बालबालिका स्कुल पठाउने कि नपठाउने, अभिभावक अलमलमा

बालबालिका स्कुल पठाउने कि नपठाउने, अभिभावक अलमलमा

काठमाडौँ: किर्तीपुर ट्यागंलाफाँटकी अभिभावक सर्मिला श्रेष्ठकी छोरी रविना श्रेष्ठ कक्षा ५ मा अध्ययनरत छिन् ।

विद्यालयबाट श्रेष्ठलाई अब केही दिनमै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने भन्दै फोन आयो । उनले भनिन्, ‘अब केही दिनमै विद्यालय खोल्ने भनेर खबर गर्नुभएको छ । छोरी ५ कक्षामा पढ्छिन् । विद्यालय पठाउने कि नपठाउने अलमलमा परेको छु ।’

बल्खुमा बस्दैआएका दीपेन्द्र शीवाकोटीका छोरा कक्षा ३ मा पढ्छन् । अनलाइन कक्षा चलिरहेको छ । तर, अब छिट्टै स्कुल सञ्चालन हुने भनिएको छ । शीवाकोटी भने छोरालाई स्कुल पठाउन तयार छैनन् । ‘खोप पनि लगाउन पाएको छैन । यस्तो जोखिममा छोरालाई केही भयो भने जिम्मा कसले लिने ?’ शीवाकोटीले सोधे ।

निजी स्कुलहरुको छाता संगठन प्याव्सनका उपमहासचिव आर बी कटुवालले भने अब बिस्तारै स्कुलहरु भौतिक उपस्थितिमै सञ्चालन गरिने बताए । उनले भने, ‘सरकारले स्कुल खोल्ने या नखुल्ने भनेर स्थानीय तहलाई अधिकार दिएको छ । परिस्थिति हेरेर खुल्छन् । हामी जनस्वास्थ्यका मादपण्ड पालना गरेर शैक्षिक संस्था खोल्न तयार छौँ ।’

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला स्कुल सञ्चालन गराउने सन्दर्भमा समानान्तर विकल्प सहित अघि बढ्नुपर्ने बताउँछन् । उनले भने, ‘यदी कुनै विद्यार्थी विद्यालय आउन डराउँछ, अभिभावक पठाउन डराउँछ भने त्यसको समानान्तर विकल्प खोजिनुपर्छ । केटाकेटीले त मास्क लगाउन मान्दैन नी । अभिभावक र विद्यार्थी नै डराएपछि के गर्ने ?’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल कोरोना संक्रमण जोखिम अझै नटरेको बताउँछन् । ‘संक्रमणको जोखिम कायमै छ । मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाईलाई विशेष ध्यान दिनुपर्छ’ डा पौडेलले अन्नपूर्णसँग भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १५ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । नेपालमा बालबालिकाहरुका लागि खोप उपयोगमा आएको छैन । सरकारले बालबालिकालाई मध्यनजर गर्दै फाइजर खोप ल्याउने बताए पनि कहिलेसम्म आइपुग्छ यकिन छैन ।

विज्ञहरुका अनुसार कोरोना संक्रमणबाट जोगिने उत्तम उपाय भनेकै भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग र पूर्ण खोप हो । स्वास्थ्य मन्त्रालयले संक्रमण जोखिम अझै नटरेकाले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न सचेत गराउँदैआएको छ ।

तर, प्रशासनले अनुमति दिएलगत्तै राजधानी काठमाडौँ लगायत देशभरका अधिकांश स्कुलहरु भौतिक उपस्थिति सहित खुल्न थालिसकेका छन् । यसका लागि सरकारले जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ ले स्कुल खोल्ने आधार तय गरिसकेको छ ।

जसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन तथा सम्बन्धित कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो समेतको उपयुक्त वैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सकिने भनिएको छ । त्यसका लागि स्थानीय तहको सिसफारिसमा जिल्ला कोभिड १९ व्यवस्थापन समितिले स्वीकृति दिनसक्ने कार्यविधिमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय यसै हप्तादेखि खोल्ने तयारी थालेको छ । स्मार्ट-लकडाउन कार्यविधि अनुसार काठमाडौँ जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले विद्यालय खोल्न सक्ने स्वीकृति दिएपछि महानगरले विद्यालय खोल्ने तयारी थालेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शैक्षिक संस्थाहरुमा पठनपाठन गर्नैपर्ने भए सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले डिसीएमसीसँग समन्वय गरी स्कुल सञ्चालनको निर्णय गर्नसक्ने जनाएको थियो ।

कोभिड-१९ को दोस्रो लहरसँगै गत बैशाख १६ गतेदेखि नेपाल सरकारले दोस्रोपटक लकडाउन गर्दा देशका सम्पूर्ण स्कुल बन्द गरिएका थिए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विद्यालय ल्याउने र घर पुर्‍याउने जस्ता बेलामा जोखिममा भएका बालबालिकाप्रति विशेष ध्यान दिनुपर्ने बताएको छ । विद्यालय परिसर र कक्षाकोठामा व्यक्ति-व्यक्तिबीच कम्तीमा १ मिटर दूरी कायम गर्नुपर्ने डब्लूएचओको मापदण्डमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.