अमेरिकामा पुस्तक ‘क्रेज’ घटेको छैन
युवा साहित्यकार खेम रिजाल हाल अमेरिकामा बस्छन्। भुटानमा जन्मिए, नेपालमा हुर्किए र अमेरिकामा कामसँगै साहित्य सिर्जनामा रमाइरहेका छन् उनी। १० वर्षको उमेरमा भुटानबाट परिवारसँगै झापाको बेलडाँगी शिविरमा आएपछि उनमा साहित्यको बिजारोपण भयो। साहित्य परिषद् भुटानको सचिव उनी अमेरिकी जीवनमा आइपरेका अनेक आरोह अवरोहबिच पनि नेपाली साहित्य लेखनमा आफूलाई अब्बल बनाइरहेका छन्। चारवटा गीति एल्बम, गजल र कविता संग्रह आदि गरी आठवटा कृतिका धनी रिजाल नेपाली साहित्य विश्वभर पुर्याउन चाहन्छन्। उनी १४ वर्षपछि नेपाल आएको समयमा अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानीको सम्पादित अंश।
भुटानमा जन्मिएर अमेरिका पुग्नुभयो। यो समयमा कसरी सम्झनुहुन्छ ?
साहित्यिक यात्रा कसरी सुरु भयो ?
धेरैले भन्छन्, विभिन्न प्रेरणाबाट साहित्यमा प्रवेश गरेका कुरा। तर मेरो हकमा यो प्रेरणा भन्ने कुरा व्यक्तिको छैन। प्रेरणा समयको छ, परिस्थिति र भोगाइको पनि। भुटानमा हुँदा सन् १९९६ मा आर्थिक अवस्था राम्रो थियो। जीवनले अचानक कोल्टे फेर्यो, निर्वासित जीवनमा पुग्यौं। बेलडाँगीको विद्यालयमा पढ्दा बाल्यकालको झल्कोले सताउँथ्यो। जुन समय हामी लखेटिएका थियौं, त्यो पीडाले घोचिरहेको थियो। पीडालाई शब्दमा उतार्दा–उतार्दै साहित्यिक यात्रामा जोडिएछु। सहज र असहज दुवै परिस्थितिको सामना गर्दैछु यसमा पनि। साहित्य सिर्जना नसाजस्तो भएको छ। अनुभव र भोगाइ स्वमूल्यांकन गर्दा पीडामा ठोक्किएर आएका तरंग नै साहित्यका स्रोत हुन् जस्तो लाग्छ।
पहिलो सिर्जना के थियो ?
कविता नै हो। एक जना शिक्षकले पद्य कविता लेख्न सिकाउनु भएको थियो। जीवनको भोगाइकै विषय लेखें। दुई लाइन लेखेर उहाँलाई सुनाएँ। ‘राम्रो लेख्दो रहेछौ’ भन्नुभएको थियो। त्यसपछि निरन्तर लेखें। पद्य विधा शिक्षकले सिकाउनु भयो। शब्द भण्डार कम हुँदा पद्य लेख्न गाह्रो हुन्थ्यो त्यसैले गद्य कविता नै लेखें। माहोल कविताको थियो। किताबमा पनि कविताबाट नेपालीका पाठ सुरु हुन्थे। कवितामा भावना छिटो समेट्न सक्ने भएकाले यो रोजें।
अरू विधामा पनि कलम चलाउनु भयो कि ?
कविता धेरै लेखें। कविताको एउटा पुस्तक प्रकाशन गरेको छु। सन् २००० बाट गजल लेख्न सुरु गरें। गजल संग्रह ‘किनाराको छाल’को सन् २०१३ मा निकालें। मुक्तकको पनि संग्रह छ। गीत संग्रहको तयारीमा छु। कथा पनि लेखेको छु।
साहित्य सिर्जना गर्दाका चुनौती के रहेछन् ?
विद्यार्थी जीवनमा एउटा ऊर्जा थियो, खाली बस्न मनै नलाग्ने। विद्यालयका हरेक क्रियाकलापमा सहभागिता थियो। कलेज पढ्दै साहित्य लेख्थें। चाहेपछि गरिहाल्ने मेरो बानीले हरेक गाह्रो कुरा सहज बन्दै गयो। साहित्यकै लागि भनेर समय छुट्ट्याइनँ। मन र दिमागमा आएपछि साहित्य सिर्जनालाई केहीले रोकेन र रोक्दैन पनि।
झापाको शरणार्थी शिविरमा बस्दा साहित्यिक माहोल कस्तो हुन्थ्यो ?
साहित्यिक कार्यक्रम हुन्थे। धेरै साथी हुन्थे। नाम चलेका साहित्यकार पनि आउनुहुन्थ्यो। झापाका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम हुन्थे। हामी पनि शिविर बाहिरका विभिन्न स्थानमा भएका कार्यक्रममा जान्थ्यौं। शिविरमा अन्य काम हुँदैनथे। साहित्यको यात्रामा लाग्ने एउटा भूमिको रूपमा झापालाई सकारात्मक रूपमा लिएको छु।
साहित्यमा मेचीदेखि महाकालीसम्मको अवस्थालाई कसरी हेर्नुभएको छ ?
सो समयमा जति पूर्वमा साहित्यमा लाग्नेको ऊर्जा थियो पश्चिममा भेटिनँ। विभिन्न विद्यालयमा पढाउने क्रममा धेरै जिल्ला डुलेको छु। धेरै साहित्यिक गोष्ठी त पूर्वका जिल्लामा नै हुन्थे। साहित्यकार पनि नाम चलेका दाइहरूको सक्रियता पाएको थिएँ त्यो समयमा। नेपालको मध्यभागमा त बसिनँ तर पूर्वमा साहित्यको बहस सो समयमा धेरै हुने गरेको थियो। काठमाडौंभित्र बसेर लेख्ने र साहित्यिक माहोल बनाउने हस्तीहरू हुनुहुन्थ्यो। तर, पश्चिमको तुलनामा पूर्वमा साहित्यिक पत्रपत्रिका निकाल्नेदेखि कार्यक्रम गर्ने र लेख्ने कुरामा धेरै थिए।
अमेरिकाबाट १४ वर्षपछि नेपाल आउनुभएको छ। यहाँको साहित्यमा के कति परिवर्तन पाउनुभयो ?
पहिले गोष्ठी धेरै हुन्थे। साहित्यिक कार्यक्रममा पुग्न भ्याइनभ्याइ हुन्थ्यो। हुन त अहिले दुई वर्षको समय कोरोना महामारीले पनि सामाजिक दूरी कायम गराएको हुनुपर्छ। हरेक क्षेत्र जस्तै यो पाटो पनि कोरोना महामारीको मारमा परेको होला। तर, साहित्यिक माहोल पहिले जस्तो त पटक्कै छैन। सबै व्यावहारिक भएर पनि होला। अनि यो पेसामा लाग्दा जीविकोपार्जन हुँदैन भन्ने लागेर पनि हुन सक्छ। कोही कामको सिलसिलामा विदेश पुगे होलान्। कृतिगत कुराहरू त धेरै भएको देख्छु। पुस्तक धेरै निकालेर। तर साहित्यिक बहस, छलफल, समस्याका विषयमा कुराकानी आदि माहोल हराएछ अब, सायद कोरोनाले।
साहित्यिक माहोल किन हरायो होला ?
नेपालमा साहित्यलाई मात्रै मुख्य पेसा बनाउँछु भनेर बाँच्न सक्ने अवस्था रहेन। एक समयको जोस थियो, युवा साहित्यका लागि केही गरौं भनेर लागेका थिए। तर, जब व्यावहारिक जीवनको सुरुआत हुन्छ। आर्थिक स्रोत पनि मजबुत बनाउनुपर्ने अवस्था हुन्छ। साहित्यिक सिर्जना गरेर मात्रै गुजारा चलाउन सकिँदैन भनेर धेरै साहित्यमा राम्रो दक्खल राख्न सक्ने साथीहरू पनि बिदेसिएका छन्। कोही जागिर खाँदैछन्। हौसला दिने र सही बाटो देखाइदिने मान्छे नहुँदा कोही कलम बन्द गरेर अन्य क्षेत्रमा पनि पलायन भएका छन्। राजनीतिक उतारचढावमा युवाको प्रयोग, मुलुकमै रोजगारी नपाउने अवस्था र साहित्यलाई गर्ने सम्मान राज्यबाट नपाएकाले साहित्यिक क्षेत्र धरापमा परेका छ। कृति निकाल्ने धेरै छन्। तर, मूल्यवान् कृति दिने कम छन्। पैसा हुनेले जस्तो पनि किताब निकाल्छन्। नहुनेका राम्रा पाण्डुलिपि थन्किएका छन्।
यी सबैका बाबजुद तपाईंलाई कसरी वातावरण मिलेको छ ?
वातावरण विशेषले मान्छेलाई छिटो भावनामा डुबाउँछ। मलाई पनि पहिलेको तुलनामा अहिले धेरै कुरामा समय मिल्दैन। लेखेपछि अलि राम्रै लेखौं भन्ने हुन्छ। अझै गहिरो रूप दिनुपर्छ भन्ने पनि हुन्छ। नेपालमा धेरै कुराले साहित्यमा लाग्न प्रेरित गथ्र्यो। अमेरिकामा कामलाई प्राथमिकता दिनुपर्ने अवस्था भएकाले कठिन छ। तर, काम गरेको समयमा पनि सोचेका कुरालाई कोठामा पुगेपछि शब्दमा उतार्छु। भोगाइ र कल्पनालाई शब्दमा उतार्छु।
सिर्जनाका लागि कति समय दिनुहुन्छ ?
गीत लेख्न समय नै लाग्दैन। कुनै समय त बसेकै समयमा गीत लेखेर सकेको छु। १० मिनेटमा पनि गीत लेखेर सकेको छु। कहिलेकाहीँ गीतको सुरुआत राम्रो हुन्छ। त्यसपछि अघि एकदुई दिनसम्म पनि बग्दैन। कथा, गजललाई चाहिँ धेरै समय लगाएको छु। समय भएको बेला लेख्नकै लागि बस्दा कुनै कुरालाई एकै पटकमा सकेको छु।
पछिल्लो समय प्रविधिको विकास भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइल सेटमै पढ्ने चलन छ। यसरीलाई कसरी हेर्नु भएको छ ?
केही सहजता त बनाएको छ। सबै पुस्तक इन्टरनेटमा नै पाइन्छ भन्ने पनि छैन। पहिले आफ्ना सिर्जना छाप्न कुनै पत्रिकाको भर पर्नुपर्ने बाध्यता थियो। अहिले त्यो छैन। अनलाइनमा आफैं राखेर पाठकसम्म पुर्याउन सकिन्छ। सामाजिक सञ्जालमा राख्न सकिन्छ। तर, लेख्नेलाई धेरै स्थान भए पनि पढ्नेले खोजेर पढ्न छाडेको महसुस भएको छ। साहित्यमा रुचि राख्नेले खोजे पनि धेरैलाई सामाजिक सञ्जालले अरू नै कुरामा अल्झाएको छ।
साहित्यको विकासका लागि नेपालले के गरे हुन्थ्यो ? कसको भूमिका के होस् ?
साहित्यले विश्वमा मुलुकलाई चिनाउँछ। हरेक स्थानको प्रचारमा साहित्यकारले चाहे भने कुनै कुरा सबैको मुखमा कण्ठ पार्ने अवस्थामा पनि पुर्याउँछन्। तर, यसको महत्त्व अझै पनि सरकारले बुझेको देखिँदैन। साहित्यकारको भूमिकालाई सम्मान छैन। साहित्यिक संघसंस्थालाई सहयोग छैन। यो कुरामा सरकारको ध्यान पुगे हुने थियो। मुख्य कुरा त राज्यले संरक्षण गर्नमा चासो दिनुपर्छ। साहित्यकारले पनि आफूलाई तिखार्दै जानुपर्छ। पुस्तक लेखेर मात्रै हुँदैन। पुस्तकमा खुराक राम्रो भयो भने यो क्षेत्रको महत्त्व बढ्छ।
अमेरिकाको साहित्यलाई कसरी बुझ्नुभएको छ। नेपालले त्यहाँबाट के सिक्नुपर्छ ?
नेपालमा पुस्तक पढ्ने बानी हराउँदैछ। अमेरिकामा गाडीभित्र बस्दा पनि पुस्तक पढ्छन्, अध्ययन गर्छन्। अध्ययन गरेर लेखेका कुरा राम्रा हुन्छन्। अनलाइनमा राखिएका साहित्यलाई पनि मूल्य तोकिएको हुन्छ पढ्नका लागि। यसले साहित्यकारलाई पनि यो पेसामा टिकाउन मद्दत गर्दो रहेछ। नेपालमा हामी यसरी व्यवस्थित हुन सकेका छैनौं। क्रमशः यस्ता कुराको सुधार गर्दै गए राम्रो हुने थियो।
अमेरिकामा पनि नेपाली साहित्यकार छन्। नेपाल र अमेरिकाको साहित्यलाई जोड्न के कस्तो भूमिका खेल्नु भएको छ ?
साहित्य परिषद् भुटान, नेपाल प्रज्ञा प्रतिष्ठानसहित अन्य साहित्यकारलाई भेटेर नेपालको साहित्य सिर्जनालाई अन्य मुलुकसम्म पुर्याउन आग्रह गरेको छु। अन्य मुलुकको अनुभव नेपालमा सेयर गर्नेसम्मका काम गर्न छलफल चलाएको थिएँ। केही गर्नुपर्छ भन्ने सल्लाह भएको छ।
अबको तपाईंको साहित्यिक यात्रा कस्तो रहन्छ ?
कामसँगै साहित्यलाई पनि निरन्तरता दिन्छु। म हुर्किएर सिकेको नेपाल हो। यहाँको साहित्यको क्षेत्रलाई विकास गर्न मेरो तर्फबाट गर्ने काम गर्छु। गीतको एल्बम निकाल्दैछु। यो क्षेत्रमा सिक्न धेरै छ।