सशस्त्र प्रहरीका आईजिपीको निर्देशन: सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्नू
काठमाडौँ: सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजिपी) शैलेन्द्र खनालले सीमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न मातहतका सशस्त्र प्रहरी युनिटलाई कडा निर्देशन दिएका छन् ।
महोत्तरीको मटिहानीमा सशस्त्र प्रहरी बल नेपाल ९ नं. गणको उद्घाट गर्दै आइतबार उनले सशस्त्र प्रहरी जवानहरुलाई देश र जनताको सेवामा लाग्न निर्देशन दिएका हुन् ।
‘हामी देश र जनताको सेवक हौँ । राम्रो काम गर्नेहरु पुरस्कृत हुन्छन्, कर्तव्य पूरा नगर्ने प्रहरीलाई कारवाही हुन्छ’ महानिरीक्षक खनालले भने ।
कार्यक्रममा खनालले कसैको लोभ र लालचमा नपरी अनुशासित भएर काम गर्न निर्देशन दिए । समाजमा शान्ति र सुरक्षा कामय गर्न देशका सबै सुरक्षा निकायहरु समन्वय गरेर काम गर्नु पर्नेमा महानिरीक्षक खनालले जोड दिए ।
मटिहानी पुगेर महानिरीक्षक खनाल साढे ५ सय वर्ष पुरानो लक्ष्मीनारायण मठको अवलोकन भ्रमण समेत गरेका थिए । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले उनलाई दोसल्ला ओढाएर सम्मान गरी मायाको चिनो प्रदान गरेका थिए ।