भासिँदै राजमार्ग

भासिँदै राजमार्ग

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको चौधकिलोमा शुक्रबार सडक भासियो। लगातारको वर्षाले ३८ मिटर लम्बाइ र चार मिटर चौडाइ सडकको सतहबाट दुई मिटर तल भासिएको छ। सडक भासिए पनि सवारी आवतजावत भने रोकिएको छैन। सोही खण्डमा यसअघि तीन ठाउँमा सडक भासिएको थियो। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा ६० मिटर र २६ किलोमा ४० मिटर सडक भासियो। 

सत्रकिलोमा २०५९ सालमा आएको बाढीले भत्काएको थियो। २०६० मा सडकको तल्लो भागबाट भित्तामा फलामको रड घुसाएर ‘रक स्वायल एङ्करिङ’ गरिएको थियो। ती सडकको अहिले पुनर्निर्माण थालिएको छ। 

मुलुकको लाइफलाइनका रूपमा चिनिएको नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका विभिन्न खण्ड भासिएको छ। पानीका कारण जमिनको तल्लो भाग चिरा परेर भासिएको विज्ञको भनाइ छ। गत असार २० गते पृथ्वी राजमार्गको फिस्लिङमा भासिएको थियो। गत वर्ष थोरै मात्रै दबिएको सडक यसपटक ६० मिटर भासियो। 

मुग्लिन–कुरिनटार बीचको घोप्टेभीरमा पनि सडक दबिएको छ। पाँच वर्षअघि घोप्टेभीरको सालमा पूर्वगृहमन्त्री माधव घिमिरेको गाडी पल्टिएर त्रिशुलीमा खसेर बेपत्ता भएको थियो।  त्यसबेलब धादिङको जवाङ खोलामा पनि सडक भासियो। त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत हुग्दी खोला मोड मझिमटारमा पनि सडक भासिएको छ। हरेक वर्ष नयाँ–नयाँ ठाउमा सडक भासिने गरेको छ। 

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले भौगोलिक बनोट कमजोर हुँदा सडक भासिने समस्या बढेको बताए। त्रिशुली नदीको एकतर्फी कटानले बाटोमुनिको भाग कमजोर हुँदा जमिन भासिएको उनको भनाइ छ। सडक छेउको पहाडमा अव्यवस्थित रूपमा खोलिएका शाखा सडकका पानी बाटोमा खस्दा त्यसले जमिन कमजोर बनाएको बताए। ‘त्रिशूलीको सतह बढेपछि  सडकको तल्लो सतह कटान भएपछि भासिएको हो,’ उनले भने, ‘पहाडमा खोलिएका सडकले पानीको निकास बन्द हुँदा जथाभावी बग्ने पानीले माटो बगाएर कमजोर बनाएको छ।’ 

नदीको किनारैकिनारमा बन्ने सडकलाई प्राविधिक भाषामा ‘रिभर रुट ’ भनिन्छ। त्रिशूलीले सडकको तल्लो भाग निरन्तर क्षयीकरण गरिहरहेका कारण पनि सडक भासिने समस्या देखिएको हो। त्रिशुली नदीले ‘टो कटिङ’ ले गर्दा सडक भासिने समस्या देखिएको हो। नदीले बाटोको तल्लो भागलाई कटान गर्नुलाई इन्जिनियरिङ भाषामा ‘टो कटिङ’ भनिन्छ। 

अर्कोतर्फ जमिनको भित्री भागबाट बग्ने पानीले पनि भित्री भाग बगाउँदा  सडक कमजोर भएको सडक डिभिजन कार्यालय भरतपुरअन्तर्गत गजुरी  साइट क्याम्पका इन्जिनियर कृषबहादुर खड्काले बताए।

त्रिशूली नदीको कटानका कारण राजमार्ग जोखिममा परेको विज्ञहरूको भनाइ छ। नेपालमा हुने चट्टानहरू कमजोर प्रकृतिको भएका कारण नेपालका सडकमा समस्या आउने गरेको सडक डिभिजनमा लामो समय अनुभव सँगालेका इन्जिनियर प्रकाश उपाध्यायले बताए। ‘नदीनाला गहिरिँदै गएका छन्। त्यसले क्षयीकरण हुँदा  पर्खाल र जगहरू बाहिर परे। बाटोपट्टिको भित्ता भत्काउँदा बाटो भासिदै गयो,’ ई.उपाध्याय भन्छन्, ‘हाम्रो देशको चट्टान बलियो खालका छैनन्। भूकम्पले छियाछिया पारेको भित्रीभाग वर्षाको पानीले बगाउँदा पनि समस्या देखिएको हो।’ 

पृथ्वी राजमार्ग २०२७ सालमा बनेको हो। नारायणगढ–मुग्लिन सडक २०३७ सालमा निर्माण भएको हो। यस सडकखण्डमा दैनिक १० हजार सवारीसाधन आवतजावत गर्छन्। भासिएका सडकका कारण जोखिम पनि उत्तिकै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.