मधेसमा कार्यकर्ता तानातान गर्दै यादव र ठाकुर
काठमाडौँ: जनता समाजवादी पार्टी विभाजनपछि उपेन्द्र यादव र महन्थ ठाकुर कार्यकर्ता तानातान गर्दै मैदानमा उत्रिएका छन् । बुधबार दलबलसहित जनकपुरधाम पुगेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुरले जसपाका कार्यकर्ताहरुलाई भेट गरी आफ्नो पार्टीमा आउन आश्वासन दिए ।
बुधबार ११ जना प्रदेशसभा सदस्यले निर्वाचन कार्यालयमा लोसपा रोजेपछि जसपाका अध्यक्ष यादव पनि काठमाडौँबाट हतार हतार जनकपुर पुगे । यादव काठमाडौंबाट प्लेन चढेर बिहानै जनकपुर पुगेका हुन् ।
जसपाका नेता तथा कार्यकर्तालाई ठाकुरले प्रलोभन दिएर फकाउन थालेको सूचना पाएपछि यादव हतारमै जनकपुर पुगेर कार्यकर्तालाई थम्थमाइरहेका छन् । 'लोसपामा तपाईंहरुले सनाखत नगरिदिनुहोस् भनेर सम्झाउन हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवज्यू जनकपुर आउनु भएको छ,' प्रदेश २ का संसदीय दलका उपनेता रानम अशिष यादवले अन्नपूर्णसँग भने ।
मधेशवादी दलको अधारभूमि मानिने प्रदेश नं २ मा जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुर आगामी चुनावमा आमने सामने हुने अपेक्षा गरिएको छ । चुनावलाई लक्षित गर्दै उनीहरु आआफ्ना पार्टीलाई बलियो बनाउन कस्सिएका छन् ।
निर्वाचन आयोगले जसपालाई आधिकारिकता दिएपछि ठाकुर समूहले नयाँ पार्टी लोसपा गठन गरेको हो । महन्थ ठाकुर सहित लोसपामा राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत नेताहरु सामेल छन् । जसपाको नेतृत्व भने उपेन्द्र यादवले गरिरहेका छन् । यद्यपि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने तयारी गरिरहेको जसपामा पछिल्लो समय मन्त्रालय बाँडफाँटले विवाद उत्पन्न भएको जसपा स्रोतले बताएको छ ।