चौरचनमा ‘चन्द्रमा’ को खोजी
राजकरण महतो/काठमाडौं, जितेन्द्रनारायण ठाकुर/विराटनगर
बादललाई छिचोल्दै अँध्यारो आकासमा चाँदीझैं टलक्क टल्कियो चन्द्रमा। चन्द्रमाको पर्खाइमा आँगनमा अरिपन बनाइएको छ। दही, खीर, पुरी, फलफूल, पत्रे मिठाइको डाली सजाइएको छ। कलसमा राखिएको दियोले साँझको परिवेश बोध गराइरहेको छ। उल्लासमय वातावरणका बीच ब्रतालु पश्चिम दिशामा आकाश नियाल्दै व्यग्र प्रतीक्षामा छन्। चन्द्रमाको दर्शन गर्न आतुर भएका ब्रतालु प्रसन्न हुँदै फलले पूजा गर्छन्।
शुक्रबार यस्तै दृश्यले मिथिलाञ्चलका आँगनहरू उल्लासमय बन्यो। जहाँ मिथिलानीहरूले निष्ठापूर्वक चन्द्रमालाई पूजा गर्दै चौरचन पर्व धुमधामसँग मनाए। तीजलाई विदाइ गरेको भोलिपल्ट मधेसका बस्तीहरूमा चौरचन पर्व आगमन हुुन्छ। पारिवारिक सुख, समृद्धि र शान्तिका लागि घरकी जेष्ठ महिलाहरू दिनभर निराहार ब्रत बसेर साँझ चन्द्रमाको पूजा गर्ने प्रचलन छ। चन्द्रमाको उदय भएपछि सर्वप्रथम व्रतालु महिलाले हातमा फल (स्याउ, केरालगायत) लिएर चन्द्रमाको दर्शन गर्छिन्।
भाद्र शुक्ल चर्तुर्थी तिथिका दिन मिथिलाञ्चवासी चन्द्रमाको प्रतीक्षा हुन्छन्। चौरचनको दिन चन्द्रमा केही समय अस्त हुन्छ। वर्षायाम मौसम भएकाले आकाशमा बादलले चन्द्रमालाई घेरेको हुन्छ। दर्शन दुर्लभ हुन्छ। सूर्यास्तपश्चात सवापहर (अधाई घण्टा) भित्र गरिने चौथी (चन्द्रमाको पूजा) लाई नै जनबोलीमा चौरचन भनिन्छ।
‘अनुशासन, नियमको पालना अनि कृषि कर्ममा आधारित पर्व चौरचन पर्वको विशेष महत्व छ’, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चौरचनको शुभकामना व्यक्त गर्दै समाजिक सञ्जालमा भनेका छन्, ‘भाद्र शुक्ल पक्षको चौथी तिथिमा चन्द्रमा देखिनु दुर्लभ मानिन्छ। जब चन्द्रमा उदाउँछ तब श्रद्धालुहरूले आफ्ना संकल्प र आराधना स्मरण गर्ने प्रचलन छ।’ मिथिलाञ्चल हरेक दिन पर्व, तिहार र उत्सवले भरिभराउ र झकिझकाउ हुन्छ।
निष्ठा, भाव, भक्ति र श्रद्धाले मनाई चौरचन पर्व मिथिलाञ्चलको छठपछिको दोस्रो ठूलो पर्व हो। यो पर्वलाई ठाउँ अनुसार चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने नामले पनि चिनिन्छ। ‘चौरचनको दिन चन्द्रमालाई कलंक लागेको थियो, सो समय चन्द्रमाको खाली हात दर्शन गरे पाप लाग्छ’, प्रसिद्ध पुराणमा उल्लेख छ। उक्त दोष हटाउन ‘सिंहःप्रसेन’ भन्ने मन्त्र पाठ गरिन्छ।
मिथिलामा भदौको शुक्लपक्षको चौथीमा मिथ्या कलंकबाट बच्न रोहिणीसहित चतुर्थी चन्द्रको पूजा गर्ने चलन छ। ‘ई.सं. १६०० मा मिथिलाका राजा हेमाङ्गद ठाकुरले चौरचनको प्रचार सम्पूर्ण मिथिलावासीको घर–घरमा गराएका थिए’, मैथिली सेवा समितिका पूर्वमहासचिव प्रवीणनारायण चौधरीले भने, ‘त्यसपछि चौरचन पर्वले व्यापकता पायो।’ चन्द्रमाको आराधनाले मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वास चौरचन पर्व मान्नेहरूको संख्या बढ्दै गएको उनी बताउँछन्।
दिनभर निष्ठापूर्वक पूजाका लागि प्रसाद तयारी गरिन्छ। आँगनमा पिठार (चामलको पीठो) ले अरिपन बनाइन्छ। त्यसभित्र गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी पकवान, मिठाइ लगायतका प्रसाद चन्द्रमाको पूजाका लागि तयारी गरिन्छ। मुकुटसहित चन्द्रमाको दिशामा बनाएको प्रतीक (अरिपन) मा केराको पातमा रोहिणीसहित सेतो फूलले चतुर्थी चन्द्रमाको पूजा गरिन्छ।
परिवारको सदस्य संख्या जति छ त्यति नै पकवानयुक्त डाली र दहीको छाछी अरिपनमा सजाइन्छ। केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि चौरचनको मुख्य पूजा सामग्री हो। भिन्दाभिन्दै डाली, दही, केराको घरी उठाएर मन्त्रले प्रत्येक व्यक्तिले हातमा फल लिएर चन्द्रमाको दर्शन गरी अशिर्वाद लिने गरिएको पण्डित महेन्द्र ठाकुर बताउँछन्। ‘दही र फलफूल लिएर चन्द्रमाको दर्शन गरे पापबाट मुक्ति पाइन्छ’, उनी थप्छन्।
चन्द्रमाको दर्शन गरेपश्चात चन्द्रमण्डलमा राखिएको प्रसादलाई उपस्थित पुरुषवर्गले चार भाग गर्छन्। त्यहीँ बसेर पातमा भोजन गरेपश्चात बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाडिन्छ। इष्टमित्रलाई घरमा बोलाएर चौरचनको प्रसाद खुवाइने चलन रहेको संस्कृत माध्यमिक विद्यालय मटिहानी महोत्तरीका प्राचार्य ईश्वरीप्रसाद पौडेल बताउँछन्, ‘चौरचन जस्ता चाडपर्वले समाजिक सद्भाव, एकता र भातृको सम्बन्ध बढाएको छ।’
चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो। मधेसी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको छ। ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ। यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई महत्व दिन्छ।
मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व छ। धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकला लगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी र मैथिल समाजले आराधना गर्दै आएको पाइन्छ। आगनमा बनाइने अरिपनले मिथिला सभ्यतालाई झल्काउँछ।