कांग्रेस पार्टी कार्यालयमा धर्ना
विराटनगर : विराटनगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा अगुवा मुस्लिम कार्यकर्ताहरुले धर्ना दिएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको लागि बनाएको निर्वाचन निर्देशीकामा जनसंख्याको आधार देखाएर मुस्लिम समुदायको प्रतिनिधित्व कटाएको भन्दै उनीहरु एक घण्टा धर्नामा बसेका हुन्।
नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति मोरङको अगुवामा उनीहरु धर्नामा बसेका हुन्। उनीहरुले मोरङका सचिव नागेश कोईरालामार्फत पार्टी सभापति शेरवहादुर देउवालाई कांग्रेसको विधान अनुसार पुर्ण समावेशी समानुपातिक प्रतिनिधि सुनिश्चिताको माग समेत गरेको छ।
संघका जिल्ला अध्यक्ष आजाद आलमले मुस्लिम समुदायलाई जनसंख्याको आधारमा क्षेत्रिय, प्रदेश र संघीय प्रतिनिधित्व नगराएकाले संघर्षमा उत्रिएको बताए। १३ औं महाधिवेशनको भन्दा मुस्लिम समुदायको प्रतिनिधित्व १४ औं मा घटाएको आरोप लगाए । यस पटक विधान अनुसार बढ्नु पर्नेमा प्रतिनिधि घटाएर मुस्लिम समुदायलाई जानी-जानी पाखा लगाउने खोजिएको आरोप उनले लगाए।
विराटनगरमा बहुसंख्यक रहेको वडामा मुस्लिम समुदायका क्षेत्रिय प्रतिनिधि शुन्य बनाएको छ। १५, १६, १७ र १८ नम्बर वडामा मुस्लिम समुदायको प्रतिनिधि शुन्य रहेको संघले जनाएको छ। विराटनगरको १ मा एक जना क्रियाशिल रहेको ३ जना क्षेत्रिय प्रतिनिधि चयन रहेको ६ मा ८४ जना क्षेत्रिय प्रतिनिधि रहेकामा १ जना मुस्लिमलाई क्षेत्रिय प्रतिनिधि बनाएकोप्रति उनीहरु आक्रोशित बनेका छन्।
मधेशी वा मुस्लिम समुदाय हुँदा बढी प्रतिनिधि हुने तर विधानले मुस्लिम छुट्याउँदा कम गर्ने नियत आफुहरुलाई स्वीकार नहुने उनीहरु बताउँछन्। यसअघि नेपाल दलित संघका अध्यक्ष समेत रहेका मीन विश्वकर्माले महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएकोप्रति असन्तुष्टि जनाउँदै धर्नामा बसेका थिए।