मध्यपहाडी लोकमार्ग ८ दिनपछि सुचारु
कुश्मा : विगत ८ दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग बिहीबार साँझबाट सुचारु भएको छ। भदौ १७ गते राती आएको भिषण वर्षासँगै पहिरोले रोकिएको सडक आजबाट सुचारु भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए।
कुश्मा नगरपालिका ७ खरेहादेखि मोदी गाउँपालिका ५ अम्बोटसम्म पहिरोले सडक क्षतविक्षत भएको थियो। सुरक्षाकर्मीहरुको लामो प्रयासले सडकको अवरोध खुलाउन सम्भव भएको पनि खत्रीले बताइन्। सडकमा झरेको पहिरो पन्छाएर एकतर्फि मात्रै गाडी गुड्न मिल्ने बनाइएको प्रजिअ खत्रीले बताइन। लोकमार्गमा २१ स्थानमा पहिरोले बाटो रोकिएको थियो।
पहिरोले मध्यपहाडी लोकमार्ग थुनिएपछि पर्वत, बागलुङ र मुस्ताङ जिल्लाको सडक सन्जाल पूर्ण रुपमा ठप्प थियो। वैकल्पिक सडक नहुँदा यस क्षेत्रमा आउजाउ रोकिएको थियो भने खाद्यन्न, अक्सिजन, इन्धन लगायतका सामाग्रीको आयात रोकिएको थियो।
बिरामीलाई हेलिकप्टर चार्टर गरी अस्पताल लैजानुपर्ने बाध्यता थियो। ठुल्ठुला ढुंगासहितको पहिरो पन्छाउन बम विस्फोट गराउनु परेको थियो। डोजरले मात्रै पहिरो पन्छाउन नसकेपछि नेपाली सेनामार्फत बम विस्फोट गराइएको थियो। पहिरो पन्छाउन १३५ केजी विस्फोटक पदार्थ र ७५ थान डेटोनेटर प्रयोग गरिएको केवलजंग गुल्म कुश्माका सेनानी शमशेर बहादुर सिंहले जानकारी दिए।
निर्माणाधीन यो लोकमार्गमा सामान्य वर्षा हुँदा पनि पहिरोले बाटो रोकिँदै आएको छ। भदौ १७ गते राती भिषण वर्षासँगै चुवाको भीर, दोबिल्ला, भ्याप्लेखोला, मौरीभीर लगायतका स्थानमा पहिरोले जाँखा सडक पुरिएर जनजीवन प्रभावित भएको थियो। सडक सुचारु भएसँगै कुश्माका चुवा र मोदीको पातीचौरमा रोकिएका सवारीसाधान वारपार गर्न थालेका छन्।
पहिरोले निर्माणाधीन यो सडकको झण्डै २५ देखि ३० करोडको क्षति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए।