राधाकृष्णको खटयात्रा

राधाकृष्णको खटयात्रा

विराटनगर : विराटनगरको इतिहास एवं धार्मिक महत्वसँग जोडिएको राधाकृष्ण रथयात्रा दुई वर्षदेखि खल्लो बनेको छ। रथयात्राको साटो मंगलबार खटयात्रा निकालिएको छ। 

परिस्थिति अनुकुल नहुँदा कृष्ण जन्माष्टमीको भोलिपल्ट वर्षेनी हजारौं भक्तजनको उपस्थितिमा निकालिँदै आएको राधाकृष्ण रथयात्राको रूप परिवर्तन गरेर खटयात्रा निकाल्नुपर्ने अवस्था आएको हो। रथयात्राको ९० औं संस्करण कोरोना महामारीका कारण सम्भव नभएपछि परम्पराको निरन्तरताका लागि मात्रै खटयात्रा निकालिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए। विराटनगरमा रथयात्राको सुरुवात नै खटयात्राबाट भएको इतिहास छ।  गत वर्ष पनि कोरोना महामारीका कारण रथयात्रा खटयात्रामै सीमित भएको थियो। भीडभाड गर्दा कोरोना महामारीको जोखिम हुने भएकाले सीमित उपस्थितिमा खटयात्रा निकालेर बजार परिक्रमा गराइएको ओझाले जानकारी दिए। उनका अनुसार यसअघि निकालिने रथयात्रामा सहभागी हुन गाउँगाउँबाट र नेपालसहित छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गरेका थिए। 

विराटनगर महानगरपालिकाको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउँसो सुरू भएको खटयात्रा नगरको विभिन्न भागको परिक्रमापछि राधाकृष्ण मन्दिरमै पुगेर विसर्जन गरिएको थियो। 

राधाकृष्णको युगल जोडी राखिएको खटलाई गाडीमा राखेर गुडाउन थालिएपछि भक्तजनले सडक किनारबाटै दर्शन गरेका थिए। खटयात्रामा सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समितिका पादधिकारी, सामाजिक एवं धार्मिक अगुवालगायत सीमितको मात्रै उपस्थिति थियो। 

वि.सं. १९८८ देखि विराटनगरको राधाकृष्ण मन्दिरबाट खटयात्रा निकाल्न सुरु गरिएको इतिहास छ। विसं २०२४ सालयता भने खटयात्रालाई रुपान्तरण गरेर रथयात्रा निकाल्न थालिएको हो। यसअघि रथसँगै पुरानो खटलाई पनि बजार परिक्रमा गराइन्थ्यो। महामारीका कारण अप्ठेरो भएकाले खटलाई समेत गाडीमा राखेर बजार परिक्रमा गराइएको ओझाले बताए। खटयात्रा जारी रहँदा प्यागोडा शैलीको २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाईको रथ भने मन्दिर परिसमा नै राखिएको थियो। 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना संकटको प्रभाव धार्मिक एवं  सांस्कृतिक क्षेत्रमा परिरहेको बताए। कोरोनाले गर्दा भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्थाका कारण धार्मिक परम्पराहरूमा मानिसको सहभागितासँगसँगै हर्षोल्लास पनि हराउँदै गएको बताए। ‘विगतमा उत्साहसाथ निकालिने रथयात्रामा हजारौंको सहभागिता हुन्थ्यो। गाउँगाउँ र भारतदेखि पनि दर्शनार्थी आउँदा विराटनगरमा खुट्टा राख्ने ठाउँसमेत हुँदैन थियो’, पराजुलीले भने, ‘तर कोरोनाले धार्मिक एवं सांस्कृतिक क्षेत्रमा समेत असर गरिदिँदा ठूलो जनसहभागितामा रथ निकाल्नै पाइएन। गत वर्षदेखि रथयात्राको साटो खटयात्रा निकाल्न थालिए पनि सर्वसाधारणमा कुनै उत्साह र रौनिकता देखिएन।’

कोरोनाको जोखिमले संस्कृतिक नै लोप हुनसक्ने अवस्था आइसकेको उनले बताए। त्यही भएकाले सामान्य अवस्थामा खटयात्रा गरेर भए पनि संस्कृतिलाई जोगाउने काम गरिएको पराजुलीले बताए। प्रदेश १ सरकारले भने मंगलबार झापा, मोरङ र सुनसरीमा सार्वजनिक बिदा दिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.