याउँदै मानसिक तनाव र प्रदूषणबाट पनि गर्भवतीहरू जोगिनु पर्छ। सबै कुरामा ध्यान पुर्याउँदा पुर्याउँदै पनि कहिलेकाँही सोचे अनुसार नहँुदो रहेछ। यस अवस्थामा पनि आत्तिनु हुँदैन। आफ्नो जिद्दीमा अडिनुभन्दा पनि विज्ञको सुझावकै आधारमा निर्णय लिनु बुद्धिमानी हुन्छ।
- लेखक प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन्।