नेपाली मनका मोतीराम
नेपाली भाषासाहित्यका अमर विभूति युवककवि मोतीराम भट्ट अग्रज प्रतिभा हुन्। नेपाली भाषासाहित्यको छामछाम र छुमछुमको युगमा बदलीभित्र लुकेका जातीयताका कवि भानुभक्त आचार्यबाट प्रारम्भ भएको भाषिक एकताका साथै साहित्यको सिर्जनात्मक कार्यलाई हुर्काउने दायित्व मोतीरामबाटै भएको हो। उनी नेपाली युवाका लागि पनि प्रेरणाका आलोक हुन्। राष्ट्र र समाजको मर्मलाई बुझ्ने पारखीहरूको जन्म लाखौंमा एक पनि मुस्किलले हुने गर्दछ। युवककवि मोतीराम यही कोटीमा पर्छन्।
पुगनपुग ३० वर्षको कलिलै उमेरमा मोतीरामले नेपाली वाङ्मयको बहुपक्षीय क्षेत्रमा समर्पण गरेको योगदानको वीरगाथा हिमचुलीजस्तै छ। यिनै मूर्धन्य साधक मोतीरामको व्यक्तित्वलाई नेपाली समाजमा जीवन्त राख्ने कैयौं रचनात्मक कार्यमध्ये युवावर्ष मोती पुरस्कारको स्थापना र यसको कार्यान्वयन पनि एक महत्त्वपूर्ण पक्ष हो। भानुभक्तबाट प्रारम्भ भएको भाषिक र जातीय एकता हुर्काउने दायित्व कवि मोतीरामबाट भएको हो। प्रत्येक वर्ष भाद्र कुशेऔंशीका दिन यिनै राष्ट्रिय विभूति मोतीरामको जन्मजयन्ती मनाउने परम्परा कायम छ।
आदिकवि परलोक हुनुभन्दा दुई वर्षअघि काठमाडौंका पण्डित दयाराम भट्टको कुलमा जन्मेका मोतीराम ३० वर्षको उमेरमा नेपाली साहित्यमा राष्ट्रिय विभूतिद्वारा सम्मानित हुन पुगे। मोतीरामको मन आधुनिक मात्र होइन, उनी परिवर्तनका अनुयायी थिए। पण्डित कुलमा जन्मेका र सानै उमेरमा बाबुआमासँग बनारसमा गई संस्कृतको अध्ययन गरेका कारण उनी धेरै भाषाका ज्ञाता पनि भए। उनी प्रतिभाका बेजोड धनी थिए। नेपाली साहित्यमा मोतीराम शृंगारिक धाराका प्रवर्तक र प्रतिभा सम्पन्न व्यक्तित्व हुन्।
नेपाली साहित्यको माध्यमिककालमा मोतीराम मूलतः तीन तथ्यका लागि सही आन्दोलक भए। प्रथमतः उनले बदलीभित्र लुकेका भानुभक्तलाई उनका कृति संकलन गरी प्रचारप्रसार गरे। दोस्रो, अद्वितीय समर्पण र तेस्रो, निस्वार्थका साथ भानुभक्तपछि चक्रपाणि चालिसे र लेखनाथ पौड्याल नआएसम्मको साहित्यिक युगलाई समेत उनले प्रतिनिधित्व गरे। यस क्षेत्रमा उनको चौतर्फी ध्यान पुगेको देखिन्छ। उनले समकालीन कविहरूलाई साहित्य लेखनतर्फ प्रेरणा जगाए। उनका मौलिक कृतिहरूको चर्चा गर्दा सर्वप्रथम १९४४ सालमा प्रकाशित काव्य उषाचरित्रलाई लिइन्छ।
नेपाली साहित्यमा कविता, काव्य, नाटक, पत्रकारिता, जीवनी, गजल, संवाद र सम्पादन विधामा कलम चलाएका मोतीरामका प्रकाशित कृतिहरू क्रमशः मनोद्वेग–प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, प्रल्हाद भक्तिकथा, गफाष्टक, उषाचरित्र, तीजको कथा, उखानको बखान, गुलसनाबेर, बालाजी वर्णन, चाणक्य नीति, कमल भ्रमर संवाद, काशीराज चन्दसेन, संगीत चन्द्रोदय, स्वप्नाध्याय, प्रियदर्शिका, पिकदूत, कालमहिमा, शकुन्तला, कविसमूह वर्णनम् र कवि भानुभक्तको जीवनचरित्र छन्। कवि मोतीरामले भानुभक्तीय रामायणको पनि अनुवाद सम्पादन गरेका छन्। यसका साथै उनका दुई दर्जनभन्दा बढी फुटकर कविता छन् भने गजल र गीतको पाटो त्यतिकै बलियो छ। समस्यापूर्ति कविताले उनको प्रतिभाको थप परिचय दिएको छ। उनको शृंगारिक कविता पिकदूत ज्यादै मीठो काव्य हो।
पिकदूत पहिलोपटक १९७४ सालमा सुक्तिसिन्धुमा प्रकाशित भएको हो। सुक्तिसिन्धु नेपाली साहित्यजगत्मा प्रभावकारी भूमिका खेल्ने कविहरूका शृंगाररस प्रधान कविताको संकलन हो। उनले नेपाली पत्रिका गोर्खा भारत जीवनको पनि सम्पादन कार्य गरे। भानुभक्तको जीवनचरित्र प्रकाशित गर्नु महत्त्वपूर्ण पक्ष हो। नेपाली साहित्यमा पहिलो जीवनीपरक समालोचनात्मक कृति कवि भानुभक्तको जीवनचरित्र १९४८ भदौमा भारतजीवन यन्त्रालय काशीबाट सार्वजनिक गरे। त्यसपछि भाषासाहित्यको क्षेत्रमा भानुभक्तको व्यक्तित्व र कृतित्वका बारेमा चिन्तनमनन, अध्ययन–अनुसन्धान र टीकाटिप्पणी आआफ्नै शैली, क्षमता र अनुभवका आधारमा हुन थाले। यो क्रम भानुभक्तको जीवनी सार्वजनिक भएको १ सय ३१ वर्ष बित्दा पनि तथ्यपरक उठानको भ्रम निरूपण हुन सकिरहेको छैन।
कवि भानुभक्तको जीवनचरित्र भानुभक्त जन्मेको ७८ वर्ष र निधन भएको २४ वर्षपछि मोतीरामले २५ वर्षको उमेरमा प्रकाशित गरेका हुन्। नेपाली वाङ्मयको क्षेत्रमा कवि, नाटककार, गजलकार, जीवनीकार, समस्यापूर्तिकार, समालोचक, अन्वेषक, पत्रकार, पत्रिका तथा छापाखाना प्रबन्धक एवं पुस्तकालयको संस्थापकका रूपमा मोतीरामको योगदानको मूल्यांकन गर्न सकिन्छ।
नेपाली समाजको तत्कालीन परिवेश संस्कृतकै विद्वान्हरूको आधिपत्य जस्तै थियो। तापनि भानुभक्तले नेपाली भाषामा रामायण लेखेर परिस्थितिलाई कडा चुनौती भने दिए। जहाँनियाँ शासनको समय उर्दु र फारसीको प्रभावले नेपाली भाषा फस्टाउन नसकेको अवस्थामा नाटकहरू पनि उर्दु र फारसी भाषामा नै मञ्चन हुन्थे। त्यस प्रकारको परिपाटीलाई अन्त्य गरी शकुन्तला र प्रियदर्शिका नाटक मोतीरामले नेपाली भाषामा मञ्चन गरेका थिए।
मोतीरामलाई राष्ट्रिय विभूतिका रूपमा देशले सम्मान गरेकै कारण युवककवि भनेर सम्बोधन र स्मरण गर्नुको पछाडि सवल कारणहरू पर्याप्त छन्। उनी ३० वर्षमात्र बाँचे, सो अवधिमा नेपाली भाषासाहित्यको सेवामा गरेको योगदान अविस्मरणीय छ। मोतीरामका अनेकन फुटकर कवितामध्ये नेपालको राष्ट्रिय महिमा प्रस्तुत ‘अचल झण्डा’ प्रसिद्ध कविता हो। उनको भावना आकाशजस्तो निर्मल थियो। अरूलाई उठ्न नदिएर आफूमात्रै अगाडि बढ्ने संकुचित भावना उनमा बिलकुलै थिएन। १९५३ भाद्र कुशेऔंसी आपूm जन्मेकै दिन ३० वर्षको उमेरमा पशुपति आर्यघाटमा निधन भयो। १४ वर्षकै उमेरमा विवाह गरे पनि उनका सन्तान भएनन्। परिवारमा आमा, बाबु र बहिनी मात्र भएको देखिन्छ।