पश्चिम नवलपरासीमा बाढी  : २ को मृत्यु, १ बेपत्ता

पश्चिम नवलपरासीमा बाढी  : २ को मृत्यु, १ बेपत्ता

परासी : मध्यरातमा एक्कासी आएको बाढीले पश्चिम नवलपरासीको जनजीवन प्रभावित रह्यो। बाढीका कारण जिल्लाका सबैजसो पालिकाहरु डुबानमा परे। सबैभन्दा बढी सदरमुकाम परासी प्रभावित बन्यो। 

राति २ बजेको मस्त निद्रामा रहेका स्थानीयहरु एक्कासी कोठाभित्र पसेको पानीको चिसोले ब्युझिन पुगे। कोठाभित्र पानी पसिसकेका कारण खाद्यन्नदेखि लत्ताकपडालगायत सामाग्री स्थानीयले स्याहार्न पाएनन्। जिउ जोगाउन घरको छतमा बसेर मध्यरातमा हारगुहारको आवाज मात्र सुनिन्थ्यो। एकसरो लुगामा घरको छत  र उचोँ स्थानमा ज्यान जोगाउन पुगेका स्थानीयले दिनभर खाना समेत पाएनन्।  

दिउँसो १ बजेसम्म पनि पानीको सतह नघटेपछि बालबालिका भोकभोकै छन्। छिमेकीहरु पनि त्यस्तै अवस्थामा रहेकाले एकअर्कालाई सहयोग गर्न सक्ने अवस्था देखिएको छैन। कोठाहरु जलमग्न भएपछि बालबच्चासहित घरको छतमा पुगेर ज्यान जोगाएको रामग्राम नगरपालिका–१ की राधिका रानाले बताइन्।

‘केटाकेटीहरु बिहानको खाना खाने समयमा भोक लाग्यो भनेर रोइरहेका थिए। खाने कुरा नभएपछि ५ पिस बिस्कुट ४ जनालाई बाँडेर दियौं’, रानाले भनिन्। डुबानमा परेकालाई उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली डुबान क्षेत्रमा पुगे पनि पानीको सतह र बेगका कारण उद्दारमा कठिनाइ भएको थियो। स्थानीय छतमा सुरक्षित देखिएपछि सुरक्षाकर्मीले इशाराबाट सान्तवना दिइरहेका थिए।

८-१० वटा बाहेक सरदमुकामका सबै घर डुबानमा परेका थिए। विगतमा डुबान हुने भए पनि सदरमुकाम परासीमा आफूले पहिलो पटक यस्तो बाढी देखेको रामग्राम–५ का गुणनिधी तिवारीले बताए। दिउँसो २ बजेदेखि पानीको सतह घट्दै गएको छ। तर स्थानीयका घरमा लेदोसहित पसेको पानीका कारण राति सुत्न र खान भने अझै समस्या छ। 

त्यसैगरी सदरमुकामपछि पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए। अधिकांश घर डुबानमा परेका कारण क्षतिको विवरण यकिन हुन नसकेको लामाले बताए। सदरमुकाममा स्थानीय झरही खोलाबाट आएको पानीले अन्य स्थानीय तहमा स्थानीय खोलाको कारण डुबान भएको हो।  

यसैबीच बज्रदल गण परासीमा करिब १५ फिट पानी जमेको थियो भने जिल्ला प्रहरी कार्यालयमा ६ फिटमाथिसम्म पानी जमेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु लामाले बताए। जलमग्न भएपछि सुरक्षाकर्मीको हतियारको व्यवस्थापनमा समेत समस्या भए पनि सुरक्षित राख्न सफल भएको प्रहरीले जनाएको छ। 

२ को मृत्यु १ बेपत्ता

बाढीका कारण रामग्राम–१६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदीप पासीको मृत्यु भएको प्रहरीले जनाएको छ। राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घरमा जाने क्रममा भेलले बगाएको हो। दुवै जनाको शव घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको डिएसपी लामाले जानकारी दिए।

त्यसैगरी बाढीले ज्यान जोगान निस्कँदा सुनवल–१३ की ओरिसा तामाङलाई भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। 

राजमार्ग अवरुद्ध

बाढीका कारण पूर्वपश्चिम राजमार्गका बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध छ। तुरिया खोलामा आएको बाढीले पुल भाचिंदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन समेत बगाएको छ। अवरुद्ध राजमार्ग तत्काल खुल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.