अट्वारीको उल्लास
दाङ : पश्चिम नेपालका थारूहरूले आइतबार धुमधामका साथ अट्वारी पर्व मनाएका छन्। दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतमा महत्वका साथ मनाइने पर्वमा पुरुषहरू व्रत बसी पूजापाठ गर्दछन्।
दाङको तुलसीपुर र घोराही उपमहानगर, लमही नगर तथा दंगीशरण र राप्ती गाउँपालिकाले अट्वारीमा सार्वजनिक बिदासमेत दिएका छन्।
सूर्यको उपसना गर्दै ब्रत बस्ने प्रचलन रहेको लुम्बिनीका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए। ‘पाँच पाण्डवमध्ये भीम (भेवाँ)को पौरखसँगसमेत जोडिएकाले यसको ठूलो महत्व छ’, उनले भने।
पछिल्ला वर्षमा अरू जातिले समेत अट्वारी मनाउने गरेको बुद्धिजीवी चूर्णबहादुर चौधरी बताउँछन्। उनका अनुसार संस्कृति संरक्षण र विकासका लागि स्थानीय सरकारले समेत ध्यान दिन थालेका छन्। अट्वारीमा काँक्रा, अम्बा, केरा र चामलको पिठोको रोटी पकाएर खाने चलन छ। ‘रोटी पकाइरहेका भीम युद्धको ‘डंका’ बजेपछि छाडेर कौरवसँग भिड्न गएका थिए,’ चौधरी भन्छन्, ‘फर्कंदासमेत रोटी नडढेको हुँदा उनको बहादुरीको प्रसंशाका लागि एकतर्फ मात्रै पकाएको रोटी खाने प्रचलन छ।’
संस्कृतिविद् अशोक थारुले अट्वारीलाई शक्ति र प्रकृतिको पूजाका रुपमा लिनुपर्ने बताए। जंगलबाट ल्याएको नयाँ र शुद्ध मालुको पातको दुना टपरीमा परिकार खाने प्रचलन छ। परम्परालाई संरक्षण गर्न आफूहरू लागेको स्थानीय सोमदी चौधरीले बताइन्। यो पर्वमा माछा मासु भने खाइँदैन।