भाइरसको जोखिममा नेपाल, कसरी बच्ने ?
काठमाडौं : उच्च घातक मानिएको निपाह भाइरसको जोखिममा नेपाल रहेको विज्ञहरुले बताएका छन् । नेपालमा निपाह भाइरसको जोखिम रहेको भन्दै सरकारले सचेत रहन आग्रह गरेको छ । सरुवा रोग विशेष डा.शेरबहादुर पुनका अनुसार निपाह भाइरस पशुबाट मानिसमा सर्छ ।
उनले भने, ‘नेपालमा निपाह भाइरस पुष्टि अझै भएको त छैन । तर, नेपाल जोखिममा छ । ’ उनले निपाह भाइरसबाट बच्न कृषकहरुले विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘विशेष गरेर सुगुर पाल्ने कृषकहरुले ध्यान पुर्याउनुपर्यो । औद्योगिक भएको ठाउँबाट आएको भए सेफ्टी मेजरस अपनाउनु पर्यो। ’ उनले केहि लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो भएको भन्दै परीक्षण सर्वशुलभ र सहज हुनुपर्ने बताए । उनले भने, ‘संक्रमित हुनु भनेको मृत्यु हुने सम्भावना बढेर जान्छ । यसको भ्याक्सिन पनि छैन । सचेत र सजग रहनुपर्छ । ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार भारतसँग खुला सीमा भएकाले यहाँ पनि फैलिन सक्ने जोखिम छ । उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । उनले रोगको लक्षण देखिएमा उपचार गरिने बताए । संक्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ ।
चिकित्सकहरुका अनुसार निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ । निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ ।
संक्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।
के हो निपाह भाइरस ?
निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भिर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातीको चमेरोमा पाइन्छ ।
कसरी सर्छ ?
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्छ । संक्रमित चमेरोबाट सुगुंर,गाई,गोरु जस्ता जनावर हुँदै मानिसमा पर्छ । संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा र संक्रमित व्यक्तिको रगत,दिसा,पिसाबसंग प्रत्यक्ष सम्पर्कमा आएमा निपाह भाइरस सर्छ ।
लक्षणहरु
–ज्वरो आउने
–रिङगटा लाग्ने
–टाउको दुख्ने
–मांसपेशी दुख्ने
–वाकवाकी लाग्ने
–स्वासप्रस्वासमा कठिनाइ हुने
–टन्सील हुने
निपाह भाइरसको रोकथाम कसरी गर्ने ?
–फलफूल राम्रोसंग पखालेर मात्रै खाने
–तरकारी सकेसम्म पकाएर खाने
–गाईवस्तुको गोठ र फार्म सफा राख्ने
–मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने
–सकेसम्म पानी उमालेर मात्रै पिउने
–बेलाबेलामा साबुन पानीले हात धुने
–भीडभाडमा जाँदा मास्क लगाउने
प्रतिक्रिया दिनुहोस !