स्वर्गको टुक्रा ओलाङचुङगोला

स्वर्गको टुक्रा ओलाङचुङगोला

जंगलको बाटो। कहिले तमोर नदीको किनार त कहिले लेलेपको डाँडा। चराचुरुंगीको चिरबिर आवाज र नदीको सुसाहटले मन फुरुंग हुन्छ। अझै सुन्दर ओलाङचुङगोला बस्ती पुगेर हातले बुनेको गलैंचामा बसेर तातो चिया सुरुप्प पिउन पाउने आशाले गलेका खुट्टालाई पाइला अघि बढाउने साहस थप्छ। ओलाङचुङगोला ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट तीन दिनको पैदल यात्रामा पुगिने पर्यटकीय क्षेत्र हो।

यातायातका साधनमा गुड्ने बानी परेकालाई त तीन दिनको पैदल यात्रा भन्नासाथ हातखुट्टा गल्छन्। तर सोच्दा जति गाह्रो हुन्छ यात्रा सुरुआत गर्दा हिमाली मनमोहक दृश्यले यात्रालाई सहज बनाउँछ। पुग्नुपर्ने गन्तव्यलाई सम्झँदा मात्रै पनि थकान हट्छ। राज्यको पुनर्संरचनासँगै ओलाङचुङगोलालाई फक्ताङलुङ गाउँपालिका—७ मा खुम्च्याए पनि यसको छुट्टै सान छ। इतिहास छ।

४ सय ६३ वर्ष पुरानो मानिएको ढिकी छोलिङ गुम्बालाई यस स्थानका बासिन्दाले आफ्नो धार्मिक आस्थाको केन्द्र मान्छन्।  

कञ्चनजंघाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाको अन्तिम दुई अक्षर गोला भने मात्रै पनि धेरैले बुझ्छन्। नेपाल र चीन जोड्ने नाकामध्ये एक भएकाले पनि सरकारको ढड्डामा ओलाङचुङगोला छुटेको छैन। तिप्ताला भञ्ज्याङ हुँदै तिब्बत जाने मुख्य द्वारका रूपमा रहेको गोलाका बासिन्दा अनवरत पर्यटककै पर्खाइमा हुन्छन्। उनीहरूका लागि पर्यटक पुग्दा र उनीहरूलाई स्वागत गर्न पाउँदा जतिको खुसी अरू समयमा हुन्न कि क्या हो जस्तो भान हुन्छ उनीहरूको मुहारमा झल्किएको खुसी र गद्गद्लाई देख्दा। पर्यटकको स्वागत गर्ने र बिदा भएसम्म खुसी राख्न कुनै कञ्जुस्याइँ हुँदैन यहाँ।

तमोर नदीको किनार हुँदै लेलेपको डाँडा छिचोल्न कम हम्मे छैन। तर, थकानलाई बिर्साइदिन्छन् चराचुरुंगीको चिरबिर र नदीको कलकलाहटले। जब मोहक ओलाङचुङगोला पुग्नुहुन्छ, मन त्यसै फुरुङ्ग हुन्छ। गाउँलेको सत्कार र रातभरिको पिरतीपूर्ण धुन्जयाङ नाचको मीठो धङधङी त महिनौं मेटिँदैन। त्यो अनुभूत गर्न तपाईं पनि आउने हो ओलङचुङगोला ?

पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दा चार सय वर्षदेखि बसोबास गर्दै आएको इतिहास छ। जडीबुटी, हातेगलैंचा उत्पादनसहित जौविक विविधता र सांस्कृतिक सम्पदामा जति धनी छ, यो स्थान त्योभन्दा बढी संस्कृतिमा पनि अगाडि मानिन्छ। लेलेप र ओलाङचुङगोलालाई जोडने तमोर नदीको सुकेपानी पुल र यस मुनिबाट बग्ने तमोरले गोला पुग्नुभन्दा पहिलो स्वागत गरेकै हुन्छ। यहाँ पुग्नेले यो दृश्यलाई पृष्ठभूमिमा राखेर फोटो नखिची अघि बढ्न मन गर्दैनन्।

समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा अवस्थित ओलाङचुङगोला आर्थिक, सामाजिक, एवं सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण छ। करिब ६४ घरधुरीको बसोबास रहेको यो सानो बस्तीभित्र गाउँपालिका हुनुपूर्व ओलाङचुङगोला गाविसका सात वडा समेटिएका थिए। चारैतिरबाट पहिरोले घेरिएको यो बस्तीलाई जिल्लाकै पहिरोबाट उच्च जोखिम क्षेत्रको रूपमा हेरिन्छ। तर पनि पहिरोले अहिलेसम्म क्षति पु¥याएको छैन। स्थानीय ५५ वर्षीया तेञ्जिङ शेर्पा भन्छन्, ‘बस्तीमाथि रहेको गुम्बाकै धार्मिक शक्तिले पहिरोबाट बस्ती पनि जोगिएको हो।’ ४ सय ६३ वर्ष पुरानो मानिएको ढिकी छोलिङ गुम्बालाई यस स्थानका बासिन्दाले आफ्नो धार्मिक आस्थाको केन्द्र मान्दछन्।

विकट भूबनोट भित्रको यो सुन्दरबस्तीमा प्रवेश गरेपछि जो कोहीको मन हर्षित हुन्छ। यहाँका सबै घरहरूको बनावट एकै किसिमको भएकै कारण रात साँझमा पुगेका पाहुनालाई पहिले बसेको घरको पत्तो पाउन निकै मुस्किल पर्छ। यहाँको अर्को रमाइलो विशेषता हो अतिथि स्वागत सत्कार। बाहिरबाट पाहुनाहरू आउने थाहा पाउनासाथ गोलावासीहरू सामूहिक रूपमा जुट्ने गर्छन् र पाहुना बस्ती प्रवेश गर्नासाथ खादा लगाएर स्वागत गर्दै खाजा खुवाएर बस्ती प्रवेश गराउँछन्। बेलुकीपख पाहुनाको स्वागत सत्कार गर्दै धुन्जाङ नाच नाच्ने गर्छन्।

वालुङ  जातिको उत्पत्तिको थलो
यो ठाउँलाई नेपालकै दोस्रो सिमान्तकृत जातिमा सूचीकृत भएको वालुङ जातिको उत्पत्तिको थलोसमेत मानिन्छ। उत्पत्तिको थलो ओलाङचुङगोला भए पनि यी जातिहरू ताप्लेजुङको याङमा, लुङथुङ, लेलेप, याम्फुदिन, घुन्सा, फुङलिङ बजार, तेहथुम जिल्लाको हिले, वसन्तपुर, इलामको पशुपतिनगर र काठमाडौंको बौद्ध क्षेत्रमा छरिएर बसोबास गर्दै आएका छन्। ओलाङचुङगोलामा भने बौद्ध धर्मावलम्बीहरूको मात्र बसोबास छ। यहाँ स्वास्थ्यचौकी, सीमा प्रहरी चौकी, ओलाङचुङगोला भन्सार कार्यालय, कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको सम्पर्क कार्यालय र दुई विद्यालय छन्। दुई विद्यालयमध्ये ओलाङचुङगोलामा निम्न माध्यमिक र याङ्मामा प्राथमिक स्तरको छ।

काठको छानोका सुन्दर घर 
काठले छाएका घरको छानो आँधीहुरीले नउडाओस् भनेर छानामा ढुंगा राखेको दृश्य अनौठो मात्र होइन उत्तिकै मनमोहक पनि देखिन्छ। धेरै चिसो हुने भएका कारण यहाँ आलु र छिटफुट सब्जीबाहेक अन्य कुनै बालीहरूको उत्पादन हुँदैन। यहाँका बासिन्दाहरूको मुख्य आम्दानीको स्रोत भनेको चांैरीपालन, छुर्पी तथा गलैंचा उत्पादन र जडीबुटीको व्यापार हो।

पुरुषहरू प्रायः गोठमा बसेर चौरी पाल्ने, छुर्पी बनाउने, जडीबुटी संकलन गर्ने र व्यापार गर्ने गर्छन्। महिलाहरू घरको काम र गलैंचा बुन्छन्। ओलाङचुङगोलाको गलैंचा र छुर्पीले नेपालमै प्रसिद्धि कमाएको छ। यहाँको छुर्पी नेपाल, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशहरूमा निर्यात हुने गरेको स्थानीय व्यापारीहरू बताउँछन्। साथै यहाँको गलैंचा छिमेकी मुलुक चीन, राजधानी काठमाडौं, अमेरिका, बेलायतसम्म माग हुने गरेको बताइन्छ।

नेपालको समग्र उत्तरी सीमावर्ती क्षेत्रहरूमा रहेका साना ठूला बस्ती बजारमध्ये वालुङ जातिको मात्र बसोबास रहेको क्षेत्रभित्रै पर्छ ओलाङचुङगोला। वस्तु विनिमयको आधारमा चलेको यहाँको समाजले अहिले पनि मध्यकालीन युगको झझल्को गराउँछ। वस्तु विनिमय नै याङमा र गोलाको अनौठो विशेषता हो। अहिले पनि यहाँका बासिन्दाहरू पशु र आलुसँग खाद्यान्न साटेर जीविकोपार्जन गर्छन्। आफ्नो जिल्ला सदरमुकाम फुङ्लिङ तथा गाउँपालिका केन्द्र पुग्नुभन्दा छिमेकी मुलुक चीनको तिब्बत पुग्न दूरीका हिसाबले यहाँबाट नजिक पर्छ। त्यसैले यहाँका बासिन्दा तिब्बती बजारमा निर्भर हुनु परेको स्थानीय फुपू चुन्दाक शेर्पा बताउँछन्।

‘हामीलाई त अर्कै देशमा बसे जस्तो लाग्छ,’ शेर्पा भन्छन्, ‘नेपालमा बसे पनि नेपाली बजारमा भन्दा तिब्बती बजारमा पुग्न छिटो छ।’ ओलाङचुङगोलाको मुख्य व्यापारिक केन्द्र भने चीनको स्वशासित क्षेत्र तिब्बतको रियु बजार हो। गोलाबजारबाट दुई दिनको पैदलयात्रा पछि पुगिने रिउ बजारमा निर्भर हुनुपर्ने बाध्यता छ स्थानीयलाई।

स्थानीय व्यापारीहरू गोलाबाट चौरीमा सामान ढुवानी गर्छन्। चामल, पिठो, लत्ताकपडालगायत दैनिक उपभोग्य सामानहरू रियु बजारबाट ल्याउने गर्छन्। गोला बजारकै लागि करिब सात वर्षअघि दुर्गम क्षेत्र विकास समिति, गाउँ विकास समिति (गाविस), जिल्ला विकास समिति (जिविस), कञ्चनजंघा संरक्षण क्षेत्र तथा गोलावासीको श्रमदान समेतमा २० किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ। स्थानीय उत्पादनका कारण गोलावासीले कहिल्यै पनि लोडसेडिङको मार खेप्नु परेन, पर्दैन पनि सायद। विद्युत्कै कारण टेलिभिजन, टेलिफोन लगायतका सञ्चार उपकरणको सहजै मात्रामा प्रयोग गर्न सकिन्छ।

आँगनमै नाँच्छन् दुर्लभ वन्यजन्तु
नाउर, हिमचितुवा, कस्तुरी, मृगजस्ता जंगली जनावरको दैनिकी नजिकैबाट अवलोकन गर्न पाउनु यहाँको अर्काे महत्त्वपूर्ण विशेषता हो। घरआँगनमा नै खेल्दै आइपुग्छन्, दुर्लभ वन्यजन्तुहरू। विकट गाउँहरूमा जीवनशैली कष्टदायी त अवश्य छ नै तर यहाँको रहनसहन, वेषभूषा, भाषा संस्कृतिले होला। उनीहरू सम्भ्रान्त र सुखी रहेको महसुस गर्न सकिन्छ। यो बस्तीबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको छेरचेन ताल र करिब चार घण्टाको पैदल दूरीमा रहेको सिङ्जेमा ताल यो क्षेत्रका रमणीय र पर्यटकीय ठाउँहरू मानिन्छन्।

४६३ वर्षे दिकी–छोलिङ गुम्बा
यहाँ रहेको दिकी–छोलिङ गुम्बा ओलाङचुङगोलाको मात्र नभई नेपालकेै बहुचर्चित र ऐतिहासिक गुम्बा मानिन्छ। सयौं वर्ष अघि निर्माण गरिएको भनिए पनि हालसम्म यसको यकिन तथ्यांक कहीँ कतै पाउन सकिएको छैन। यद्यपि, गुम्बाको निर्माण करिब ४ सय ६३ वर्षअघि भुटानबाट आएका भिक्षु ह्योसा दोर्जे लामाले गरेका हुन् भन्ने किंवदन्ती छ।

यस गुम्बामा रहेका पुस्तक र कागजपत्रहरू हेर्दा नेपालका सबेै गुम्बाभन्दा पुरानो हो कि भन्ने अनुमान गर्न सकिन्छ। ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको दिकी छोलिङ गुम्बा सयौं वर्ष पुरानो हो भन्ने आधार पुष्टि गर्ने थुपै्र प्रमाणहरू गुम्बामा भेट्न सकिन्छ। गहिरो अनुसन्धान गर्न सके यो गुम्बाबाट धेरै धार्मिक तथा ऐतिहासिक उपलब्धि हासिल गर्न सकिने स्थानीय बताउँछन्।

दुर्लभ पाँच हजार पुस्तक र धर्मचक्र
तीन तले यो गुम्बा १२९ फिट लामो, ३६ फिट चौडा र ४० फिट अग्लो छ। यसको दोस्रो र तेस्रो तलामा बौद्ध धर्म र शास्त्रका दुर्लभ पाँच हजार पुस्तक राखिएका छन्। अन्य भागहरूमा बुद्धका नौवटा ठूला र स–साना मूर्तिहरू र गुम्बाका निर्माताको मूर्ति एवं बौद्ध शास्त्रीय वाद्यवादन यन्त्रहरू र धर्मचक्रहरू राखिएका छन्।

यो गुम्बाभित्र अटुट रूपमा प्रज्वलित एक स्वर्ण युगीन बत्ती छ। उक्त बत्ती सुनको दियोमा बालिन्छ। जसलाई स्थानीय भाषामा ग्यु स्यु भन्दछन्। भनिन्छ कि त्यस ठाउँमा पहिले गुम्बा निर्माणको अगुवाइ गर्ने भिक्षु लामाले बालेको बत्तीकै निरन्तरता हो। त्यो उतिबेलादेखि नै प्रज्ज्वलित गरिएको थियो र उक्त बत्ती अहिलेसम्म पनि अटुट रूपमा बलिरहेको छ।

दिकी–छोलिङ गुम्बाको अर्को आश्चर्य भनेको गुम्बाभित्र सजाएर राखिएको सेतो च्याउ हो। जसलाई स्थानीय भाषामा चेरेसी भनिन्छ। यस सेतो च्याउमा प्राकृतिक रूपमै ‘ॐ मनि पद्मे हुँ’ लेखिएको छ। यो पवित्र बौद्ध मन्त्र च्याउ उत्पत्ति हुँदा नै लेखिएको किंवदन्ती छ। गुम्बामा तपस्या गर्ने शिष्यहरूले दाउरा खोज्न जाँदा फेला पारेको यो च्याउ टिपेर गुरुलाई दिइएको थियो। गुरुले पुनः त्यही ठाउँमा फिर्ता गरे पनि गाउँलेहरूले पछि बाजागाजासहित ल्याएर गुम्बामा राखेको किंवदन्ती छ।

पर्व र चाडलाई उच्च महत्त्व
ओलाङचुङगोलावासीका धर्म, संस्कृति र चाडपर्वहरू प्रायःजसो तिब्बती संस्कृतिसँग मिल्दाजुल्दा छन्। यहाँका बासिन्दाले ल्होसार, फुटुक, नेसो, निङयुङने, साकादावा र ढुक्पाछेसी पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन्। यीमध्ये पनि फुटुक पर्व भने उनीहरूको ठूलो एवं ऐतिहासिक पर्व हो।

वर्षमा एक पटक मनाइने यो पर्व गोलावासीले मनाउने अरू पर्वभन्दा पृथक् छ। सुरुका वर्षहरूमा १५ दिनसम्म निरन्तर रूपमा मनाइने यो पर्व लामाहरूको अभावका कारण अचेल आठ दिनमा सीमित बनेको छ। फुटुक धार्मिक विधिविधान, नाचगान र मनोरञ्जनले भरिपूर्ण पर्व हो। यही पर्र्वलाई नेपालको सोलुखुम्बु जिल्लामा भने रिम्दो नामले मनाउने गरिन्छ। यो पर्व कार्तिक महिनामा पर्दछ। यो चाड दिकिछोलिङ गुम्बा परिसरमा पर्व अवधिभर अस्थायी टहरा बनाई त्यही टहरामा बसेर मनाउने गरिन्छ।

विगतमा यो पर्व मनाउँदा गुम्बाका लामाहरूले ‘छ्याङ्दे फुर्वा लानाक’ भन्ने पुस्तक पढी  १५ दिनसम्म मनाउने गर्थे। यस पर्वको समयमा लामाहरू जीवजन्तु, चराचुरुंगी र राक्षसका आकृति झल्कने पहिरन र मुकुन्डो लगाएर नाच्छन्। यस पर्वको तीन दिन देवताका विभिन्न आकृतिका मुकुन्डोहरू र विशेष किसिमका पहिरनहरू लगाएर लामाहरू नाच्ने गर्छन्। यस पर्वका दिन स्थानीय माक्सुम ग्यावो र छिमेकी थुदामको ग्यावोको बीचमा भएको युद्ध प्रदर्शन गरिन्छ। यो चाड मुख्य गरेर ओलाङचुङगोलामा मात्र मनाइने भएता पनि यसलाई विभिन्न क्षेत्रमा आआफ्नै तरिकाले मनाउने गरेको स्थानीय लामा कासाङछोम्बेको भनाइ छ।

यो नाच नाच्दा ढ्याङ्ग्रो र झ्याम्टा बजाइन्छ। यस नाचलाई भोटेहरूको भाषामा छ्याम भनिन्छ। यो नाच निकै रमाइलो हुने भएकाले उक्त जात्रा हेर्न टाढाटाढाबाट समेत मानिसहरू भेला हुने गर्छन्। जात्रा हेर्न आउने मानिसहरूले यहाँ सजाएर राखिएका भगवान्लाई खादा चढाउँदै ‘कि कि सो सो ल्हा ग्यालो’ भन्ने गर्छन्। जसलाई नेपाली भाषामा भगवान्ले रक्षा गरुन् भनिएको हो। जात्रा अवधिभर गुम्बामा पनि बत्ती बाल्नेको भीड लाग्ने गर्छ। फुटुकको समयमा गुम्बामा बत्ती बालेमा चिताएको कुरा पूरा हुने विश्वास रहेको स्थानीय छेतेन वालुङ बताउँछन्। 

सन्दुक रुइत जन्माउने गाउँ
त्यो ठाउँ सदरमुकामबाट टाढा थियो। जहाँ नजिक स्कुल थिएन। तर पनि त्यहाँ जन्मिएकाहरू देशविदेशमा पुगेर नाम फैलाएका छन्। आ“खा उपचारका लागि चर्चित नाम सन्दुक रुइत, चीनका लागि नेपाली वाणिज्य दूत ताम्ला उक्याव लगायतका व्यक्ति अहिले पनि क्रियाशील जीवन बिताइरहेका छन्। तेञ्जिङ वालुङ लगायतको अमेरिका, बेलायतमा व्यापार व्यवसाय रहेको छ। अहिले पनि यहाँ जन्मेकाहरू देशविदेशमा क्रियाशील छन्। 

०००

सत्कारमा युवती, ‘धुन्जयाङ’मा पिरती

ओलाङचुङगोलामा पाहुनाको सत्कार गर्ने संस्कार नै फरक छ। नौलो पाहुनाको आगमनसँगै गाउँभरिका युवती भेला हुन्छन् र कठ्यांग्रिने चिसोको कुनै प्रवाह नगरी नुहाइधुवाइ गरेर सिंगारिन्छन्। पाहुनाको स्वागतमा यसरी जुट्नु अन्य ठाउँका लागि अपत्यारिलो र अनौठो विषय हो। सीमावर्ती यस ठाउँमा भने पाहुनाको सत्कार गर्ने परम्परागत संस्कार यस्तै नै छ। जसको घरमा पाहुना आउँछन् त्यही घरमा गाउँभरिबाट भेला भएका युवतीको सत्कारले रात रोमाञ्चकारी बन्छ। त्यो वातावरणले सारा थकाइ र तनाव पनि मेटाउँछ।

उनीहरूले नाच्ने एक प्रकारको नाच धुन्जयाङ ओलाङचुङगोला पुग्ने पाहुनालाई सत्कार गर्ने परम्परागत संस्कार हो। तर यो संस्कार थाहा नपाउनेका लागि भने निकै अनौठो र तत्काल पाच्य हुन निकै गाह्रो पर्छ। अभिभावककै अगाडि पाहुनासँग नाच्न, अंकमाल गर्न र जुठो साटासाट गर्न किशोरीहरू हिचकिचाउँदैनन्। तातो तङ्वा र याक चौरीको सुकुटीसँग रम्दारम्दै आफ्ना सारा थकाइ बिर्सने पाहुनालाई रात बितेको पत्तै हुँदैन। अर्काे रमाइलो पक्ष के छ भने ओलाङचुङगोलामा पुग्ने जो कोहीले खाना र बस्नका लागि पैसा तिर्नु पर्दैन। तर, धुञ्ज्याङ भने नाच्नु अनिवार्य पर्छ।

रातभरको मनोरञ्जनमा आफूखुसी खर्चिएको रुपैयाँ फिर्ता आउला भन्ने सोचाइ कसैले राख्दैनन्। ठुलो रकम खर्चिएको रहेछ भने बिहान सबेरै भोटे चियासँगै रुपैयाँ फिर्ता गरिँदा पाहुनाहरू अचम्मित मात्र हुँदैनन्, ओलाङचुङगोलाका मानिसको महानताको हृदयदेखि सम्मान गर्दै आफूलाई इच्छा लागे जति रुपैयाँ आफूसँगै नाच्ने किशोरीलाई स्नेहपूर्वक दिएर हिँड्छन्। 

भनिन्छ, धुन्ज्याङमा पाहुना र आपूmले खाँदा नाच्दा लागेको खर्च पाहुनाले स्याबासीवापत दिएको रुपैयाँबाट हिसाब मिलाइन्छ। स्थानीय किपा शेर्पा धुन्ज्याङ ओलाङचुङवासीको पाहुना स्वागत गर्ने परम्परागत चलन हो भन्छन्। ओलाङचुङगोलाको पाहुना सत्कार गर्ने यो अनौठो र रमाइलो संस्कारको संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तर्राट्रिय क्षेत्रमा यहाँको पहिचान कायम राख्न अवश्य सकिएला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.