दाताले दिएका स्वास्थ्य सामग्री दुई महिनादेखि स्टोरमै
ओखलढुंगा : दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएको पाइएको छ। मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमा थन्किएका हुन्।
कोभिड १९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुका लागि दिएका सामग्री रामपुरस्थित कोभिड अस्पतालको स्टोरमा थन्किएका हुन्। गाउँपालिका मार्फत उपलब्ध गराइएका सामग्रीहरु वितरण नभएपछि स्टोरमै रहेको पाइएको नागरिक समाजका बोधनारायण श्रेष्ठले बताए।
जिल्ला पैरवी सञ्जालको तर्फबाट स्वास्थ्य संस्थाहरुको अवस्था र सेवा प्रवाहबारे अवलोकन गर्न पुगेको पत्रकार तथा नागरिक समाजको टोलीले स्वास्थ्य संस्थामा सामग्री नपुगेको पाइएको श्रेष्ठले जानकारी दिए। सामग्री गाउँपालिका केन्द्रमा रहेको प्राप्चा स्वास्थ्य चौकीमा समेत वितरण गरिएको छैन। ‘हामीकहाँ बाहिरबाट उपलब्ध कुनै सामग्रीहरु अहिलेसम्म आएको छैन’, हर्कपुर स्वास्थ्य चौकीका प्रमुख भरत प्रधानले भने।
जिल्लाबाट विभिन्न देशमा रोजगारको शिलशिलामा विदेशमा रहेका ओखलढुंगेहरुको सो सञ्जालले जिल्लामा ७१ लाख बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। जिल्लाका सबै स्वास्थ्य संस्थाहरुका लागि साधारण बेड, ४० लिटरको उपकरणसहितको अक्सिजन सिलिण्डर, विपी मोनिटर, थर्मोमिटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।
जिल्लास्थित समन्वय समितिले स्थानीय तहलाई त्यस्ता सामग्री कोभिड १९ को जाखिमको समयमा उपयोग गर्न उपलब्ध गराएको थियो। स्वास्य सामग्री उपलब्ध नभएको विषयमा मोलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वेदहरि दाहालले कार्यपालिका बैठकले निर्णय गरेर वितरण गर्ने भनेकाले स्टोरमा रहेको बताए। उनले बैठक नबसेकाले वितरण नभएको भन्दै एक हप्ताभित्रै सबै सामग्री वितरण गरिने जनाए।