काँकडभिट्टा नाकाबाट मालबाहक सवारीमा इन्धन तस्करी

काँकडभिट्टा नाकाबाट मालबाहक सवारीमा इन्धन तस्करी

झापा : पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिदै आएका भारतीय मालबाहक सवारी साधनले पेट्रोलियम पदार्थको तस्करीमा नयाँ शैली अपनाएका छन्। मालबाहक सवारीमा अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थ भारततर्फ तस्करी भइरहेको खुलेको हो।

तस्करीमा संलग्नले मालवाहक भारतीय सवारीमा अतिरिक्त ट्याङ्की राखेका छन्। ठूलो क्षमताका अतिरिक्त ट्याङ्कीमा पेट्रोलियम पदार्थ भरेर काँकडभिट्टा नाकाबाट भारत लैजाने गरिएको छ। 

अतिरिक्त ट्याङ्की जोडेर भारतीय मालवाहक सवारीका धनी र तिनका चालकले पेट्रोलियम तस्करीको धन्दा चलाइरहेको खुलेको प्रहरीले जनाएको छ। नेपाल भित्रिएका कतिपय भारतीय सवारीले अतिरिक्त ट्याङ्की जडान गरेर सीमावर्ती क्षेत्रका पम्पबाट नियमित पेट्रोलियम पदार्थ ओसार्ने गरेको भेटिएको हो। 

अतिरिक्त ट्याङ्की जोडेर पेट्रोलियम पदार्थ तस्करी गर्दै आएको एउटा भारतीय सवारी साधनलाई सोमवार प्रहरीले काँकडभिट्टा नाकाको मेची पुलबाट नियन्त्रणमा लिएको छ। डब्लुबी ७४ डी २४४१ भारतीय नम्बर प्लेटको मिनी ट्रक भारत छिर्न लाग्दा प्रहरीको फन्दामा परेको हो। नेपाली वस्तु ढुवानीका लागि बिहान नौबजे नेपाल छिरेको उक्त ट्रकले धुलावारीसम्म आएर पेट्रोलियम पदार्थ भरेको थियो।

‘भारतीय मालवाहक ट्रकले सीमापार गर्न लाग्दा अतिरिक्त ट्याङ्कीमा पेट्रोलियम पदार्थ लगिरहेको सूचना पायौँ’, झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले भने, ‘तत्काल खटिएको प्रहरी टोलीले मेची पुल नजिक ट्रक रोक्न सफल भयो।’ केही मिनेट ढिलो भएको भए ट्रक सीमापार भइसक्ने थियो। ट्रकले जडान गरेको अतिरिक्त ट्याङ्कीमा ५५० लिटर डिजल भेटिएको डीएसपी थापाले बताए। 

प्रहरीले ट्रक चालक भारत पश्चिम बंगालको नक्सालबारीस्थित रथ खोलाका ३० वर्षीय विकास दास र सह चालक ३४ वर्षीय सुजल साहलाई पक्राउ गरेको छ। उनीहरुले नेपालका पम्पबाट नियमितरुपमा पेट्रोलियम पदार्थ लैजाने गरेको प्रहरीलाई बताएका छन्। प्रहरीले पहिलो पटक यसरी अतिरिक्त ट्याङ्की राखेर पेट्रोलियम पदार्थ लैजाने भारतीय मालवाहक सवारी र तिनका चालकलाई समातेको हो।

अतिरिक्त ट्याङ्की जडान गरेर कहिलेदेखि सीमावर्ती नाकाबाट पेट्रोलियम पदार्थ तस्करी भइरहेको छ भन्ने विषयमा प्रहरी पनि अनभिज्ञ छ। कोरोना भाइरसको संक्रमण सुरु भएयता भारतीय मालवाहक सवारी साधनमार्फत पेट्रोलियम तस्करीका लागि नयाँ उपाय अपनाइएको हुनसक्ने प्रहरीको अनुमान छ। ‘यसअघि झापाको मध्य र पश्चिमी सीमा नाकाबाट ड्रममा हालेर पेट्रोलियम तस्करी भइरहेको थियो’,डीएसपी थापाले भने, ‘अहिलेको घटना विल्कुल नयाँ हो।’

भारतको पश्चिम बंगालमा नेपालमा भन्दा पेट्रोलियम पदार्थको मूल्य बढी भएकाले नेपालबाट तस्करी बढेको हो।  मूल्य कम पर्ने भएकाले भारतीय सवारी साधन इन्धन भर्न नेपालका पेट्रोल पम्पमा आउने गरेका छन्। पश्चिम बंगालमा डिजेलको प्रतिलिटिर मूल्य भारतीय ९१ रुपैयाँ ७१ पैसा छ। नेपालमा त्यही डिजल प्रतिलिटर भारतीय ७० रुपैयाँ अर्थात १११ रुपैयाँ ५० पैसामा किन्न पाइन्छ। पश्चिम बंगालमा भन्दा झापामा डिजेलको मूल्य भारतीय २३ रुपैयाँ सस्तो छ। 

नेपालमा भन्दा भारतमा पेट्रोल पनि महँगो पर्छ। नेपालमा प्रतिलिटर १३० रुपैयाँमा पेट्रोल पाइन्छ। भारतमा १६३ रुपैयाँ पर्छ। नेपाल आयल निगम चारआलीका अनुसार भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल दुवै सस्तो पर्छ। कमाउने दाउमा रहेका भारतीय चालक र तिनका धनीले नियमित सीमावर्ती क्षेत्रका पम्पबाट डिजल पेट्रोल ओसार्ने गरेका छन्।  

तस्करले भरपर्दो र विश्वसनीय उपायका रुपमा मालवाहक सवारीमा अतिरिक्त ट्याङ्की जोडेको देखिएको एकजना पेट्रोल पम्प सञ्चालक बताउँछन्। उनी भन्छन्, ‘हामीले तेल बेच्ने हो। जति माग्छन् उति दिन्छौँ। खोजीनीति गर्ने हाम्रो काम होइन।’ उनले भारतीय सवारीले नियमित पेट्रोलियम पदार्थ लगिरहेको सुनाए। नेपालमा सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा इन्धन भर्न भारतीय सवारीको भीड लाग्दै आएको छ। ‘कतिपय भारतीय सवारीको धन्दा नेपालबाट बैध रुपमा इन्धन ओसार्नु मात्र हो’, ती सञ्चालकले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.