झन्डै दुई दर्जन संस्था मर्ज हुँदै

झन्डै दुई दर्जन संस्था मर्ज हुँदै

काठमाडौं : संस्था थप बलियो बनाउन हाल झन्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने प्रक्रियामा जुटेका छन्। यसमध्ये दुई वाणिज्य बैंकहरू हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक छिटोमा दसैं/तिहारको बीचमा एकीकृत कारोबार गर्ने गरी प्रक्रियामा रहेका छन्। तर बैंकले गत वर्षको लाभांश बाँडेर मात्रै एकीकृत कारोबार गर्ने भएकाले केही समय लम्बिन सक्नेछ।  

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा सबै तयारी सकिए पनि बैंकले गत आवको लाभांश वितरण गरेर मात्रै मर्ज गर्ने कुरा भएपछि केही समय लाग्ने भएकाले नेपाल राष्ट्र बैंकसँग थप समय मागेको बताउँछन्। 

‘सबै तयारी सकियो तर वार्षिक साधारणसभा (एजीएम)मा लाभांश पारित गरेर वितरण गर्नुछ। यसका लागि अडिट गर्न बाँकी छ,’ उनले अन्नपूर्णसँग भने,‘ यसकारण केही ढिला हुने हो कि भनेर समय थप्न केन्द्रीय बैंकमा आवेदन दिएका छौं। मिल्यो भने छिटोमा दसंैपछि तिहार अघि एकीकृत कारोबार पनि गर्न सक्छौं।’ 

हिमालयनको हबिबको नाममा रहेको २० प्रतिशत संस्थापक सेयर मर्जर अघि यसभित्रका संस्थापकहरूले खरिद गर्ने भएको सीईओ राणाले जानकारी दिए।  मर्जरपछि दुवै बैंकको स्वाप रेसिया १ बराबर १ (१ः१) रहेको छ। नेपाल राष्ट्र बैंकमा वि.सं २०७७ असोज २ गते मर्जरको आवेदन दिएको सो बैंकले सैद्धान्तिक सहमतिपत्र (एलओआई) गत जेठ २० गते पाइसकेको छ। सो बैंकको नाम मर्जपछि ‘हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक’ रहनेछ। 

यसै क्रममा प्राप्तिको प्रक्रियामा दुई वटा विकास बैंक रहेका छन्। जस्मा गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्दैछ। पछिल्लो समय वाणिज्य बैंकको संख्या विकास बैंकको भन्दा कम भएर १८ ओटा पुगेका छन्। 

यससँगै, राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय वाणिज्य बैंक, विकास बैंक र लघुवित्त गरेर मर्जर तथा प्राप्ति प्रक्रियामा २३ ओटा बैंक तथा वित्तीय संस्था रहेका छन्। यसअन्तर्गत लघुवित्त वित्तीय संस्थाहरूको सहभागिता अधिक रहेका छन्। पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रियामा १९ ओटा लघुवित्त वित्तीय संस्था रहेका छन्। लघुवित्तको संख्या अधिक भएको भन्दै राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत सेयर दोहोरिएकाहरूलाई मर्जर तथा प्राप्तिमा जान बाध्यकारी बनाएको छ।  यसैले अझै लघुवित्तहरू यस्तो प्रक्रियामा आउन सक्ने देखिएको छ।  पछिल्लो समय मर्जर तथा प्राप्तिमा अधिक देखिएका लघुवित्त संस्थाहरू कुनै समय ९० ओटाभन्दा बढी थिए । तर गत असारसम्मको तथ्यांकमा यस्तो संख्या घटेर ७० वटा पुगेको छ। अझै लघुवित्तको संख्या घटाएर ३० वटासम्म कायम गर्दा मुलुक अनुुकूल हुने नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्साल बताउँछन्। 

यद्यपि गत चैत्र ११ गते मर्जरमा जान आवेदन दिएको युनिक नेपाल र घोडाघोडी लघुवित्त वित्तीय संस्थाले सैद्धान्तिक सहमतिपत्र (एलओआई)का लागि प्रक्रियामा रहेका छन्। यता इन्फिनिटी लघुवित्तले एग्रो लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृतिको आवेदन दिएको राष्ट्र बैंकले जनाएको छ। यसैगरी आरम्भ चौतारीले बीपीडब्लू लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको छ। यस्तै अन्तिम स्वीकृतिमा मर्जरमा जुटेका  विन लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्। 

यसैगरी विजया लघुवित्तले खप्तड लघुवित्त वित्तीय संस्थालाई, मर्मिरे लघुवित्तले सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ। यस्तै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्न सैद्धान्तिकपत्र पाइसकेको छ। यसबाहेक, स्वस्तिक लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय संस्थालाई र ओमीले ग्रामीण स्वयम्सेवक लघुवित्त वित्तीय संस्थालाई मर्जरको प्रक्रियामा जुटिरहेका छन्। 

तर यसबीच मर्जर गर्ने सम्झौता भएर केन्द्रीय बैंकमा आवेदन दिइसकेका धौलागिरि र आँधीखोला लघुवित्त वित्तीय संस्था भने डिमर्जर गर्ने पक्षमा देखिएको छ। राष्ट्र बैंकका अनुसार यसमध्ये एक संस्थाले मर्जरमा नजान आवेदन दिएको छ। एकतर्फी आवेदनले डिमर्जर गर्न नमिल्ने केन्द्रीय बैंकले बताएको छ। नीतिगत व्यवस्थाअनुसार यसरी डिमर्जर भएमा विभिन्न छुट तथा सुविधाबाट समेत वञ्चित गर्ने व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.