पात्रका जीवनभित्र भावनाको स्पर्श

पात्रका जीवनभित्र भावनाको स्पर्श

शब्दका सञ्जालबाटै संसार गाँसिएको छ। मेरा लागि पनि साहित्य सदैव सामिप्यमै रह्यो। पढाइ सकेर नेपाल फर्किएपछि अब के गर्ने भन्ने प्रश्न अनुत्तरित थियो। पेशागत काम त जिन्दगीभर गर्नु नै छ जस्तो लाग्थ्यो। त्यसैले तत्काल सुरु गरिहाल्न मन लागेन। संसारकै उत्कृष्ट विश्वविद्यालयबाट स्नातकोत्तर गरोस् भन्ने बुबाहजुरको ठूलो इच्छा थियो, त्यसैले धेरै पटक झक्झकाउनुभयो। तर म आफैंमा निश्चित थिइनँ।

लेखा तथा वाणिज्य क्षेत्रमा उच्च श्रेणीको पढाइ भनेर चार्टर्ड एकाउन्टेन्सी छानेकी थिएँ। लगन र मेहनत दुवै पराकाष्ठा नै गर्नुपर्ने पढाइ भए पनि अध्ययनबाट वितृष्णा भने भएन। अलमल अलमलमै भए पनि पाटन क्याम्पसमा अर्थशास्त्र अध्ययनका लागि स्नाकोत्तरमा भर्ना भएँ। केही महिनापछि फरक अनुभूतिले तान्न थाल्यो। सायद जिन्दगी पढ्न चाहन्थें। कसैले मान्यता दिने शिक्षाभन्दा आफूलाई भोक जागेको विषयमा होमिन मन लाग्यो। कुनै प्रमाणपत्रभन्दा आत्मसन्तुष्टिको खाँचो ठूलो लाग्यो। आफैंलाई चिन्नु थियो, खुसीको बाटो पहिल्याउनु थियो। देश–समाज र पारिवारिक चित्रण बुझ्न मन लाग्यो। यति सुन्दर देशका पहाड र तराई पुग्न हतार हुन थाल्यो। मिलेसम्मका जिल्लाहरू गएँ, नजिकका देशहरू घुम्न निस्किएँ। दिमागलाई खाली राखेर गरेका घुमफिरले खुसी दिन थाल्यो, यात्राको सिलसिलामा लत लाग्यो।

सायद ती यात्रामा आफैंलाई खोज्दै थिएँ अनि अभिव्यक्ति प्रस्तुत गर्ने माध्यम छान्दै थिएँ। लेखनमा रुची थियो तर लगाव अरूका सिर्जना पढ्नुमा मात्र सीमित थियो। मनमनै बुनेका कल्पनाका फूलहरूलाई मालामा उन्ने हिम्मत जुटाउन धेरै समय लाग्यो। हतार गरिनँ, हुटहुटी कहिल्यै जागेन। मन भने थामिएन। कलम समाएर लेख्न सुरु गरें। करिब १५ दिन लगाएर ‘परिधि’ लेखिसक्दा मन हलुका भयो। केरमेट गर्दै भरिएका अक्षर च्यापेर रुन मन लाग्यो। कट्टर नारीवादमा लेखिएको कृति अरूलाई भन्न, देखाउन या प्रकाशन गर्न डर लाग्यो। लेखाइमा पहिलो सन्तान थियो मेरो। दुर्भाग्य, गर्भावस्थामै छोपेर राख्न पुगें। तीव्र आलोचनाको सम्भावनालाई २५ वर्षको जीवनले सहज रूपमा लिन सकेन। तर लेखाइ अवधिको मानसिक बहावले मन बाँध्यो, त्यही सन्तुष्टिको लोभले फेरि लेख्न बसें।

विभिन्न पात्रका जीवनका भाव प्रवाहलाई एकै मालामा संगालेर रचिएको इन्द्रेणी स्पर्श नेपाली कलाक्षेत्रमा एक प्रयोग पनि हो।

के विषयमा लेखौं भनेर सोच्दासोच्दै आधा किताब लेखी भ्याएँ। परीक्षामा समेत लेखेका कुरा दोहोर्‍याएर नपढ्ने मेरो स्वभाव केही बदलियो। पुस्तक अंशहरूमा फर्केर हेर्दा आफ्नै धून पहिल्याएँ। परिवार, साथीभाइ, समाज अनि आफन्तका सम्बन्धहरू जोड्न खोज्दै थिएँ। त्योभन्दा धेरै त ‘स्वतन्त्रता’को खोजी हुँदै थियो। 

सधैं अरूको छत्रछायाँमा जिउने नेपाली नारी जीवनमा स्वतन्त्रताको खोजी। नारीका भावनाहरू निस्फिक्री हुर्किने स्वतन्त्रता, ती भावनालाई पछ्याउने स्वतन्त्रता, आफ्ना निर्णयहरूलाई आत्मसात् गर्न सक्ने स्वतन्त्रता। छोरी मान्छेलाई रहरहरू बुझ्ने स्वतन्त्रता, सपना देख्ने स्वतन्त्रता, माया गर्ने स्वतन्त्रता, मन बसेको सम्बन्ध सकार्न सक्ने स्वतन्त्रता, विषालु सम्बन्धबाट छुट्टिने स्वतन्त्रता अनि नितान्त व्यक्तिगत पक्षमा हुने हस्तक्षेप सहजै रोक्न पाउने स्वतन्त्रता।

‘आफू जे छु, त्यही हुन पाउने’ स्वतन्त्रताको वकालत गर्ने उपन्यासमा स्त्रीमनको नजरबाट सम्बन्धहरूको सापेक्षता नापिएछ। विभिन्न पात्रका सोचाइ र भोगाइको गतिशीलता रंगीन भइदिएछ। सबै कथालाई समेट्दै जाँदा किताब पूर्ण भयो। छरपस्ट भएका रचनात्मक अक्षरहरू रंगीन आख्यान बने। काँटछाँट गरेर बिट मार्दै गर्दा पुस्तकको मर्म छर्लंग भयो, अनि रसरङ गाढा भइदियो। साँच्चै यो कृति भाव स्वतन्त्रताको उडान थियो तर यसमा अनेक रङ भरिएछन्। जीवनका पहेलीमा गाँसिने मनको रङ, मुक्ति खोज्ने आत्माको रङ, रहरहरूका रङ, सम्बन्धहरूका गाँठोको रङ, चाहनाका रङ, उन्माद प्रेमको रङ, विरक्तिएको मनको रङ सबै सजिएछन्। पढिसक्दासम्म पाठकलाई लाग्नेछ – ओहो, यो त रङहरूको कथा रहेछ। अनि यी सबै रङले कुनै न कुनै समयमा आफूलाई छोएको पाउनेछन्।

लेखनमा दोस्रो तर प्रकाशनमा पहिलो यो किताब ‘इन्द्रेणी स्पर्श’को लेखाइ करिब दस दिनमै सकियो। टाइप, सम्पादन र प्रकाशनको बाटो सोचेभन्दा लामो रह्यो। व्यक्तिगत अनि पेशागत जीवनबाट अलग्गै राखेको यो पाटो धेरै पटक अँधेरोमा अल्मलियो। तर अहिले गौण अवस्था पनि फलदायी लाग्छ। सम्पादन तथा प्रकाशन प्रकियामा भोगेका कठिनाइले परिपक्व बनायो। धेरै सिकें, गल्तीहरू पनि बुझें। प्रकाशनको हुटहुटीको भुङ्ग्रो धेरैपटक निभे। ती सुस्त दस वर्षले रचनालाई जीवन्त बनाउने शक्ति दियो। मेरा अक्षरहरू हुर्किने मौका पाए।

प्रेम त्यो आभाष हो जसलाई कुनै शक्तिले प्राप्त गर्न सक्दैन। कुनै सम्पन्नताले खरिद गर्ने औकात राख्न सक्दैन। मायालाई अमूल्य भनौं या सित्तैमा प्राप्त हुने आशिर्वाद, जुन अनुभूतिको आकारै हुँदैन। कुनै ठोस जरुरत नदेखिने यो भावको अपहार्यता र सीमा व्याख्या गर्न गाह्रो छ। बुझ्न र बुझाउन नसकिने मनका आँधीबेरीको न कुनै दिशा हुन्छ न त सिमाना। ती आँधीका बहावलाई थामेर सम्बन्धका नामहरूमा छान्न खोजिएको छ। मानव संस्कृतिको अस्तित्व रहेसम्म संवेदनशीलता रहन्छ। कन्दराबाट निस्कने धूनहरू निजका लागि अत्यन्त मुल्यवान् हुन्छन्। हरेक भावनाको वजन हुन्छ, महŒव हुन्छ। विभिन्न पात्रका जीवनका भाव प्रवाहलाई एकै मालामा संगालेर रचिएको यो कृति नेपाली कलाक्षेत्रमा एक प्रयोग पनि हो। भाव उत्पत्तिको स्वतन्त्रता अनि भावनाप्रतिको एकाधिकारलाई दर्साउन प्रयत्न गरिएको छ।

‘इन्द्रेणी स्पर्श’ किताबमा भएका पात्रहरू ‘बालिकादेखि युवती’ बन्दासम्मको बहावमा सायद मिठो यात्रा पार गरें। पहिलो अक्षर कोर्दाको ‘डर’देखि प्रकाशित कृति हात पर्दाको ‘खुसी’सम्मको हिँडाइले अद्भूत खुशी पाएँ। यो आख्यान प्रेमको रङहरू खुट्याउने प्रयास मात्र हो। हुन त प्रेम आफैमा पूर्ण आभास हो, यसलाई कुनै सम्बन्धको धारले निखार्न जरुरी हुँदैन। प्रेम सर्वोत्तम खुशी हो, जसमा प्राप्तिको चाह मात्र मान्य हुँदैन। तर पनि यो आख्यानले मानव जीवनका सबन्धहरूको रसबाट प्रेमको सार पत्ता लगाउन कोशिश गरेको छ।

आशा छ– यो सिर्जनाले माया गर्ने मनहरूलाई अँगाल्ने छ, पाठकलाई पठन यात्रामा रंगीन सन्तुष्टि दिनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.