बीपी प्रतिष्ठानमा तोडफोड
धरान : चिकित्सकहरुले काम छाडेर आन्दोलन चर्काएपश्चात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड गरिएको छ। सोमबार संघिय लिम्बुवान मञ्च, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड गरेका छन्।
८४ औं दिनदेखि प्रतिष्ठान सुधारको माग राखेर यहाँका चिकित्सक र कर्मचारीहरुले आन्दोलनलाई जारी राखेका छन्। आइतबारदेखि चिकित्सकहरुले स्वास्थ्य उपचार बहिष्कार गरेको भन्दै लिम्बुवान, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्याकक्षमा लगाएको ताला तोडफोड गरेका छन्। उनीहरुले उपकुपति कार्यालयको मुल ढोका समेत तोडफोड गरेका छन्।
संघिय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले बिरामी चेकजाँच गर्न छाडेपछि त्यस्को विरुद्धमा उपकुलपति कार्यालयमा लगाइएको ताला फोडिदिएको बताए। उनले बिरामीलाई दुःख दिने नियतले चिकित्सक, नर्स र कर्मचारीहरुले काम बहिष्कार गरेपछि आफूहरुले आन्दोलन गरेको बताए।
सयौंको संख्यामा गएका दलका कार्यकर्ताहरुले प्रतिष्ठानको डेण्टल गेटको ताला फोडेरभित्र प्रवेश गरेका थिए। प्रहरीले दलका कार्यकर्तालाई रोक्न खोज्दा दुबैतर्फ झडप भएको थियो। झडपमा केहि दुई प्रहरी र एक प्रदर्शनकारी दलका कार्यकर्ता घाइते भएका छन्। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरैनद्र कुवरले प्रतिष्ठानमा नाराबाजी गर्दै आएका विभिन्न दलका कार्यकर्तालाई बल प्रयोग गरी तितरवितर पारेको बताए। उनले बल प्रयोग गर्ने क्रममा दुई प्रहरी घाइते भएको बताए।
बीपी प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले राजनैतिक दलका कार्यकर्ताले गुण्डागर्दी शैलिमा प्रतिष्ठानमा आएर तोडफोड गरेको घटनाको घोर भत्र्सना गरेका छन्। उनले प्रतिष्ठानमा भ्रष्ट्रचार भयो, दोषिलाई कारवाहि गर्नुपर्छ भनेर ८४ औं दिनदेखि आन्दोलन गरिरहेको समयमा दलका कार्यकर्ताहरु गुण्डागर्दी शैलिमा प्रतिष्ठान प्रवेश गरी भ्रष्ट्रचारीलाई संरक्षण गर्ने प्रष्ट भएको बताए।