म्याग्दीमा किन थुनिन्छन् नदी ?

म्याग्दीमा किन थुनिन्छन् नदी ?

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको राहुघाट नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाई र १० मिटर गहिरो तलाउ बनेको छ । तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगंगा नदी पुरानै स्वरुपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गत साउन ८ गते धवलागिरी गाउँपालिका–१ खास्टा भन्ने ठाउँमा पहिरो खसेर म्याग्दी नदीको सहायक गुर्जा खोला थुनिदा बनेको तलाउ अझै छ । रघुगंगा र गुर्जाको तलाउ एकै पटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

कालीगण्डकी, म्याग्दी र रघुगंगा जलाधार क्षेत्रमा बिभाजित म्याग्दीमा बर्षेनी पहिरोले नदी थुनिने, बाढी आउने र कटान गर्ने समस्या छ । म्याग्दी समेत कार्यक्षेत्र भएको भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्बतका प्रमुख दिवाकर पौडेल कमजोर भूगोल र भिरालो जमिन भएको म्याग्दीमा गहिरिएर बगेका नदी थुनिने जोखिम धेरै भएको बताउँछन् ।  

‘खोलाभन्दा माथिल्लो क्षेत्रको जमिन धेरै भिरालो मात्र होइन पहाडको चट्टान र माटो कमजोर छ,’ उनले भने ‘अत्याधिक वर्षा, भूकम्प, विकास निर्माण जस्ता प्राकृतिक र मानवीय कारणले जमिन असन्तुलित भएर पहिरो खस्दा साँघुरो भइ गहिरिएका खोला थुनिएका हुन् ।’ 

म्याग्दीमा बर्खा र हिउँद याम दुबै समयमा पहाड भत्किएर तथा पहिरो खसेर नदी थुनिएको इतिहाँस छ । वर्खामा बर्षातको कारण खसेको पहिरोले नदी थुनिने गर्छ । हिउँदमा भूकम्प र आफै पनि सुख्खा पहिरो गएको एक दशकभन्दा बढी समय म्याग्दीमा बसेर काम गरेका भू–संरक्षण अधिकृत पौडेलले बताए । 

नदी थुनिएर म्याग्दीमा भएको क्षति  

वि.स.२०७२ जेठमा बैसरी, २०५६ असोजमा भुरुङ्ग–तातोपानी, २०४५ असोजमा छ्यारछ्यारे, २०४२ मा दाना, २०७३ मा बेगखोला, २०६८ मा पाखापानीको औल, २०७५ मा मराङखोला र रघुगंगा, २०७७ मा अन्नपूर्णको रुप्से, मंगलाको हिलवाङखोला थुनिदाँ ठूलो जनधनको क्षति भएको थियो । 

भूकम्पले चर्किएको अन्नपूर्ण गाउँपालिकाको काफलडाडाँस्थित पहाडसहित खसेको पहिरोले ३० घरधुरीको बसोबास भएको रघुगंगा गाउँपालिकाको बैसरी पुरिनुका साथै कालीगण्डकी नदी १८ घण्टा थुनिएको थियो । म्याग्दी नदीलाई करिब एक घण्टा थुनेको र सिंगो बस्तीनै पुरेको छ्यारछ्यारेको पहिरोले १०४ जनाको ज्यान लिएको थियो । 

बेगखोला थुनिएर आएको बाढीले बि.स. २०७३ भदौमा एकजना मानिस, ११ वटा घर, झोलुङ्गे पुल र बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको थियो । मालिका गाउँपालिकाको रितुङ, रघुगंगाको घारखोला, अन्नपूर्णको निलगिरी, घलेम्दी, दोवाखोला पनि थुनिने गर्छन् ।

कमजोर भूबनोट र भिरालो जमिन भएको ठाउँमा जलबिद्युत आयोजना निर्माणका लागि गरिएको बलास्टिङ र सडक निर्माणका क्रममा डोजर चलाउँदा हुने कम्पनले जमिनलाई हलचल गराएको छ । 

म्याग्दीका अधिकांश बस्ती नदीको तटीय क्षेत्र र पहाडको शिरमा छन् । सहायक नदीमा आउने बाढी म्याग्दी र कालीगण्डकी नदीमा मिसिन्छ । २०७५ भदौ अन्तिममा बगरखोला भन्ने ठाउँमा खसेको पहिरोका कारण राहुघाट नदी थुनिएर आएको बाढीले झोलुङ्गे पुल, घ्याँसीखर्कको रितुङ माबिको भवन, केही घर, गलेश्वर र बेनी बजार संरक्षणका लागि निर्माण भएको तटबन्ध बगाएको थियो ।  

२०७७ को साउनमा अन्नपूर्णको दाना स्थित रुप्से खोलामा पहिरो खसेपछि आएको बाढीले रुप्सेको एउटा रिसोर्ट, एक वटा एक्साभेटर, बस बगाउनुका साथै निर्माणाधिन मोटरेबल पुल, पर्यटकीय स्थल रुप्से झरना र संसारकै गहिरो अन्धगल्छीलाई तहसनहस पारेको थियो ।  

सदरमुकाम बेनी, मालिकाको दरबाङ, मंगलाको बाबियाचौर, सिंगा, भूरुङ्ग तातोपानी, पोखरेबगर, तिप्ल्याङ, घुमाउने ताल, राहुघाट, घ्याँसीखर्कका बस्तीमा बर्षेनी कटान हुने गरेको छ । बस्तीसँगै जलबिद्युत आयोजनाका बाँध, सिचाई आयोजनाका नहर, सडक, मोटरेबल पुल र झोलुङ्गे पुलमा बाढीले क्षति गरेको छ । 

भू–तथा जलाधार संरक्षण कार्यलय पर्वतको बेनी स्थित सम्पर्क इकाईका प्रमुख सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रले संरक्षण र वातावरणमैत्री बिकास, तटीय क्षेत्रमा नदी नियन्त्रणका लागि संरचना निर्माण र सुरक्षित ठाउँमा बस्ती बिकास गर्नुपर्ने बताउँछन् । 

‘भिरालो जमिन भएको र नदी किनारको तटीय क्षेत्रको बस्ती जोखिममा छन,'उनले भने, ‘जोखिमयुक्त ठाउँमा तटबन्ध गरि नदी नियन्त्रणका साथै विकास निर्माणका कामलाई व्यवस्थित र वातावरणमैत्री बनाउन आवश्यक छ ।’

पहिरोले थुनिएको राहुघाट पुरानै स्वरुपमा बग्न थाल्यो 

पहिरोले थुनिएको म्याग्दीको राहुघाट नदी पुरानै स्वरुपमा बग्न थालेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बीचमा रहेको गौडामुनी क्षेत्रमा पहिरो खसेर राहुघाट नदी थुनिदा बनेको तलाउ भने घटेको छैन् । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले साँघुरो ठाउँमा पहिरोसँगै खसेको ठूलो ढुङ्गाका कारण बनेको तलाउ यथावट रहेको र नदी पुरानै स्वरुपमा बग्न थालेको जानकारी दिए ।  

‘करिब एक किलोमिटर लम्बाई, १५ मिटर चौडाई र ५० फिट भन्दा बढी गहिरो तलाउ बनेको छ,' उनले भने ‘ढुङ्गा र पहिरोले थुनेर बनेको तलाउ भरिएर नदी पुरानै स्वरुपमा बग्न थालेको छ ।’
 
पहिरोले तलाउ बनेको ठाउँमा चिमखोला स्थित नेपाली सेनाको क्याम्प, पाखापानी प्रहरी चौकी र स्थानीयबासीको टोलीले निरीक्षण गरेको थियो । चिमखोलाका युवा प्रदिप मगरले निरन्तर खसेको पहिरो र तलाउका कारण जोखिम कायमै रहेको बताए । 

धौलागिरी हिमालको दक्षिणी मोहदामा मुहान रहेको राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ । रघुगंगा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले कालीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 

दाउरा संकलन, माछा पार्ने जस्ता कामको शिलशिलामा नदी किनारमा नजान अनुरोध गरेका हुन् । राहुघाटको तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँध निर्माणाधिन छन् । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.