साँझमा सन्तानको पर्खाइ
आज कुशे औंसी । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् । आजको दिनलाई बुवाको मुख हेर्ने र पितालाई सम्मान गरी यो पर्व मनाउने उनीहरूमा प्रचलन छ ।
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।
तर वृद्धावस्थामा छोराछोरीको माया ममता अनि आड भरोसा हुनुपर्नेमा कतिपयको भने त्यो भरोसा टुटेर सन्तानसुखबाट बञ्चित हुनु परेको छ। यस्तै मध्येका एक पात्र हुन् हीराबहादुर भट्टराई ।
चितवन : झमक्क साँझ परेपछि आश्रमको गेट बन्द भए। ढोकाबाट बाहिर हेर्दै गरेका हीराबहादुर भट्टराईको आँखा केही रसिला देखिन्थे। आज (मंगलबार) कुशेऔंसी, बुवाको मुख हेर्ने दिन। आफ्ना सन्तान सम्झिँदै थिए। आफ्ना सन्तानलाई बाल्यकालमा काँधमा बोकेको, उनीहरूलाई हुर्काउन गरेको दुःख सम्झिन्छन्,भक्कानिन खोज्छन् अनि सम्हालिन्छन्।
बुवाको मुख हेर्ने औंसीमा छोराले नसम्झिएको धेरै वर्ष भयो। पहिले सन्तानलाई धेरै माया गर्ने हीराबहादुर तिनै सन्तानको व्यवहारले मन अमिलो बनाउँछन्। छोराछोरी पाएपछि केही गरौंला भन्ने उनको सपना थियो। दुःख गरेर खाइनखाई सन्तानलाई हुर्काए, पढाए। बुढेसकालमा छोराछोरीसँगै बसेर नातिनातिना खेलाउने रहर थियो। तर, उनलाई सबैले छोडेर हिँडे। ‘उचालियो÷बोकियो, माया गरियो पछि उनैले हेला गरेर यहाँ आइयो,’ उनले भने, ‘हामीले गर्ने कर्तव्य गर्न छोडेका छैनौं। उनीहरूले हेर्न सकेनन् निस्किएर हिँड्यौं। यहाँ आनन्द भएको छ। उनीहरूले गरेको व्यवहारले घरै सम्झिन मन लाग्दैन।’
८७ वर्षका हीराबहादुर श्रीमती रेककुमारीको साथमा देवघाटको वृद्धाश्रममा बस्दै आएका छन्। उनी ७८ वर्षकी भइन्। छोराका कारण उनी घर बस्न सकेनन्। अनि आफ्ना सबै पीडा भुलाउन उनले वृद्धाश्रम रोजे। उनीसँग सन्तानको सम्झना मात्रै छ। आजभोलि सन्तान पनि सम्झन उनको मनले मान्दैन। दाङको घोराहीका हीराबहादुरको छोरा नेपाली सेनाको अवकाश प्राप्त जम्दार हुन्। छोराबुहारीले औंसीमा खोज्लान् भन्ने उनलाई आस छैन।
सन्तानको व्यवहारले मन विक्षिप्त भएपछि ९० वर्षीय छविलाल उपाध्याय अधिकारीले सन्यासी जीवन रोजे। छोराले हेला गरेपछि उनले घर गृहस्थी त्यागेर बसेका छन्। अहिले उनी त्यसैमा रमाएर वृद्धाश्रममा रमाएका छन्। आफूले माया गरेर हुर्काएको तीन छोराले उनको वास्ता गर्न छोडेनन्। गोरखाको भच्चेकबाट आएका ८५ वर्षीय ज्ञानप्रसाद धितालले घर सम्झिनै मान्दैनन्। तीन छोराबुहारी र ६ नातिनातिना छन्। तर, उनको बास वृद्धाश्रममा छ। चितवनतर्फको देवघाटस्थित गलेश्वर आश्रममा पचास जना वृद्धावृद्धाहरू बसेका छन्। बिहान भजनकिर्तन, योगा, ध्यान गरी घरको तनाव बिर्सन्छन्। यसले सबै पिर भुलेको नवलपुर कावासोतीका लक्ष्मीप्रसाद पौडेलले बताए।