सर्सी अमेरिकामा लट्ठ नेपाली

सर्सी अमेरिकामा लट्ठ नेपाली

अमेरिकामा नेपाली सुखी छन् तर खुसी छैनन् । भित्र कतै नेपाल फर्किन पाए हुन्थ्यो भन्ने छ ।


अमेरिका सर्सी हो भने अमेरिकी सपना खोज्दै त्यहाँसम्म पुगेका नेपाली अनौठा प्राणी हुन् जो सर्सीको टुनामुना र जादुमा लट्ठ छन्। यद्यपि उनीहरूको आत्मा नेपालमै छ, तर देह अमेरिकामा। उनीहरू स्वतन्त्रताको देशमा छन् वा सर्सीको महाद्वीपमा छन् तर पनि उनीहरूले स्वतन्त्रताको अनुभूत गर्न सकेका छैनन्। आफू जन्मँदा, हुर्कंदाको सुहाउँदिलो माटोमा झैं। उनीहरूलाई कति पनि मन छैन अमेरिकामा वा सर्सीसँग बस्ने तर पनि। त्यसै लट्ठ र मस्त छन्। सर्सीको रूपसँग, सर्सीले पस्केर दिने भोजसँग, सर्सीले गर्ने व्यवहारसँग।

सर्सी एक प्राचीन ग्रिक मिथिकल पात्र हुन्। उनी एक जादुगर हुन्। उनलाई ग्रिक मिथोलोजीमा एक देवीको रूपमा पनि मानिन्छ। उनलाई विभिन्न औषधि र जडीबुटीको धेरै ज्ञान भएको भनेर पनि चिनिन्छ। उनी आफ्नो ज्ञान र जादुले सत्रुहरू– जसले उनको कुभलो चिताउँथे वा नराम्रो गर्थे–लाई जनावरमा रूपान्तरण गर्थिन्। आफूले मन पराएको व्यक्ति ‘ग्यालिअस’ले दिदी ‘स्क्यालिया’लाई मन पराएको थाहा पाएपछि त्यो ईष्र्यामा सर्सीले नुहाउँदै गरेकी रूपवती दिदीलाई बाथटबमा विष मिसाएर डरलाग्दो 

राक्षसजस्तो विरूप बनाएकी थिइन्। त्यसकारण सजायस्वरूप सर्सीले ‘आइया’ नामक उपत्यकामा धेरै वर्ष बिताउनु परेको थियो। त्यही क्रममा उनी भए ठाउँ आइपुग्ने जो कसैलाई पनि सर्सी आफ्नो सम्मोहनमा पार्थिन्। रूपमा अति नै सुन्दरी उनी, उनलाई देखेपछि जुनै पुरुष पनि त्यसै  लट्ठ भइहाल्थे।

सर्सीको आइल्यान्डमा फसेजस्तो नेपाली अमेरिकाभित्र कतै फसेका छन्। उनीहरू भावनात्मक रूपमा खुसी हुन सकेका छैनन्। न चटक्क छोडेर स्वदेश फर्किन सकेका छन्। मानौं सर्सी अमेरिकाले उनीहरूलाई टुना लगाएको छ।

सर्सीको नाम लिएर वा त्यसलाई सन्दर्भ बनाएर विश्वमा विभिन्न पेन्टिङ, लेख–रचना, पुस्तक र साहित्य जन्मिएका छन्। रोमन कवि ओभिडले लेखेको ‘मेटामोर्फोसिस’ माहोस् वाहोमरको ‘ओडेसी’ वा भर्जिलको ‘एनिएड’ वा बोकासियोको ‘फेमस उमन’ आदि। पुनर्जागरणकालका इटालियन पेन्टर डोसो डोसीले ‘सर्सी र उनका प्रेमी’ नामक एउटा पेन्टिङ नै बनाए। त्यसैगरी ब्रिटिस पेन्टर तथा लेखक जोन कोलियरले ‘सर्सी’ नामक पेन्टिङ बनाए जसमा सर्सीको पछाडिको भाग सम्पूर्ण नांगो देखिन्छ। उनले अँगालो मारेको बाघ उनीप्रति बफादार भएर बसेको देखिन्छ। मानौं सर्सीको मस्त जवानीमा लट्ठ परेर जंगली जनावरहरूसमेत बफादार छन्, मोहित छन्। यसरी पछि सर्सी विम्बहरू विभिन्न पुस्तकका कभर पेज पनि भए। अनगिन्ती रूपमा सर्सी विम्बहरू विभिन्न पेन्टिङ, नाटक, गीत, नाचमा आए एउटा अर्थ बोकेर, ज्ञान बोकेर, दर्शन, साहित्य र सन्दर्भ बोकेर। पछि न्युयोर्क टाइम्स बेस्ट सेलर लेखिका म्याडिलन मिलरले ‘सर्सी’ नामक उपन्यास नै लेखिन् जसमा उनले सर्सीलाई ‘स्टोरी टेलर’का रूपमा उभ्याइन्।

भारतीय लेखक निरद सी चौधरीले एउटा पुस्तक नै लेखे ‘दि कन्टिनेन्ट अफ सर्सी’ अर्थात् ‘सर्सीको महाद्वीप’। उनले त्यस पुस्तकमा सर्सी पनि त्यही सन्दर्भका लागि ल्याएका थिए कि सर्सीको जादुजस्तै गरी भारतको असर त्यहाँ आउने आर्यनहरूमा पर्‍यो। जब आर्यनहरू  बसाइँ सर्दै भारतमा आए त्यहाँको वातावरणले उनीहरूलाई यस्तरी तान्यो कि आफ्नो उद्गमस्थलको सारा सम्पत्ति उतै छोडेर उनीहरू भारतमै बसोबास गर्न थाले। उनीहरूलाई आफू जन्मेको देशभन्दा बसाइँ सरेको भारतले नै बढी तान्यो। मानौं भारत एक सुन्दरी सर्सी हो। आज हरेक नेपालीका लागि अमेरिका सर्सी भएको छ। सर्सीले झैं टुनामुना र जादु लगाएको छ। हरेक नेपालीलाई मनैबाट अमेरिका बस्न मन छैन तर पनि अमेरिका नै सपना भएको छ। 

भवनभित्र चर्को स्वरमा गीत बजिरहेको हुन्छ। नेपाली महिलाहरू प्रायः सारीचोलोमा शृंगारसहित हुन्छन्। पुरुषहरू भने जिन्स पाइन्ट, टिसर्ट र दौरासुरुवाल टोपीमा हुन्छन्। स्टेजमा नेपालबाट बोलाइएका कलाकारले गीत गाउँदै हुन्छन्। सबैले रमाइलो गरिरहेकै छन् त्यहाँ। उमेर, लिंग, जातपात, वर्ण केहीको आधारमा भेदभाव छैन, रोकतोक छैन। एकअर्कोलाई अँगालोमा हालेर स्वागत गर्छन्। एक युवक भर्खरै विद्यार्थी भिसामा अमेरिका आएका छन्। खुसी छन्। दिउँसो रेस्टुरेन्टमा काम गर्छन्। ‘के गर्ने ट्युसन फि तिर्न परिगो’, उनी भन्छन्। बिजनेस भिसामा आएर अमेरिकामै भासिएको पाँच वर्ष भइसकेको छ। ‘आएपछि गइएन नेपाल’ उनी भन्छन्। अहिले उनको ग्रिनकार्ड भइसकेको छ। अर्को साथी भने डीभी परेर परिवारसहित भर्खरै आएको। जसको कहानी रोचक छ। उनी चाहिँ गैरकानुनी हिसाबले लुक्दै भाग्दै मेक्सिकन मुलुक हुँदै त्यतैतिरको खाडीबाट अमेरिका आएर, काला जातिकी एउटी महिलासँग यतै बिहे गरेर यतैको नागरिक भइसकेको छ। अहिले १५ वर्ष भइसकेको छ अमेरिका बस्न थालेको। अमेरिका आएर यतै पढेर डाक्टर, वकिल, इन्जिनियर भएर बसेकाहरू छन्। ‘हुन् त पढाइ सकेर नेपाल फर्किन्छु। आफ्नै देशमा गएर केही गर्छु भनेर भिसा लगाएर आएको अब को जान्छ ?’, उनीहरू भन्छन्। ‘आफू त गइँदैन। बरु यहीँको ग्याँस स्टेसनमा कि रेस्टुरेन्टमा काम गर्दा नै म खुसी छु’, अर्को युवक भन्छ।

‘के गर्ने यार, भाँडा नमाझी यहाँ केही हुन्न’, अर्का युवक अलिक भावुक हुँदै भन्छन्।  ‘यति हो यहाँ चक्काजाम हुँदैन, चिल्लो कारमा आफैंले गाडी हाँकेर अमेरिकाका फराकिला बाटामा कुद्न पाइन्छ। भौतिक सुविधा छ, त्यही मात्र हो। नत्र यो देशमा के छ र ? मन त मेरो नेपालमै छ।’ अर्कोले थप्छ, ‘नेपालमा के छ, ट्राफिक जाम, धुँवाधुलो अनि लोडसेडिङ। आनन्दको जीवन त छ यहाँ दुःख गरे पनि। चाहेको कुरा गर्न सकिन्छ।’ यस्तो परिदृश्य देखिन्छ कि अमेरिकामा नेपाली सुखी छन् तर खुसी छैनन्। भित्र कतै नेपाल फर्किन पाए हुन्थ्यो भन्ने छ। सर्सीको आइल्यान्डमा फसेजस्तो उनीहरू अमेरिका देशभित्र कतै फसेका छन्। उनीहरू भावनात्मक रूपमा खुसी हुन सकेका छैनन्। न चटक्क छोडेर स्वदेश फर्किन सकेका छन्। मानौं सर्सी अमेरिकाले उनीहरूलाई टुना लगाएको छ।

ऊ रात र दिन खट्छ मानौं सर्सी अमेरिकाले उसलाई गधामा रूपान्तरण गरेकी छ। स्वतन्त्रताको देशभित्र ऊ समयको बन्दी छ। घण्टामा मोलतोल हुन्छ उसको जीवनको परिश्रम। उसको अमेरिकासँग घृणा र मायाको सम्बन्ध छ। पेण्डुलम घडीझैं अल्मलिएको छ। आफैं ठोकिन्छ घडीको घरि वल्लो छेउ र घरि पल्लो छेउ। आफैंलाई जनाउ दिन्छ समयको। माइकल ओन्दाजेको ‘रनिङ इन द फेमिली’को पात्रले झैं मस्तिष्कमा आफ्नो जन्मदेशको नक्सा बनाउँछ। त्यहाँ आफूलाई डुलाउँछ। आफन्त, परिवार, नातागोता र साथीभाइ सम्झिन्छ, ओडेसीले सर्सीसँग रहँदा आफ्नी श्रीमतीलाई सम्झेजस्तै।

यति हुँदाहुँदै पनि ऊ अमेरिकी लडिबुडी चाहन्छ। यतैको वासी हुन तल्लीन छ। अमेरिका सर्सीको केशजस्तै फुकेको छ– विशाल, सुन्दर र मनमोहक। सर्सीको जवानीझैं मस्त र लोभलाग्दो छ। अमेरिकाले पस्केर दिने भोज सर्सीको भन्दा कम छैन। उसले जे चाह्यो त्यही पाउँछ– क्रेडिट कार्ड, कार, घर तर असल व्यवहार गर्न जान्नु पर्‍यो। यी सबै कुरा दिएर सर्सीले झैं अमेरिकाले उसलाई एउटा बन्धनमा राख्छे। महिना नमर्दै फेरि सबै कुरा लिन्छे, क्रेडिट कार्डको ब्याज, घरको मोर्ट्गेज, फोनको बिल, कारको किस्ता। त्यसैका लागि ऊ खट्छ रातदिन। सर्सी अमेरिकाको टुनामा लट्ठ हुँदाहुँदै पत्नी र सन्तानलाई दिने समय हुँदैन उसँग। मानौं स्वयंलाई थाहा हुँदैन त्यो खटाइमा ऊ जनवारमा रूपान्तरण भइसकेको  छ।

सर्सी अमेरिकाले उसलाई मानवयन्त्र बनाइसकेकी छे– एउटा कृत्रिम खुसी दिएर, कृत्रिम भोज दिएर, कृत्रिम सुन्दरता दिएर, कृत्रिम जवानी दिएर, कृत्रिम लोभ दिएर। उसका आफन्त र परिवार मक्ख छन्, वर्षौं भेट हुन नपाए पनि उनीहरूले भन्न पाएका छन् मेरा छोराबुहारी, छोरीज्वाइँ सर्सीको देशमा छन् भनेर। उनीहरूलाई थाहा छैन त्यही भ्रम पाल्दापाल्दै सन्तानको अनुहार हेर्न नपाई कुन दिन फुस्लुक्क जाने हो जिन्दगी भनेर। सन्तान भने अमेरिकामा हुनुको फुस्रो आदर्श र घमण्डमा बाँचेका छन्। अमेरिकामा सबै खुसी देखिन्छन् तर त्यहाँभित्रको पीडा हतपत कसैले देख्दैन। कसैले देख्दैन वेदना, विरक्तिपना, पछुतोपना, दिक्दारी। जब नेपाललाई माया गर्ने नेपाली बग्रेल्ती अमेरिकामा भेटिन्छन् तब उनीहरूको नेपालप्रतिको माया देखेर ढुंगो पनि रसाउँछ।

लाखौं नेपाली अमेरिकामा छन्। उनीहरूलाई यो देशको भन्दा बढी माया नेपालको लाग्छ।  नेपालको राजनीति बिग्रिँदा उनीहरूको मन दुख्छ। नेपालमा बाढी–पहिरो जाँदा उनीहरूको हृदयमा पहिरो जान्छ। आँसुको भेल बग्छ। केही सहयोग गरौं भन्ने भावना भित्रैबाट आउँछ। देशप्रेमले उनीहरूको छाती धड्किन्छ। ‘चाँडै नेपाल जान्छु’ भन्दाभन्दै उनीहरूको यतै सानो नेपाली गाउँ भइसक्यो। धेरै ढिलो हुनुपहिले नै सोचौं कि हामी सर्सी अमेरिकाको माया जालमा छौँ। त्यसैले त्यो सम्मोहनबाट छुटकारा समयमै पाएनौं भने सर्सीकै मैदानमा सन्तति जन्मिनेछन्। तिनीहरूले नेपाली माटोको सुवास कहिल्यै थाहा पाउने छैनन्। सर्सीले बाघ र सिंहलाई वशमा राखेर मान्छेलाई सुँगुरमा रूपान्तरण गरेजस्तै हुन सक्छौं हामी पनि।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.