चौरचन : कलंक हटाउने पर्व
विराटनगर : वर्षभरि संकटबाट बचाउने र कलंक हटाउने पर्वको रुपमा मिथिलामा आज घरघरमा चौरचन पर्व मनाउने गरिन्छ। भाद्र शुक्ल चर्तुर्थी तिथिमा सूर्यास्तपश्चात सवापहर (अधाई घण्टा) भित्र गरिने चौठी (चन्द्रमाको पूजा) लाई नै चौरचन भन्ने चलन छ। चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कलंक पनि हटाउने जनविश्वास छ।
दिनभरि व्रत लिई साझपख आँगनमा पिठार (चामलको पीठो) ले अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी त्यसमा पकवान, मिठाई लगायतका प्रसाद राख्ने गरिन्छ। मुकुटसहित चन्द्रमाको दिशामा बनाएको प्रतीक(अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने गरेको जानकारहरु बताउँछन्।
परिवारको सदस्य संख्या जति छ त्यति नै पकवानयुक्त डाली र दहीको छाछी अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राखिने ग्रन्थहरुमा उल्लेख छ। एक-एक डाली, दही, केराको घरी उठाएर मंन्त्रले प्रत्येक व्यक्तिले हातमा फललिएर चन्द्रमाको दर्शन गरी अशिर्वाद लिने गरेको पण्डित महेन्द्र ठाकुर बताउँछन्।
दही र फलफूल लिएर चन्द्रमाको दर्शन गरे पापबाट मुक्ति भइने विश्वास छ। चन्द्रमाको दर्शन गरे गरेपश्चात चन्द्रमण्डलमा राखिएको प्रसादलाई उपस्थित पुरुषवर्गले चार भाग गरी पातमा भोजन गरेपश्चात बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाड्ने चलन छ।
चौरचनको दिनभरि नै मिथिलाका महिलाहरुले पकवान पूरी, ठकुवा पुड्किया, मालपुवा आदि सामग्री बनाउन मिथिलाका महिलाहरु व्यस्त हुने गर्छन्। कुशे औँशीदेखि नै दही, डाली-छाँछीको व्यवस्था गर्ने तयारीमा मिथिलावासी जुट्ने गर्दछन्।
चौरचनको दिन चन्द्रमा केही समय अस्त हुन्छ। वर्षायाम मौसम भएकाले आकाशमा बाँदल रहेको बेला हेर्ने दुर्लभ हुन्छ। त्यसकारण प्रसिद्ध पुराणमा उल्लेख गरिएको छ,‘चौरचनको दिन चन्द्रमालाई कलंक लागेको थियो, सो समय चन्द्रमाको दर्शन गरे पाप लाग्छ भन्ने मान्यता छ। उक्त दोश हटाउन ‘सिंह:प्रसेन’ भन्ने मन्त्र पाठ गर्ने चलन छ।
मिथिलामा भदौको शुक्लपक्षको चौथीमा मिथ्या कलंकबाट बच्न रोहिणीसहित चतुर्थी चन्द्रको पूजा हुने गर्दछ। ई.सं.१६०० मा मिथिलाका राजा हेमाङ्गद ठाकुरले चौरचनको प्रचार सम्पूर्ण मिथिलावासीको घर-घरमा गराएपछि यसको रौनक बढेको मैथली सेवा समितिका पूर्व महासचिव प्रवीणनारायण चौधरीले बताए।
चन्द्रमाको आराधनाले धेरैको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास भएकाले मिथिलामा यसलाई विशेष पर्वको रुपमा मनाउने चलन रहेको चौधरीले बताए।