जलेको अवस्थामा महिलाको शव भेटियो, आत्मदाह गरेको हुनसक्ने
ओखलढुंगा: सिद्धिचरण नगरपालिका वडा नं. ७ स्थित टोड्के सामुदायिक वनमा एक स्थानीय महिलाको शव जलेको अवस्थामा फेला परेको छ ।
स्थानीय ४० वर्षीया मिना कुमारी श्रेष्ठको शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा श्रेष्ठले वनमा पुगेर आत्मदाह गरेकी थिइन् ।
शवसँगै डिजेलको बोतल र झोला समेत भेटिएको थियो । घरदेखि करिब १ किलो मिटर दूरीमा पुगी शरीरमा डिजेल खन्याएर आगो लगाएको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक गोबिन्दराज काफ्लेका अनुसार घटनापछि प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ । ती महिला केही समयअघि कोरोना संक्रमित भएर निको भइसकेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।