भात खाने सपना अधुरै : सधैं डुबानकै मार

भात खाने सपना अधुरै : सधैं डुबानकै मार

परासी : सरावल गाउँपालिका–७ भटौलियाकी नीलमदेवी चमारको ३ कठ्ठा खेतको धान कामै नलाग्ने गरी गलेपछि अहिले उनी चिन्तामा छन्। उनको गोड्ने बेला भएको धान वर्षाको पानीले डुबाएको छ। आफैं नै खेतको धान भित्राएर परिवारलाई भात ख्वाउने  सपना पानीसँगै डुबेको भन्दै नीलमले चिन्ता जनाइन्। 

अब मजदुरी गरेर बजारको चामल खरिद गरेर भात खानुको विकल्प नभएको उनले बताइन्। ‘जग्गाको नाममा यत्ति हो। गत वर्ष पनि एक गेडो धान घर भित्र्याउन पाइएन यो साल पनि यस्तै भयो।’ डुबेको धान देखाउँदै निलमले भनिन्।

वडा नं. ६ मधौलिया गाउँका इब्राहिम धुनियाले २ बिघामा लगाएको उखुको बीउ र ८ बिघामा लगाएको धान बाढीले डुबाएको छ। ‘खेतमा लगाएका बाली सबै बाढीले डुबायो। खेती लगाउँदा लागेको ऋण कसरी तिर्ने होला। ऋणमाथि ऋण थपियो। त्यही चिन्ताले पिरलेको छ।’ धुनियाले दुःखेसो पोखे। 

नीलम र इब्राहिमको मात्र समस्या होइन यो। पश्चिम नवलपरासीका ३ गाउँपालिकाका  स्थानीयले हरेक वर्ष वर्षायाममा यस्तै समस्या भोग्दै आएका छन्। बाढीले कहिले रोपेर छोडेको २÷४ दिनको धान बगाउँछ भने। कहिले गोड्ने बेलाको धान डुबाएर गलाउने गरेको छ। 

हरेक वर्ष बाढीका कारण डुबानमा पर्ने भए पनि त्यस क्षेत्रमा अरु खेती नहुने भएकाले किसानहरूले धान नै लगाउने गरेका हुन्। ‘ बाढी आउँदैन की भनेर हरेक वर्ष धान लगाउँछौं तर सधैं डुबानमा पर्ने गर्छ। रामपुरखडौनाका अब्दुल हकिमले दुःखेसो पोखे। 

यदाकदाका वर्षबाहेक अधिकांश वर्ष यहाँका किसानले लगाएको धान घरभित्र भित्राउन पाएका छैनन्। पानीको उचित निकास नहुँदा सरावल गाउँपालिका ५,६, ७, पाल्हीनन्दन गाउँपालिकाको वडा नं. १ र प्रतापपुर गाउँपालिकाको वडा नं. २,३ र ४ नम्बर वडाका एक दर्जनबढी गाउँ वर्षेनी डुबानमा पर्दै आएका छन्। खेतमा लगाएको धान पानीका कारण डुब्ने चिन्ता त स्थानीयलाई छ नै त्यो भन्दाबढी चिन्ता घर डुबानमा परेपछि आश्रय लिएर बस्नु छ। ‘गाउँ जलमग्न भएपछि स–साना केटाकेटी लिएर अर्कैको घर वा अन्य स्थानमा रहेको आश्रय स्थलमा जानु पर्छ। बाढीको समयमा बालीको भन्दा पनि केटाकेटी मर्छन की भन्ने चिन्ता बढी हुन्छ,’ अब्दुलले भने। 

स्थानीय झरही, धनेवा र भलुहीलगायतका स्थानीय खोलाका कारण गाउँ डुबानमा पर्ने गरेको छ। पानीको निकास नहुँदा गाउँमै पानी ठेलिने गरेको छ। जसका कारण हरेक वर्ष डुबानमा पर्ने गरेको हो। ‘अरू ठाउँमा उत्तरबाट दक्षिणतर्फ पानी बगेर जान्छ। हाम्रो गाउँमा दक्षिणबाट उत्तरतर्फ पानी आउँछ।’ अब्दुल हकिमले भने। 

हरेक वर्ष डुबानमा पर्ने गरेपनि केन्द्रदेखि प्रदेश र स्थानीय जनप्रतिनिधिहरूले समेत वास्ता नगरेको भन्दै हकिमले आक्रोश पोखे। अरू समय वास्ता नगर्ने तर बाढीको बेला राहत लिएर आउने जनप्रतिनिधिलाई राहत नभई अब दीर्घकालीन समस्या समाधानका लागि योजना लिएर गाउँ आउन पाल्हीनन्दनका स्थानीय युवा धर्मेन्द्र गिरीले जनप्रतिनिधिलाई आग्रह गरे।

स्थानीय खोलाहरूको सफाई नहुँदा र भारततर्फ बग्दै गएका खोलाहरू साँघुरो भएका कारण पानी ठेलिन गई डुबानमा पर्ने गरेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए। बाढीले तिन गाउँपालिकाका करिब १५ सय विघा खेतमा लगाएको धानबाली डुबानमा पर्ने र कामै नलाग्ने गरी कुहिने गरेको छ। 

जसका कारण हरेक वर्ष १२ देखि १५ करोडको क्षति पुर्‍याउने गरेको स्थानीयले बताएका छन्। क्षतिपूर्ति भने कहीबाट पाउन नसकेको स्थानीयको गुनासो छ। ‘सानो नोक्सानी भए पालिकाले क्षतिपूर्ति दिन सक्थ्यो। ठूलै नोक्सानी भएकाले संभव भएन। ’अध्यक्ष चौधरीले भने। क्षतिपूर्ति उपलब्ध गराउन नसके पनि बीउ बिजनमा किसानलाई सहुलियत दिने गरिएको चौधरीको भनाइ छ। 

समस्या समाधानका लागि कसैले वास्ता नगरेको भन्दै स्थानीय किसानहरूले सम्बन्धित निकायको ध्यानआकर्षण गराउन ‘बाढी नियन्त्रण समन्वय समिति’ गठन गरेका छन्। समितिका संयोजक रञ्जब अलीले ६० वर्षअघि देखिको समस्या समाधानमा कसैले ध्यान नदिएपछि किसानहरू संगठित भएर समिति गठन गरेको बताए। समितिले हरेक वर्ष हुने करिब १५ करोड बराबरको धानबाली नोक्सानीको क्षतिपूर्ति र दीर्घकालीन समस्या समाधानका लागि बाँध निर्माण गर्नुपर्ने माग गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.