कोरोनाको खोप लगाएका ८० प्रतिशत भन्दा धेरैमा एन्टिबडी
काठमाडौँ: कोरोनाविरुद्धको पूर्ण खोप लगाएकामध्ये ९० प्रतिशतमा एन्टिबडी बनिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गरेको सर्वेक्षणबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभर ६८.६ प्रतिशत व्यक्तिमा कोभिड १९ एन्टिबडी देखिएको हो । एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘स्वास्थ्य मन्त्रालयले कोभिड १९ संक्रमणको अवस्थालाई सुक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिलाई समेटी संकलित नमुनाहरुमध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरी ६८.६ प्रतिशत नमुनामा कोभिड १९९ एन्टीबडी देखिएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायम रहेकाले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै प्रभावकारी उपाय हो । कुनै पनि स्वास्थ्यमा समस्या हुने बित्तिकै परीक्षण गर्न र स्वास्थ्यकर्मीको सम्पर्कमा आउन जानकारी गराउनुका साथै १० दिन आइसोलेसनमा बसी स्वास्थ्यकर्मीको निगरानीमा रहनुहुन अनुरोध छ ।’
२०७८ असार २१ देखि ३० सम्ममा संकलित नमुनाहरुमध्ये १३ हजार एक सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुबै डोज लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ शहरका सबै लिंग, उमेर, पेशा तथा सबै समूहमा समान एन्टिबडी देखिएको बताए । उनले भने, ‘कोराना नियन्त्रणका लागि भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !