दार्चुलामा बाढीको बितन्डा : तिंकर सडकको पक्की पुल बगायो
दार्चुला : लगातारको वर्षाका कारण गए राति निजाङ्ग खोलामा आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ ।
महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप तीन पसल र एक घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिए ।
खोलाले स्थानीय दिपकबहादुर बमको घर तथा सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए । खोलामा बाढी आउँदा सो क्षेत्रका स्थानीयहरु राती नै सुरक्षित स्थानमा गएका थिए ।
यसैगरी श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।
लगातार भइरहेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेर भारततर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुबानमा परेको छ । निजाङ्ग खोलामा आएको बाढीले केही बेर महाकाली थुनिएपछि एनएचपिसी डुबानमा परेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । एनएचपिसी डुबानमा परेपछि केही कर्मचारी भित्रै फसेपछि उनीहरूको सकुशल उद्धार गरेको बुझिएको छ । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
क्षति के कति भएको छ थप जानकारी सुरक्षाकर्मी पुगेपछि मात्रै थाहा हुने जनाइएको छ ।