‘बुवा हुन पाइनँ’
आज कुशे औंसी । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् । आजको दिनलाई बुवाको मुख हेर्ने र पितालाई सम्मान गरी यो पर्व मनाउने उनीहरूमा प्रचलन छ ।
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।
तर वृद्धावस्थामा छोराछोरीको माया ममता अनि आड भरोसा हुनुपर्नेमा कतिपयको भने त्यो भरोसा टुटेर सन्तानसुखबाट बञ्चित हुनु परेको छ। यस्तै मध्येका अमिर राणा र कृष्णप्रसाद कडरिया पनि हुन् ।
काठमाडौं : अमिर राणा ७२ वर्षका भए। मूल घर महाराजगन्जमा भए पनि अहिले उनको परिवार विराटनगरमा बस्छन्। पुख्र्यौंली घर दाजुले लिएपछि उनी सपरिवार विराटनगर सरेको पनि चार दशक बढी भइसक्यो। परिवारमा अन्य सदस्यसँग कुरा बाझिँदै गएपछि उनी घर छाडेर काठमाडौं आए। विगत २२ वर्षदेखि पशुपति गौरीघाटमा उनको पाटीको बास भएको छ।
उनको जेठो छोरा पेसाले इलेक्ट्रिक इन्जिनियर हुन् भने कान्छो छोरा कम्प्युटर इन्जिनियर हुन्। ‘पहिलेपहिले छोराहरूले फोन गर्थे, तर म आफै उठाउँदैन थिएँ,’ उनले आवेशमा आउँदै भने। छोराहरूसँग उनी कुराकानी गर्न चाहँदैनन्। श्रीमतीसँग पारपाचुके त भएको छैन। तर छुट्टिएर बसेको लामो समय भइसक्यो। केही हदसम्म आफ्नै बुद्धि बिग्रिएर पनि घर भाँडिएको उनी स्वीकार्छन्। छोराहरू साना छँदा औंसीका दिनमा खानेकुरा र मिठाइ दिएर मुख हेरेको उनलाई याद छ। अझै तिहारमा झन् धेरै रमाइलो हुने पनि उनी सम्झन्छन्। तर, हिजोआज यो साइनो यति बिरानो भइसक्यो कि परिवार छ भन्ने पनि उनलाई याद छैन। ‘याद आउने र जाने कुरा
सकियो,’ उनले झोक्किँदै भने। बीसौं वर्षसम्म छोराहरूले वास्ता नगर्दा ‘बाबु हुन पाइनँ’ भन्ने पीडाले उनलाई धेरै सताउँछ। वृद्धभत्ताले उनी आफ्नो केही गुजारा चलाउँछन्।
त्यस्तै, उनकै उमेरका कलैया, रघुनाथपुरका जयनाथ बर्माले पनि पशुपति क्षेत्रमै दिन कटाउन थालेको १० वर्ष भइसक्यो। चार वर्ष भयो उनको पत्नी बितेको। छोरा काठमाडौंकै एक अस्पतालमा डाक्टर छन्। गाउँको ३ बिघा जमिनमा गरेको कृषि कर्मबाट आएको आम्दानीले उनले छोरालाई ब्याङ्लोरमा पढाए। भएका जग्गा जमिन पनि छोराकै नाममा गरिदिए । डाक्टर छोराका यी बाबुको पाटीको बास भएको छ। यति दुःख गरेर पढाएको छोराको पनि बाबु हुन सकिन भन्ने पीडाले त उनलाई सताउँछ नै। छोराले ‘आउनुस् सँगै बसौं’ नभनेपछि उनलाई ‘मेरो पनि परिवार छ’ भन्ने कहिले लाग्दैन।
कृष्णप्रसाद कडरिया पशुपति क्षेत्रमा बस्न थालेको ३० वर्ष भयो। रामेछाप घर भएका कडरिया एसएलसी परीक्षा नदिई काठमाडौं आएका हुन्। ७२ वर्षीया कडरियाका बाबुले ६ जनासँग बिहे गरेका थिए। सबै पट्टिका दाजुभाइ दिदीबहिनी जोड्दा धेरै हुन्छन्। तर, अहिले उनको कोहीसँग पनि सम्पर्क छैन। सानोमा आफ्ना दौतरीको बिहे भोजमा जाँदा पनि उनलाई बिहे गर्ने रहर कहिले भएन। बाबुआमाले कहर गर्दा पनि वैवााहिक जीवनमा प्रवेश गर्न उनलाई मन लागेन।
त्यसैले पनि यो उमेरमा आएर ‘बुवा हुन पाइनँ’ भन्ने तुष उनलाई कहिल्यै भएन। छोराछोरी हुनेका पनि बिजोग भएको उनले आँखै सामु पशुपति वृद्धाश्रममा धेरै देखेका छन्। त्यो देख्दा बरु बिहे नगरी ठिकै गरेछु भन्ने लाग्छ। तर, उनका आश्रममा आउनेहरू सबैले उनलाई बुवाभन्दा आनन्द लाग्छ। चाडपर्व आउँदा पनि परिवार छैनन् भन्नेमा ध्यान कहिले जाँदैन। यसको सट्टामा भगवान्को ध्यानमा आनन्द लिएर उनी रमाउने गर्छन्।