अभिभावक गुम्दा बिचल्ली
हेटौंडा : हेटौंडा–१२ को वनस्पतिस्थित दुई कोठे कच्ची घरमा ११ वर्षीय आशिका तिमल्सिना आमाको फोटो हेरेर टोलाइरहन्छिन्। उनी आमासँग सुत्न नपाएको करिब एक महिना भयो। अझै पनि घरको ढोकाबाट घरिघरि नियालिरहन्छिन्। साँझ अबेरसम्म पनि आमा घर नआएपछि उनी निराश बन्छिन्। उपचारका लागि अस्पताल गएकी आमाले सदाका लागि छाडेर गएको उनलाई अझै पनि विश्वास छैन। तर, दुई दिनको फरकमा चार दिदीबहिनीले हजुरबुवा पनि गुमाउनुपर्यो।
हेटौंडा अस्पतालकी कार्यालय सहयोगी ४५ वर्षीया तारा तिमल्सिनाले ज्वरो बढेपछि पीसीआर जाँच गराइन्। कोरोना पोजेटिभ देखिएपछि डाक्टरहरूले उनलाई घरमै होमआइसोलेनमा बस्न आग्रह गरे। तर, उनको स्वास्थ्यमा सुधार आएन। स्वास्थ्य थप बिग्रिँदै गएपछि उनी हेटौंडा अस्पतालमा भर्ना भइन्। पाँच दिनको अस्पताल बसाइपछि गत साउन १५ गते तिमल्सिना चार छोरी र श्रीमान्लाई छाडेर सदाका लागि अस्ताइन्। त्यसको दुई दिनअघि मात्र तिमल्सिनाका बुवा ७३ वर्षीय मानबहादुर अधिकारीको कोरोनाकै कारण हेटौंडा अस्पतालमा निधन भयो। हेर्दाहेर्दै श्रीमती र ससुराबुवा गुमाएका ५५ वर्षीय जयबहादुर तिमल्सिना पनि भर्खरै कोरोना संक्रमणबाट तंग्रिएका छन्। परिवारमाथि परेको वज्रपात, गलेको शरीर र छोरीहरूको एकल जिम्मेवारीले उनी चिन्तित छन्।
‘दुई दिनको बीचमा श्रीमती र ससूराबुवा गुमाउनुपर्यो,’ उनले भने, ‘घरखर्च र छोरीहरूको पढाइ सबै श्रीमतीको जागिरको भरमा थियो। अब मैले कसरी धान्ने सोच्न सकेको छैन।’ ताराकै भरमा परिवार तीन छोरीको पढाइ र घर खर्च चलेको थियो। पूर्वी मकवानपुरको तत्कालीन धियाँल गाविस (हाल बकैया गाउँपालिका–२) बाट २०५० सालको बाढीपहिरोले विस्थापित उनको परिवारको नाममा कुनै सम्पत्ति छैन। उनका सालो राजकुमार अधिकारी सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षबाट २०६१ सालमा भोजपुरमा मारिएका थिए। त्यसयता जयबहादुर परिवारसहित ससूरा मानबहादुरलाई हेटौंडा–१२ स्थित वनस्पतिमा सरकारले सुकुम्बासीका लागि दिएको दुई कोठे घरमा बस्दै आएका छन्।