‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक
भक्तपुर : पत्रकार प्रकृति अधिकारीले लेखेको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक भएको छ। साक्षरता दिवसका अवसरमा बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित एक कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तकमा राणाकालको १०४ वर्ष अवधिमा शिक्षाको विकासक्रम बारेमा खोजमूलक तथा ऐतिहासिक सामग्रीहरु समेटिएका छन्। यस्तै, राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएका छन्। पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएकाले यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीले बताए।