‘छोराछोरीको आस मात्रै’

‘छोराछोरीको आस मात्रै’

आज कुशे औंसी । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् । आजको दिनलाई बुवाको मुख हेर्ने र पितालाई सम्मान गरी यो पर्व मनाउने उनीहरूमा प्रचलन छ ।

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन्। आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।

तर वृद्धावस्थामा छोराछोरीको माया ममता अनि आड भरोसा हुनुपर्नेमा कतिपयको भने त्यो भरोसा टुटेर सन्तानसुखबाट बञ्चित हुनु परेको छ। हीरालाल नेपाल पनि  यस्तै मध्येका एक पात्र हुन् ।


काठमाडौं : हीरालाल नेपालको घर बाह्रबीसे हो। ४५ वर्षीय नेपालको सानैदेखि तोते बोली थियो। उनका आमाबुबासमेत कान्छो छोरा साह्रै सोझो छ भनेर सधैं चिन्तित हुन्थे। 

‘मैले पछि दुःख पाउँछु की भन्ने लागेर उहाँहरूले मर्ने बेलामा पनि मेरो दाजुलाई कान्छोको ख्याल गरेस् है भनेर बित्नुभयो,’ आमाबुबाको आफूप्रतिको माया उनले यसरी सुनाए। 

उनको दाजु अहिले कलंकीमा छन्। दाजुसँग मात्र बोल्न उनले मोबाइल बोकेका छन्। तर, आफ्नो परिवार र घर छाडेर पशुपतिनाथको शरणमा आएको ४ वर्ष बितिसक्यो। छोराछोरी साना हुँदा सम्बन्ध राम्रै थियो। पछि छोराले कमाउन थाले। छोराको कमाइ खान पाएपछि पत्नीले समेत वास्ता गर्न छाडेको उनको गुनासो छ। उनका तीन छोरा र एक छोरी गरी चार सन्तान छन्। छोराछोरी जागिरे र आफू जागिरविहीन भएपछि उनीहरूलेसमेत बाबु हुनु र नुहुनु एउटै भयो भन्दै हिँड्न थाले। यहाँसम्मकी पत्नीले समेत उतै लागेर आफूलाई हेला गर्न थालेको उनी बताउँछन्। 

गाउँमा अरूका छोराछोरीले जागिर खाएर बुबाआमालाई सुख दिएको देख्दा उनलाई पनि भोलि आफ्ना छोराछोरीले पनि यसै गर्लान् भन्ने आस थियो। घाम पानी नभनि १२ वर्षको उमेरदेखि अरूको खेताला गरेरै उनले छोराछोरी हुर्काएका थिए। आफूले पाए जस्तो दुख छोराछोरीले नपाउन् भन्नेमै उनले सधै ध्यान दिए। तर, अहिले बुढेसकालमा सहारा कोही नभएकोमा उनलाई धेरै दुःख लाग्छ। ‘चाडपर्व आउँछन् सधैं रुवाएरै जान्छन्,’ उनले भने,‘ तर मैले आफूलाई बलियो बनाइसकें, अब कसैको याद पनि आउँदैन, मनमा चिन्ता पनि लाग्दैन।’

त्यस्तै, भक्तपुर मध्यपुर ठिमी नगरपालिकामा जन्मिएका चन्द्रबहादुर महर्जनका एक छोरा र ६ छोरी छन्। उमेरले ८१ वर्ष लागेका उनलाई पनि छोराछोरी र परिवार सम्झने पटक्कै मन छैन। उतिबेला भक्तपुरका नेवार समूदायमा छोरीलाई पढाउने भन्ने त्यति चलन थिएन। तर उनले धेरै हण्डर खाएर भए पनि छोराछोरी सबैलाई धेरथोर पढाए। अहिले उनले चाहेर परिवारका कसैसँग भेट हुन सक्दैन। उनीहरूले चाहे भने कहिलेकाहीं भेट्न आउने उनी बताउँछन्। ‘तिमीहरू आफ्नो हिसाबले गरी खाउ, मेरो बाटो फरक छ भनेर मैले घर छाडेको हुँ,’ उनले भने। 

उनका बुबा, जिजुबुबाहरू जमिनदार थिए। त्यतिबेला बुबाहरूको शानमान र इज्जत उनलाई अहिले पनि सम्झना छ। आज आफ्ना परिवारले कुरा नसुन्दा घर छाडेर हिँड्नुपरेको दुखेसो उनको छ। तर, पनि आफ्नै हिसाबले आश्रममा दिन बिताएर उनी खुसी हुने प्रयास गर्छन्। ध्यान र जप नै अहिले आफ्ना खुशीका स्रोत बनेका उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.